रामेछाप पहिरो अपडेट: थप एक जनाको शव भेटियो, ३ जनाको खोजी कार्य जारी 

3.85k
Shares

रामेछाप ।

दोरम्बा सैलुङ गाउँपालिका ३ लेखर्कमा गएको पहिरोमा हराएका मध्ये थप एक जनाको लास भेटिएको छ । शनिवार राति गएको पहिरोले ६ घर बगाएको थियो भने ११ जना बेपत्ता भएका थिए । ११ जना मध्ये १ जनालाई जीवितै उद्धार गरिएको थियो भने ६ जनाको लास आइतबार नै भेटिएको थियो । 

अविरल वर्षाका कारण आइतबार ४ बजे पछि खोजी कार्य स्थगित गरिएकोमा सोमबार बिहान करिब ८ बजे पछि पुनः खोजी कार्य सुचारु गरिएको थियो । नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरीले संयुक्त रूपमा खोजी कार्य जारी राखेको थियो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार सोमबार थप एक जनाको लास फेला पारेको छ । टोलीले सोमबार ७५ वर्षीय पुड्की पहरीको लास फेला पारेको थियो । यो सहित उक्त पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको छ भने ३ जना अझै बेपत्ता छन् । 
पहिरोमा परि मृत्यु हुनेमा ३० वर्षीय चण्डिका थापा मगर¸ १८ महिने नाबालक आसम थापा मगर¸ ४० वर्षीय उर्मिला पहिरी¸ १७ वर्षका सन्दीप पहरी¸ वर्ष १८ का विज्ञान पहरी र १४ वर्षका सन्तोष पहरी रहेका रामेछाप प्रहरीले जनाएको छ ।

सोमबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेका थियो । बैठकले परिवारका सदस्य गुमाएका परिवारलाई सङ्घीय सरकार र प्रदेश सरकारको मापदण्ड अनुसार राहत वितरण गर्ने निर्णय भएको रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिनु भएको छ । घटनाको यकिन विवरण प्राप्त भए पछि मात्र राहत उपलब्ध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।