नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, ३० भन्दा बढी घाइते


काठमाडौँ।

भारतमा आइतबार बिहान नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । बाराको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस भारतको बिहार राज्यको समस्तीपुरमा दुर्घटना भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार ना७ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको हो ।

भारतीय सञ्चारमाध्यमले नेपाली तीर्थयात्री सवार बसलाई एउटा ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको जनाएका छन् । सो दुर्घटनामा कम्तीमा ३० भन्दा बढी तीर्थयात्री घाइते भएका छन् । बसमा ४३ यात्री सवार रहेको जनाइएको छ।

घाइतेलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको र सामान्य चोट लागेका केहीलाई उपचारपछि डिस्चार्ज गरिएको बताइएको छ।