जनताको चाहनाअनुसार अघि बढ


जनतामा निराशाको ग्राफ बढ्दै गए पनि राजनीतिक नेतृत्वले समयमा नै विचार गरेर जनपक्षीय कार्यक्रम र योजना ल्याउन सके भने जनताको निराशा आशामा परिणत हुन सक्छ। यसका लागि राजनीतिक नेतृत्व सच्चिएर अघि बढ्नुपर्छ।

राजनीतिक अस्थिरता र नेतृत्वमा देखिएको स्वार्थी तथा लोभी प्रवृत्तिका कारण मुलुकमा सुशासन कमजोर भइरहेको छ भने विकास एवं समृद्धिको गति पनि निकै सुस्त छ । मुलुक लामो समयसम्म अस्थिर राजनीतिबाट गुज्रँदै आएको हो।

हिजोका दिनमा वर्षौंसम्मको अस्थिर राजनीति र सरकारका कारण मुलुकले अकल्पनीय समस्या व्यहोर्दै आएको यथार्थ हामीसँग छ। त्यसैले राजनीतिक नेतृत्वले बुद्धिमानीपूर्ण कदम चालेर अघि बढ्नुपर्छ भने राजनीतिलाई अस्थिर बनाउने वातावरण सिर्जना गर्नुहुँदैन।

पछिल्ला वर्षमा पनि सुशासन कायम गर्न तथा विकास र समृद्धि हासिल गर्ने कार्यको नेतृत्व कुनै पनि सरकारले गर्न सकेका छैनन् । हाम्रा राजनीतिक दल र तिनको नेतृत्वले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली स्थापना गर्न सफल त भए तर यो शासन प्रणालीले स्थापित गरेका मूल्य, मान्यता र यो व्यवस्थाका लाभहरुलाई जनतासमक्ष पु¥याउनचाहिँ उनीहरु पनि असफल हुँदै आइरहेका छन्।

त्यसैले आमजनतामा निराशा छाएको हो । संघीय लोकतान्त्रिक शासन व्यवस्था विश्वमै सबैभन्दा उन्नत मानिएको शासन प्रणाली हो । यद्यपि हाम्रो शासन व्यवस्था नयाँ भए पनि यो शासन व्यवस्थालाई सञ्चालन गर्ने कतिपय संरचनाहरु पुरानै खालका छन् । व्यक्तिहरु पनि पुरानै सोचका भएकाले नयाँ शासकीय व्यवस्थाअनुसारका उपलब्धिहरु हासिल हुन नसकेको देखिन्छ । त्यसैले शासकहरुले पुरानो सोच त्याग गर्नै पर्छ । राजनीतिक नेतृत्वले आफू इमानदार भएर कर्मचारीतन्त्रलाई पनि इमानदार र जिम्मेवार बनाउन सक्नुपर्छ । यसका लागि सरकार पनि बलियो हुनुपर्छ । सरकारलाई बलियो बनाउन सकिएन भने हाम्रो ब्यूरोक्रेसी सरकारप्रति जिम्मेवार बन्न सक्दैन । ब्यूरोक्रेसीलाई जिम्मेवार र कामयावी बनाउन नसक्दासम्म सरकारले पनि वास्तविकरुपमा जनताले सोचेअनुसार परिणाम दिने गरी काम गर्न सक्दैन ।

जनताले पनि सकारात्मक सोचका साथ सरकारलाई निरन्तर खबरदारी गरिरहनुपर्छ । मुलुकमा केही भएको छैन, सबैतिर ध्वस्त भयो, तवाह भयो भनेर नकारात्मक सोच लिएर हल्ला फैलाउनुभन्दा पनि सरकारलाई सकारात्मक सोचका साथ खबरदारी गर्दै विकास र समृद्धिको वातावरण बनाउनु मुलुकको हितमा हुनेछ। अस्थिरताका बाछिटा सिर्जना गर्ने र हिजोकै जस्तो अस्थिर राजनीतिक वातावरण बनाउने खेलमा कोही पनि लाग्नुहुँदैन। मुख्य भूमिकामा रहेको राजनीतिक नेतृत्व त सच्चिनुको विकल्प छैन।

प्रधानमन्त्री तथा सरकारका सबै सारथीहरुले पनि हिजो जनतासमक्ष गरेका बाचाहरुलाई पूरा गर्न इमानदारितापूर्वक काम गर्नुपर्छ। व्यक्तिगत र पार्टीगतभन्दा पनि राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ। किनकि सरकार सबै जनताको साझा हो। कुनै व्यक्ति विशेष र समूहको हितमा मात्रै सरकार अगाडि बढ्यो भने हिजोको पञ्चायत र राणाशासनभन्दा के फरक भयो र ? त्यसैले गुनासाहरु आउन नदिने र आएका गुनासाहरुलाई सकेसम्म समयमा नै सम्बोधन गर्ने गरी सरकारले आफ्ना कार्यहरुलाई अगाडि बढाउन सक्नुपर्छ ।