सहकारी ठगी प्रकरण: संसदीय विशेष छानबिन समितिले प्रभावकारी काम गर्दै

2.07k
Shares

काठमाडौं ।

सहकारीमा बचतकर्ताको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले प्रभावकारी ढंगबाट अनुसन्धानको कामलाई अघि बढाएको छ । शुक्रवार गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्धक एवं रास्वपाका सभापति रवि लामिछाने र सोही कम्पनीका पूर्वसञ्चालक छविलाल जोशीलाई करिब १२ घण्टा लामो बयान लिएको हो ।

यसअघि समितिले करिब तीन दर्जन व्यक्तिहरूसँग अनुसन्धान गरेको जनाएको छ । सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव दिने गठन गरिएको उक्त छानबिन समितिले दर्जन बढी सहकारीका अध्यक्ष, सञ्चालकलाई बयान लिइसकेको समिति संयोजक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘हामी अनुसन्धानका क्रममा छौं । सहकारीका सञ्चालक, अध्यक्ष र अहिले चर्चामा रहेको गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्धक, सञ्चालकसहित प्रश्न उठेका धेरै सहकारीसँग सम्बन्धित व्यक्तिहरूसँग बयान लिने काम भएको छ । निकै मिहिनेतका साथ काम गरेर हामीलाई प्राप्त जिम्मेवारी तोकिएकै समयमा पूरा गरी सरकारलाई प्रतिवेदन बुझाउनेतिर केन्द्रित छौं ।’

समितिले गोर्खा मिडिया नेटवर्ककका तत्कालीन प्रबन्धक एवं पूर्वगृहमन्त्री लामिछानेसँग करिब ९ घण्टा र सोही नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीसँग करिब तीन घण्टा बयान लिएको थियो । मध्यरातसम्म लिइएको बयानमा लामिछानेलाई ५१ वटा प्रश्नहरू सोधिएको संयोजक सूर्यबहादुर थापाले बताउनुभयो । बयानका क्रममा लामिछानेले बुटवलको सुप्रिम सहकारी, चितवनको सहारा सहकारी, पोखराको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्ण लक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएका आफ्नो नाममा खडा गरिएको ऋण, आफ्नो नाममा प्रवाह गरेको भनेको रकम ती सन्दर्भमा आफ्नो हस्ताक्षर आफ्नो कागजात नागरिकता समावेश नभएको जिकिर गरेको थापाको भनाइ छ । रवि आफू संस्थाको प्रबन्ध निर्देशकको रूपमा आफ्नो प्रशासकीय आन्तरिक काममा संलग्न भएको तर कार्यकारी प्रमुखका रूपमा आर्थिक सहयोग जुटाउनेलगायतका कामहरू जीबी राईले गर्ने गरेकोले कहाँबाट कसरी रकम आयो भन्ने कुरा जीबी राईलाई नै थाहा हुने लामिछानेले बयानमा भन्नुभएको थियो ।

यसअघि ज्येष्ठ बचत तथा ऋण सहकारी संस्थाका मधुसूदन पाठक, गोर्खा मिडिया नेटवर्क प्रालिका निर्देशक विपिनकुमार आचार्य, स्टान्डर मल्टिप्रपोजका खेमराज निरौला, दर्शन बचत तथा ऋण सहकारी संस्थाका दिनेश दर्शनधारी, सुमेरु सहकारीका कोषाध्यक्ष रामकृष्ण अवाले, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्थाका निलम्बित अध्यक्ष मिनकृष्ण श्रेष्ठ, कुमारी सेभिङ्स एन्ड क्रेडिट को अपरेटिभका अध्यक्ष सूर्यध्वज न्यौपाने, क्यापिटल सेभिङ्स एन्ड क्रेडिट कोअपरेटिभका रामचन्द्र शर्मा, नेपाल सहकारी वित्तिय संस्थाका अध्यक्ष तुल्सीप्रसाद भट्टराई, हिमाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विज्ञान राई, तत्कालीन हर्बो इन्टरनेसनलका प्रबन्धक पुष्पराज पौडेल, सोसाइटल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेसहित तीन दर्जन व्यक्तिहरूसँग समितिले बयान लिइसकेको छ ।

सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालिलगायत अन्य कम्पनी वा संस्थाहरूमा प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानुनी रूपमा प्रवाह भए–नभएको, र त्यस्तो गैरकानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरूको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुनबमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने कार्यादेश यो समितिलाई प्राप्त छ । प्राप्त कार्यादेशअनुसार समितिले तदारुकताका साथ काम गरिरहेको समितिका सदस्य दिलेन्द्रप्रसाद बढूले बताउनुभयो ।

तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै संलग्न दरहेको गोर्खा मिडिया नेटवर्कलगायत विभिन्न कम्पनीहरूमा सहकारी बचतकर्ताबाट जम्मा गरिएको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन भएको भनी संघीय संसद्मा चर्को वहस भएको थियो । त्यसैबेला विभिन्न तह र निकायमा उजुरी परेका र सार्वजनिक रूपमा प्रश्न उठेपछि सरकारले गत जेठ १५ मा एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा समिति बनाएको थियो । ३ महिनाको कार्यसमय दिएर बनाइएको उक्त ससितिमा कांग्रेसबाट दिलेन्द्रप्रसाद बढू ईश्वरीदेवी न्यौपाने, एमालेबाट सरिता भुसाल, माओवादीबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान रहेका छन् ।