यो सरकार भात रोटी खान्छ, घुस खाँदैन : प्रधानमन्त्री ओली


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार केबल सरकार चलाउनको लागि मात्र नबनेको बताएका छन् । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेस एमाले बिचको समीकरण केबल सत्ता समीकरण मात्र नभएको बताएका हुन् ।

‘एउटा सरकारको ठाउँमा अर्को सरकार आयो, एउटा समीकरणको ठाउँमा अर्को समीकरण बन्यो होइन, एउटा प्रवृत्तिका ठाउँमा अर्को नयाँ प्रवृत्ति, अस्थिरताको ठाउँमा स्थिरता, बेठिक प्रवृत्तिका ठाउँमा ठिक प्रवृत्ति र ठिक प्रवृत्तिलाई अघि बढाउने सङ्कल्पका साथ यो सरकार आएको छ’, उनले भने ।

ओलीले सरकारका सबै अङ्गलाई संविधान र कानुन बमोजिम चल्न आग्रह गरे । तोक, आदेशका भरमा होइन संविधान र कानुनले गरेको मार्गदर्शन अनुसार अघि बढ्न उनले आग्रह गरे। ‘अहिलेको सरकारले फलानो अपराधी हो तर नसमाऊ भन्ने आदेश दिँदैन, अहिलेको सरकारले फलानालाई फसाऊ भन्ने तपाईँहरूलाई आदेश दिँदैन, ढुक्क भएर काम गर्नुस्’, ओलीले भने।

राज्य भएर निर्दोष मानिसलाई फसाएर दोषी करार गर्नु आपराधिक काम भएको उनले बताए। कसैलाई पनि निर्दोष हुँदा हुँदै दोषी करार गर्नु राज्यको तर्फबाट हुने गम्भीर अपराध भएको ओलीले स्पष्ट पारे।

प्रहरी कर्मचारीलाई पूर्वाग्रह वा कुनै प्रभावमा परेर अनावश्यक सरुवा नगर्ने उनले प्रष्ट पारे। कुनै पनि प्रहरी कर्मचारीले झोला थैला बोकेर कुद्नु पर्ने अवस्था नआउने ओलीले बताए। काहीँ कतैबाट अवाञ्छित ढङ्गले प्रभावित हुने कुरालाई अहिलेको सरकारले राम्रो नमान्ने ओलीको भनाइ थियो। ‘अहिलेको सरकार भात रोटी खान्छ, घुस खाँदैन’, ओलीले भने ।

नेपाली समाजमा अहिले विरोध गर्न, अपमान गर्न, चरित्र हत्या गर्न र कसैलाई गाली गर्न कुनै कारण नचाहिने स्थिति बन्दै गएको ओलीले बताउनुभयो । त्यस्ता कार्यमा संलग्न युवाले त्यतिकै त्यो काम नगरेका ओलीको भनाइ छ। उनीहरूले कतैबाट भत्ता र पारिश्रमिक लिएर त्यो काम गरेका ओलीले दाबी गरे। मान्छेले त्यतिकै चिन्दै नचिनेको मन्छेलाई गाली र चरित्र हत्याको काम गर्नै नसक्ने ओलीले बताए।

अहिले समाजमा अराजकता फैलाउन विभिन्न शक्ति सलबलाई रहेका बताउँदै ओलीले यसमा सचेत हुन प्रहरीलाई आग्रह गरे ।