मानव बेचबिखन तथा ओसारपसारको बदलिँदो स्वरुप

1.88k
Shares

नुवाकोटकी सविता तामाङलाई एकदिन नयाँ नम्बरबाट फोन आयो । त्यस दिन उनले नयाँ नम्बर नचिनेको मान्छेको फोन भनेर उठाइनन् । दोस्रो दिन पनि फेरि त्यही नम्बरबाट फोन आयो । दोस्रो दिन भने नयाँ नम्बरबाट फोन गर्ने को रहेछ भनेर उठाइन्। फोन उठाउँदा एकजना पुरुषले सवितालाई चिनेको भनेर कुरा गरे।

सविताले भने ती व्यक्तिलाई नचिनेको कुरा सुनाएर फोन काटिन् । त्यसको तीन दिनपछि फेरि त्यही नम्बरबाट फोन आयो। सविताले फोन उठाएपछि ती पुरुषले कतै भेट्नका लागि प्रस्ताव गरे। सविताले पनि उनको प्रस्तावलाई स्वीकार गरिन् र कुनै ठाउँमा भेट्ने कुरा भयो । भेटमा उनीहरुबीच धेरै कुराहरु भए। त्यही पहिलो भेटमै ती पुरुषले ३२ वर्षीया अविवाहित सवितालाई राम्रो तलब हुने ठाउँ राम्रो देशमा पठाइदिने कुरा पनि गरे। त्यसपछि प्रत्येक दिनजसो उनीहरका बीचमा कुरा हुन थोल्यो। कुराकानीकै क्रममा ती पुरुषले महिनाको दुई लाखसम्म तलब हुने कम्पनीमा काम गर्न कुवेत पठाइदिने प्रलोभन देखाए । ती पुरुषले भारत हुँदै कुवेत पठाउने बहानामा सविताबाट एक लाख रुपियाँ पनि हात पारे । तर ती पुरुषले कुवेत पठाउँछु भनेर भारतको वेश्यालयमा पुर्‍याई छोडिदिए।

यसरी दलालको प्रलोभनमा परेर भारत वा अन्य देशमा बेचिने सविता उदाहरण मात्र हुने । यस्तै प्रलोभनमा परी उनीजस्ता गाउँका सोझा धेरै महिलाहरु बेचिन पुगेका छन् । पछिल्ला वर्षमा महिला बेचबिखन पहिलाको भन्दा नयाँ स्वरुपमा विकसित भइरहेको छ । सूचना, सञ्चार र प्रविधिको विकासँगै मानव बेचबिखनले नयाँ स्वरुप लिएको छ। पछिल्लो समयमा महिला बेचबिखन हुने संख्या मात्रै नभई शैली पनि परिवर्तन हुँदै गएको देखिन्छ। सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको संख्या बढेसँगै बेचबिखनमा पर्ने जोखिम पनि बढेको छ।

केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलाहरू मात्रै बेचबिखनका जोखिममा पर्ने गरेका भए पनि पछिल्ला ४–५ वर्षयता शहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्ने गरेको नेपाल प्रहरीको तथ्य छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन रोक्नका लागि तीव्रता देखाए पनि बढ्दो सञ्चार प्रविधिका कारण मानव बेचबिखन गर्न सहज भएको देखिन्छ । त्यसो त विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले समेत मानव बेचबिखन रोक्न सक्दो पहल गरी नै रहेका छन् । तर पनि मानव बेचबिखनको अवस्था घट्नुको सट्टा झन्–झन् बढ्दै गएको छ । महिला मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने, मानव बेचबिखनमा पर्ने ८० प्रतिशतभन्दा बढी महिला नै पीडित हुने गरेको पाइन्छ।

कुनै समय गाउँ–गाउँमा गएर अशिक्षित महिला अथवा किशोरीहरूलाई फकाई बेचबिखनका लागि भारतको मुम्बई लैजाने गरेको भए पनि अहिले भने शहरमा बस्ने टाठाबाठा महिलाहरु नै बढी बेचबिखनको सिकार हुनुपरेको छ । खासगरी नेपाली चेलीहरूसँग पाका उमेरका चिनियाँ र कोरियाली पुरुषले विवाह गरेर लैजाने र धेरैजसोमा महिलाहरू पीडामा पर्ने गरेको माइती नेपालको भनाइ छ । नेपालबाट विवाह गरेर लगे पनि ती महिलाहरूलाई पछि घरमै बन्दीजस्तो बनाएर यातना दिने गरेको माइती नेपालको अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीमा भनेर लैजाने तर प्रक्रिया नपुर्‍याईकन लैजाँदा श्रमशोषण, यौनशोषण हुने काममा लगाउने गरेको देखिन्छ । विभिन्न सामाजिक सञ्जालमार्फत एकले अर्कालाई साथी बनाउने र ती साथी चिनेजानेको भरमा बेचिन पुग्नेजस्तो मानव बेचबिखनको नयाँ स्वरुप पनि देखिएको छ।

पछिल्लो समयमा बन्धक बनाइएका धनुषा जिल्लाका ७ जना र सिरहा जिल्लाका २१ जना गरी (२४ देखि ६० वर्षसम्मका) जम्मा २८ जना पुरुषहरुका सम्बन्धमा भारतीय गैरसरकारी संस्था किन इन्डियामार्फत जानकारी हुन आएको मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अग्रसरता र नेतृत्वमा एवं भारतस्थित नेपाली राजदूतावाससँगको समन्वय एवं किन इन्डियाको प्राविधिक सहयोग र सहकार्यमा ती पीडित÷प्रभावितहरुलाई उद्धार गरी जनकपुर, धनुषा ल्याइएको मन्त्रालयले जनाएको छ। मानव बेचबिखनबाट पीडित र प्रभावितहरुको उद्धार तथा संरक्षण कार्यलाई मन्त्रालयले सदैव उच्च प्राथमिकतामा राखेको छ। यो घटनाको संवेदनशीलतालाई मध्यनजर गरी धनुषा ल्याइएका २८ जना पुरुषहरुलाई महिलामन्त्री नवलकिशोर साह (सुडी), मन्त्रालयका सचिव भट्टराई र सहसचिव आभा श्रेष्ठ कर्णको समुपस्थितिमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, जिल्ला समितिमार्फत निजहरुको परिवारसँग पुनर्मिलन गराइएको छ।

विकसित देशमा स्थायी बसोबास अनुमतिपत्र पाउने नाममा, शरणार्थीका नाममा तथा सेमिनारहरूमा भाग लिन जाने नाममा महिलाहरू बेचिने जोखिम रहेको प्रहरीको अनुभव छ । सामाजिक सञ्जालमा आमनागरिकको पहुँच भएकोले पनि, वैदेशिक रोजगारीको नाममा पनि यो व्यवसाय फस्टाएको महिला मन्त्रालयको प्रतिवेदन छ ।

विकसित देशमा स्थायी बसोबास अनुमतिपत्र पाउने नाममा, शरणार्थीका नाममा तथा सेमिनारहरूमा भाग लिन जाने नाममा महिलाहरू बेचिने जोखिम रहेको प्रहरीको अनुभव छ । सामाजिक सञ्जालमा आमनागरिकको पहुँच भएकोले पनि, वैदेशिक रोजगारीको नाममा पनि यो व्यवसाय फस्टाएको महिला मन्त्रालयको प्रतिवेदन छ । राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा महिलाहरू जानाजान जोखिम मोल्न तयार हुने गरेका घटनाहरू पाइएको छ । बढ्दो प्रविधिको विकाससँगै भएको मानव बेचबिखन तथा ओसारपसारको स्वरुपमा आएको परिवर्तनसँगै राज्यले पनि सोही अनुरुपको सक्रियता देखाउनुपर्ने देखिन्छ । पहिले महिला र बालबालिका बेचबिखनजस्तो गरी मानव बेचबिखन नहुने भएकाले सीमा क्षेत्रका साथै राज्यले बेचबिखनविरूद्धका नीति तथा कार्यक्रम कठोर बनाउन आवश्यक देखिन्छ । अब हात समाएर सिमाना कटाउने जमाना नभएकाले इन्टरनेटको प्रयोग गरी हुने मानव तस्करी रोक्न राज्यसहित संघसंस्थाले कार्यविधि बनाउन आवश्यक देखिन्छ । मानव बेचबिखनलाई रोक्नका लागि संघ र प्रदेशभन्दा पनि स्थानीय सरकारलाई नै सबैभन्दा बढी जिम्मेवार बनाउनुपर्ने हुन्छ । नेपालमा रहेको मानव बेचबिखन रोक्नका लागि एक्लाएक्लै भन्दा पनि राज्य, सरकार, सरोकारवाला संघसस्थाले संयुक्तरुपमा पहल गर्नुपर्ने देखिन्छ ।

(लेखक दर्नाल पत्रकारितामा पूर्वाञ्चल विश्वविद्यालयको गोल्ड मेडलिस्ट हुनुहुन्छ ।)