विदेशी विनिमय सञ्चितिको प्रभाव


गत आर्थिक वर्षमा कुल विदेशी विनिमय सञ्चिति ३२ दशमलव ६ प्रतिशतले वृद्घि भई २० खर्ब ४१ अर्ब १० करोड रुपियाँ कायम भएको तथ्यांक नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको छ। अघिल्लो आर्थिक वर्षमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको थियो। केही महिनादेखि विदेशी विनिमय सञ्चिति बढ्दै जाँदा अर्थतन्त्रका बाह्य सूचकहरू बलियो रहेको व्याख्या गरिँदै आएको छ।

आर्थिक वर्ष २०८०/८१ को आयातलाई आधार मान्दा बैंकिङ प्रणालीसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ दशमलव ६ महिनाको वस्तु र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ । सामान्यतया ६ महिनाभन्दा बढीको आयात धान्न सक्ने क्षमता हुनु अर्थतन्त्रका लागि राम्रो भनिन्छ ।

त्यस्तै विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३५ दशमलव ८ प्रतिशत, १०८ दशमलव ६ प्रतिशत र २९ दशमलव ३ प्रतिशत रहेका छन् । यसलाई पनि सकारात्मकरूपमा लिन सकिन्छ । वैदेशिक मुद्रा सञ्चितिको वृद्धिले अर्थतन्त्रमा बहुआयामिक प्रभाव पार्ने भएकाले यसलाई निकै महत्वका साथ हेर्ने गरिन्छ । किनकि वैदेशिक मुद्रा सञ्चिति बढ्दा आर्थिक स्थिरता कायम राख्न सजिलो भई अन्तर्राष्ट्रिय बजारमा मुद्रा सटही दर स्थिर हुन सक्छ, जसले आयात र निर्यातमा सहयोग पुर्‍याउँछ। तर नेपाली रुपियाँको विनिमय दर बलियो हुँदा कहिलेकाहीँ निर्यातमुखी उद्योगहरूलाई नोक्सान पनि हुन सक्छ। उच्च विदेशी मुद्रा सञ्चिति भएको अवस्थामा नेपालले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू वा विदेशी ऋणदाता संस्थाहरूबाट लिएको ऋणको सावाँ–ब्याज भुक्तानी गर्न सजिलो हुन्छ । यसले देशलाई वित्तीय संकटको सामना गर्न सहयोग गर्छ।

त्यस्तै नेपाली रुपियाँको विनिमय दरमा स्थिरता आउने हुँदा राष्ट्र बैंकले बजारमा पर्याप्त विदेशी मुद्रा आपूर्ति गर्दा नेपाली रुपियाँको अवमूल्यन रोक्न मद्दत गर्छ । साथै विनिमय दर स्थिर हुँदा आयातीत वस्तु सस्तो भई मुद्रास्फीति नियन्त्रणमा पनि सहयोग पु¥याउँछ । तर अत्यधिक आयातमा निर्भरता हुँदा देशको व्यापार घाटा बढ्ने तथा घरेलु उद्योग र उत्पादनहरूलाई प्रतिस्पर्धा गर्न कठिन एवं जोखिम पनि हुन सक्छ । यसले दीर्घकालमा आत्मनिर्भर अर्थतन्त्रको लक्ष्यमा अवरोध उत्पन्न गर्छ । विदेशी मुद्रा सञ्चिति बलियो हुँदा विदेशी लगानीकर्तालाई भने आकर्षित गर्न मद्दत गर्छ । किनकि यसले अर्थतन्त्र स्थिर रहेको संकेत गर्ने भएकाले विदेशी लगानीकर्ताहरूलाई जोखिम कम भएको महसुस गराउँछ । यसबाट वैदेशिक लगानी बढ्न गई रोजगारीको अवसर र आर्थिक वृद्धि बढाउन सक्ने अवस्था सिर्जना गर्छ । साथै वैदेशिक मुद्रा सञ्चिति बढ्दा नेपाल राष्ट्र बैंक मौद्रिक नीतिमा लचिलो भई विदेशी मुद्रा बजारमा हस्तक्षेप गरेर मुद्रा सटही दर नियन्त्रण गर्न सक्छ । यसले अर्थतन्त्रलाई सन्तुलित राख्न मद्दत गर्छ ।

वैदेशिक मुद्रा सञ्चिति बढ्नु नेपालको अर्थतन्त्रको लागि सकारात्मक संकेत हो। यसले अल्पकालमा आर्थिक स्थिरता, विनिमय दरको स्थिरता, आयातको सहजता र विदेशी ऋणको भुक्तानीमा सहयोग पुर्‍याउँछ। तर दीर्घकालमा भने वैदेशिक मुद्रा सञ्चितिको वृद्धिसँगै आत्मनिर्भरता, निर्यात प्रवर्द्धन र उत्पादनशील क्षमतामा लगानी वृद्धि गर्न आवश्यक हुन्छ। यथोचित वित्तीय व्यवस्थापन र मौद्रिक नीतिहरू नअपनाएमा यो अर्थतन्त्रको असन्तुलन र दीर्घकालीन जोखिमको कारक पनि बन्न सक्नेतर्फ नियामक निकाय चनाखो बन्न जरुरी छ।