युवा नै देशका सम्पूर्ण शक्ति हुन्, युवा सचेत नहुँदासम्म देश बन्दैन : प्रधानमन्त्री ओली


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले युवा सचेत नहुँदासम्म देश नबन्ने बताएका छन् ।
शनिबार काठमाडौं यूथ कन्क्लेभ २०२४ मा सहभागीले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले युवा सचेत नभएसम्म चिताए जसरी देश अघि बढाउन नसकिने बनाए । ‘किन भने युवा नै देशका सम्पूर्ण शक्ति हुन्’, ओलीले भने ।

युवालाई अघि बढाउन राम्रो शिक्षा र अवसर प्रदान गर्नुपर्नेमा ओलीले जोड दिए । त्यसका लागि युवालाई रोजगारीमा जोड्नु पर्ने भएकाले सरकारले स्टाटपको कार्यक्रम सुरु गरेको उनले स्पष्ट पारे । स्टाटपको लागि लोन दिन सरकारले यस वर्ष एक अर्ब रुपैँया छुट्याएको पनि प्रधानमन्त्रीले जानकारी दिए । उनले राम्रो योजना बनाएर स्टाटपमा सहभागी हुन युवालाई आग्रह गरे।

यस वर्ष १० हजार बढी स्टाटप सुरु गर्ने योजना सरकारले बनाएको ओलीले बताए । कृषि र सान उद्योगबाट व्यावसायिक काम सुरु गर्न ओलीले आग्रह गरे । ‘मेरो ध्यान युवा उत्थान, युवा विकास, युवा शक्तिकरणमा रहेको छ, त्यसबाट मात्रै देश अगाडि बढाउन सकिन्छ, यी सबै प्रयास त्यसका लागि हुन्’, ओलीले भने ।

ओलीले आफूहरू राजनीतिमा धेरै दुःख गरेर राजनीतिमा आएको बताउँदै अहिले त्यस्तो अवस्था नरहेको बताए । आफू कुनै कूल घरानाको मान्छे भएर वा कसैले डोर्‍याएर राजनीतिमा आएको मान्छे नभएको ओलीले युवाहरूलाई स्पष्ट पारे । आफ्नै संघर्षबाट आफू राजनीतिमा आएको ओलीले बताए ।
आफ्नो राजनीति यात्राले हरेक नेपालीमा आत्मविश्वास र आत्मबल बढाउने उनले विश्वास व्यक्त गरे । आफूहरू जेल, नेल र चुटाइ खाएर, भूमिगत जीवन बिताएर अहिलेको अवस्थामा आएको ओलीले सुनाए । ‘म १८ वर्षको उमेरमा जेल परेको थिएँ, म अन्यायपूर्ण तरिकाले थुनिएको थिएँ लोकतन्त्रको निमित्त लड्दा’, उनले भने ।

ओलीले अहिले समाजमा आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति बढेको बताए । यसबाट जघन्य अपराधीक घटना बढ्दै गएका गएका ओलीको भनाइ छ । मानिसले सामाजिक मूल्य, मान्यता, थिति, विधि मिच्नु नहुनेमा ओलीले जोड दिए । बलात्कार मानव जातीकै निम्ति कलङ्क भएकोले त्यसलाई रोक्नु पर्ने ओलीले बताए ।

ओलीले लैङ्गिक अधिकार र सामाजिक समानता हुनुपर्ने बताए । ‘सबैले अधिकार प्राप्त गर्नुपर्दछ, सबैका अधिकार हुनुपर्दछ, तर समलिङ्गीका बिचमा विवाह गर्ने जस्तो कुरा म बुझ्दिन, के भनेको हो त्यो भन्ने कुरा, कतिपय कुरा मैले बुझेका कुरा हुन सक्दछन्, संसारमा मैले सबै बुझेकै हुन्छु भन्ने छैन, सबैको अधिकारको पक्षमा के गर्नुपर्छ र समयानुकूल के गर्नुपर्छ त्यस सम्बन्धमा व्यवहारिक रूपमा कसरी सम्बोधन गर्न सकिन्छ, त्यस सम्बन्धमा सरकारले निर्णय गर्छ र न्याय दिन्छ ’, उनले भने ।

देश बाहिर रहेका युवाहरूको अलिकति अनुकूल परिस्थिति हुने हो भने देश नै फर्कन्थे भन्ने मनस्थिति रहेको ओलीले बताए । नेपाल जस्तो राम्रो देश अन्त पाउन गाह्रो रहेको ओलीले बताए । ‘विदेशमा बस्ने नेपालीहरू पनि नेपाल फर्कन चाहन्छन्, त्यसका लागि सरकारले अनुकूल वातावरण बनाउनु पर्छ’ ओलीले भने ।

ओली त्यसैको लागि सरकारले काम गरिरहेको बताउँदै सरकारको भर पर्न आग्रह गरे । ‘अहिलेको सरकारसँग आस पनि गर्नु, भर पनि पर्नु, भर पर्नुपर्छ अहिलेको सरकार प्रति, किनभने केही काम गर्नका लागि बनेको छ, म यो उमेरमा घस्रिन पर्ने केही आवश्यकता थिएन, तर देशमा केही परिवर्तन ल्याएरै छाड्ने भनेर लागेको छु’, उनले भने ।

देश र जनताको लागि निर्बाध रूपमा सत्य कुरा बोल्नु नै वाकस्वतन्त्रता भएको ओलीले बताए । वाकस्वतन्त्रताको नाममा हेर्न र सुन्न नसकिने कुरा व्यक्त गरेर राष्ट्रले केही प्राप्त नगर्ने ओलीले बताए । कसैको चरित्र हत्या गर्ने गरी जथाभाबी बोलेर समाजलाई सही दिशामा लैजान नसकिने ओलीको भनाइ छ ।

ओलीले आफ्नै अगुवाइमा देशमा पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, रक्षा मन्त्री तथा मुख्य सचिव बनाएको बताउँदै ओलीले महिला प्रधानमन्त्री पनि बनाउने इच्छा भएको बताए । तर त्यसको लागि समय लाग्ने ओलीले बताए । अहिले पनि हरेक डेलिगेसनमा एक जना महिला अनिवार्य सहभागी गराउनु पर्ने नियम आफूले बनाएको उनले स्मरण गराए ।

महिलाको मनोबल उठाउन र आत्मविश्वास बढाउन आफूले योगदान गरेको ओलीले बताए । आजको भोलि नै महिला प्रधानमन्त्री बनाउन नसकिए पनि नेपालमा महिला प्रधानमन्त्री बन्ने उनले दाबी गरे । ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, त्यसका लागि अलिकति तयारी गर्नुपर्छ’, उनले भने ।