मैले आफू चार वर्षको हुँदा पहिलोपटक शान्तिका बारेमा चर्चा गरेको थिएँ । मेरो मुख्य उद्देश्य नै जस्तोसुकै परिस्थितिमा रहेका हरेक मानिसमा शान्ति सम्भव तुल्याउनु हो। यदि तपाईँको जीवनमा दुःखको पहाड नै ठडिएको छ भने पनि कमसे कम आजीवन कारावासको सजाय पाएका मानिसका बारेमा सोच्नुहोस् ।
उनीहरूको जीवनमा कुनै पनि आशा नै बाँकी हुँदैन। त्यहाँका कैदीबन्दीले त्यो जेलबाट छुटकारा पाउनुको अर्थ नै यो संसारबाट बिदा लिनु हो। उनीहरूले बिताउनुपर्ने प्रत्येक दिन आशाहीन हुन्छ । तथापि, त्यस स्थानमा पनि शान्तिको सन्देश सम्भव हुन्छ र तिनको जीवनमा पनि शान्ति सम्भव छ।
यदि तपाईँको बस छुट्यो या हवाईजहाज छुट्यो भने तपाईँलाई दुःख लाग्छ । हस्पिटलमा त अझ जिन्दगी नै छुट्न लागेका मानिसहरू हुन्छन्। तिनको ट्याक्सी वा बस छुट्न लागेको होइन। के तिनीहरूले पनि आफ्नो जीवनमा शान्तिको अनुभव गर्न सक्लान् त ? हो, उनीहरूले पनि आफ्नो जीवनमा शान्तिको अनुभव गर्न सक्छन्।
सबैभन्दा ठूलो कुरा आजको दिनमा जिउनु हो । यसको अर्थ के हो ? के आज शान्ति छैन ? आज सृष्टिकर्ताले दिएको चीज भोलिमा हुने होइन, त्यो आज नै छ तर हामी यही कुरालाई भुल्छौँ । हामी सानो छँदा आजमै जिउँथ्यौँ । भोलिका सम्बन्धमा हामीलाई थाहासम्म पनि हुँदैनथ्यो । सानो बच्चाले खेलौना देखेपछि के उसको ध्यान उसकी आमातिर या उसका बुबातिर या उसका भाइबहिनीतिर जान्छ र ? अहँ ! उसको ध्यान त खेलौनातिर नै जान्छ । किनकि, ऊ आजमा बाँच्न चाहन्छ । बिस्तारै–बिस्तारै गरेर ऊ हुर्किँदै जान्छ । तब उसलाई ‘तिमीले यसो गर्नुपर्छ, तिमीले त्यसो गर्नुपर्छ’ भनेर बताइन्छ । हामी पनि त्यसैको तयारीमा लागिरहन्छौँ । तथापि, हामीलाई हामी कुन कुराका लागि तयारी गरिरहेका छौँ भन्ने कुराचाहिँ बताइँदैन । एवं क्रमले एकदिन कसैले हाम्रो सामु आएर ‘अब तिम्रो आयु पूरा भयो’ भनिदिन्छ । यो राम्रो कुरा त होइन तर के हामी मृत्युको तयारीमा लागेका हौँ त ? यी सारा मानिसले जिन्दगीभरि गरिरहेको तयारीलाई हेर्दा त सबैजना बाँच्नकै लागि तयारी गरिरहेका छन् । तथापि, हामी कुनै अरू नै विषयको तयारी गरिरहेका छौँ । त्यसलाई छोडेर आजमा आउनुहोस् ।
तपाईँभित्र सुख छ । सुखी हुनुको अर्थ तपाईँसँग कार हुनुपर्छ भन्ने होइन । तपाईँसँग पैसैपैसा हुनुपर्छ भन्ने पनि होइन । यो दुनियाँले बनाएको खुशीको सूत्र पनि केवल आफ्नो लागि बनाएको हो । त्यो तपाईँका लागि बनाइएको होइन । यो सूत्र नै गलत छ । यसको अर्थ मैले तपाईँहरू सफल हुनुहुँदैन भनिरहेको छैन । अवश्य पनि हुनुपर्छ तथापि तपाईँ सफल हुनका लागि तपाईँले पनि सफलता के हो भन्ने कुरा थाहा पाउनुपर्छ । त्यसपछि तपाईँले पहिलादेखि नै आफैँसँग रहेको सफलतालाई पनि चिन्नुहुनेछ । वास्तवमा यो श्वासको आवागमन नै तपाईँको प्रमुख सफलता हो । जेसुकै भएको भए पनि बिहान उठेपछि बालबालिकाहरू त्यसलाई बिर्सन्छन् । राम्रो भएको थिएन भने त्यो पनि बिर्सन्छन् । के हामी बिर्सन सक्छौँ ? अहँ ! हामीमा त बदलाको भाव हुन्छ । किन हाम्रो मनमा त्यस्तो बदलाको भाव जागृत हुन्छ ? बालबालिकासँग बाँच्न सिक्नुहोस् अनि बच्चालाई कसरी जिउनुपर्छ भन्ने कुरालाई कहिल्यै पनि बिर्सनु नहुनेबारे बताउनुहोस् ।
यो दुनियाँमा मानिसहरूले यदि आजका बारेमा थाहा पाउन थाले भने उनीहरूका लागि शान्तिको सन्देश प्राप्त गर्न एकदमै सहज हुनेछ । शान्तिलाई निर्माण गरिरहनुपर्दैन । शान्तिको अर्थ मानिसहरूले युद्ध गर्न बन्द गर्नु पनि होइन । शान्ति त तपाईँको हृदयमा छ । आज पनि छ र तपाईँले आपूmलाई अशान्त महसुस गरिरहनुभएको समयमा पनि त्यो शान्ति तपाईँभित्रै हुन्छ । जब तपाईँ आपूmलाई हराएको महसुस गर्नुहुन्छ, जब तपाईँ आफूलाई एक्लो भएको महसुस गर्नुहुन्छ त्यतिखेर पनि त्यो संसारलाई सञ्चालन गर्ने शक्ति तपाईँभित्र अवस्थित हुन्छ । त्यो शक्ति पहिलादेखि नै रहेको छ । तपाईँ त्यसलाई बिर्सनुहुन्छ तर उसले तपाईँलाई कहिल्यै बिर्सँदैन । यो श्वासको आवागमन भएसम्म उसले तपाईँलाई बिर्सने छैन ।
यो समाजलाई सुधार गर्नका लागि मानिसहरूले अनेकन सूत्र निर्माण गरेका हुन्छन् । यो दुनियाँको विद्यालय पनि अचम्मको विद्यालय हो । यहाँ परीक्षा हुँदैन । यहाँ कसैको पनि प्रगति विवरण छापिँदैन । मानिसहरू एक–अर्कालाई साथ दिन लागिपरिरहेका छन् । तथापि, एकदिन कसैले पनि साथ दिनु नपर्ने स्थिति उत्पन्न हुन्छ । त्यो दिन आउनेछ तर त्यो दिन आउनुभन्दा पहिला नै तपाईँ आफ्नो जीवनमा त्यो शान्तिको अनुभूति गर्नुहोस् । आज के हो भन्नेबारेमा बुझ्नुहोस् । यसलाई बुझेर आफूले आफूलाई चिन्नुहोस् ।
जीवनमा चारवटा कुराहरू अत्यन्तै महत्त्वपूर्ण छन् । पहिलो त तपाईँ आफूले आफूलाई चिन्नुहोस् । तपाईँले आफूलाई नचिनेसम्म मनुष्य जीवनको वास्तविकता के हो भन्ने कुरा तपाईँलाई थाहा नै हुँदैन । दोस्रो, तपाईंको जीवनमा जे प्राप्त भएको छ, त्यसका लागि आभारी हुनुहोस् । किनभने, हिजोआज हामी आफूसँग के छैन भन्ने कुरालाई मात्र हेर्छौँ । हामीसँग के छन्, तिनलाई हामी हेर्दैनौँ ।
यो हामीभित्र आइरहने अनि गइरहने श्वासको मूल्य कति छ ? यदि मानिसले आफ्नो अमूल्य श्वासलाई बेच्न सक्ने भएको भए यो संसारमा कोही पनि गरिब हुने थिएन । तर, यो सम्भव नै छैन किनभने यो बहुमूल्य चीज हो । दुःखको कुरा– यसका लागि हामीमा कुनै आभारको भावना नै छैन । मानिसभित्र ‘म आज जीवित छु र आज मलाई केही गर्नलाई अवसर प्राप्त भएको छ’ भन्ने कुराप्रति आभार हुनुपर्छ ।
पति–पत्नीका बीचमा आभार हुनुपर्दछ । आफ्नो देशप्रति आभार हुनुपर्दछ । जुन चीज राम्रो छ, त्यसप्रति आभारी हुनुपर्दछ । हाम्रो जीवनमा सधैँभरि यो हृदय आभारले भरिपूर्ण हुनुपर्दछ । जब हामी प्रत्येक दिनका लागि कृतज्ञ हुन्छौँ तब मात्र यो कुरा सम्भव हुन्छ । तेस्रो चीज हो आवाज– एउटा आवाज जुन बाहिरको आवाज हो, जसलाई शान्त पार्न सकिन्छ । तर, एउटा आवाज छ, जुन दुईवटा कानको बीचमा हुन्छ । जसलाई शान्त पार्न सकिँदैन । त्यहाँबाट आवाज आइरहन्छ र मानिस त्यो आवाजका कारणले बेचैन भइरहन्छ तर त्यसलाई शान्त पार्नै सक्दैन ।
‘तपाईँ त यस्तो हुनुपथ्र्याे, तपाईंउस्तो हुनुपथ्र्याे’ भनेर कसैले भन्यो भने हामी त्यसै कुराका पछि लागेर सोच्न थाल्छौँ । मानिसहरूले मेरा बारेमा के भन्छन् या के सोच्छन् भनेर त्यसका लागि चिन्तित हुनु आवश्यक छैन। चौथो कुरा हो– हामीले आफ्नो जीवनमा असफल र असफलतामा के फरक छ भन्ने कुरालाई थाहा पाउनुपर्दछ। हामी असफल हुन्छौँ तर असफलतालाई कहिल्यै पनि स्वीकार नगरौँ । जस्तो– हामी बच्चामा हिँड्न सिकिरहेका थियौँ । त्यतिखेर कैयौंपटक लड्दै–उठ्दै, फेरि लड्दै–उठ्दै गर्दथ्यौँ । कुनै बेला असफल भयौँ तर हामीले कहिल्यै पनि त्यसबाट हार मानेनौँ । अन्त्यमा हामीले हिँड्न सिकेरै छाड्यौँ । ठीक त्यसै गरी, हामीले आफ्नो जीवनमा ती कुराहरूलाई बुझेर तिनलाई आफ्नो व्यवहारमा पनि उतार्न थाल्यौँ भने हाम्रो जीवन पनि आशाले भरिपूर्ण र आनन्दमय हुन सक्छ ।
धेरै वर्षअघिको कुरा हो, एकजना राजा थिए । उनलाई छिमेकी राजासँग युद्ध गर्न जानुपर्ने भयो । त्यसका लागि ती राजा तयारीमा लागिरहेका थिए । रात परेपछि उनको मनमा एउटा विचार आयो । यदि भोलि लडाइँमा म मरेँ भने– म स्वर्गमा पुग्छु कि नर्कमा ? रातभरि यही कुराले राजालाई सताइरह्यो ।
अर्काे दिन ती राजा सेनाहरूसँग युद्धका लागि निस्कँदा पनि उनको मनमा त्यही विचार आइरहेको थियो– ‘म मरेँ भने स्वर्गमा पुग्छु कि नर्कमा ।’ यस्तो गर्दागर्दै उनको मनमा ‘स्वर्ग र नर्क भन्ने ठाउँ कस्तो हुन्छ होला ?’ भन्ने विचार घुम्न थाल्यो । त्यति नै बेला एकजना सन्त कतै गइरहेका उनले देखे । उनले आफ्नो घोडाको लगामलाई त्यतैतिर मोडेर घोडालाई दौडाए । सन्तका अगाडि पुगेपछि आफ्नो घोडालाई टक्क रोकेर सोधे, ‘कृपया मलाई बताइदिनुहोस्, स्वर्ग भनेको कस्तो अनि नर्क भनेको कस्तो हुन्छ ?’
सन्तले भने, ‘राजन ! मलाई धेरै टाढा जानु छ । मलाई तपाईँसँग कुरा गर्ने फुर्सद छैन ।’ सन्तको कुरा सुनेर राजालाई रिस उठ्यो। उनको अनुहार रिसले रातो–पिरो भयो । उनले रिसाएर कड्किँदै भने, ‘कस्ता सन्त हौ तिमी ? म को हुँ तिमीलाई थाहा छ ? म यहाँको राजा हुँ राजा ! मैले एउटा सानो प्रश्न सोध्दा तिमीलाई त्यसको उत्तर दिने फुर्सद छैन ?’
त्यसपछि सन्तले भने, ‘महाराज ! तपाईँ यस बेला नर्कमा हुनुहुन्छ ।’ त्यसपछि भने राजालाई आपूmले ठूलो गल्ती गरेको जस्तो भान भयो । यी सन्त त निकै ज्ञानी पो रहेछन् । मैले यिनीसँग यस्तो व्यवहार त गर्नुहुँदैन थियो । साँच्चै नै मैले पनि नर्कमा नै भएको जस्तो महसुस गरिरहेको छु । राजा घोडाबाट तल ओर्लिए । सन्तका अघि घुँडा टेक्दै झुकेर भने, ‘मलाई माफ गर्नुहोस् ! मलाई थाहा थिएन । मबाट ठूलो भूल भयो । साँच्चै नै त्यो रिसको झोकमा म नर्कमा नै थिएँ ।’ त्यसपछि सन्तले भने, ‘महाराज ! तपाईँ अब स्वर्गमा हुनुहुन्छ ।’
मानिसहरूले जुन नर्कका बारेमा कुरा गर्छन्, जुन नर्कबाट हामी बच्न चाहन्छौँ– त्यसबाट बच्नका लागि स्वर्गको आवश्यकता पर्दछ । जसले ती सृष्टिकर्तालाई चिन्दछ, उसका लागि त यहीँ नै स्वर्ग हुन्छ । त्यसका लागि विश्वासको होइन, अनुभवको आवश्यकता हुन्छ । चिन्ने तरिका थाहा नहुन्जेलसम्म मात्र विश्वास ठीक हुन्छ । त्यो शक्तिलाई चिन्नुहोस्, जुन हामीभित्रै छ । त्यसलाई आफ्नो जीवनमा अनुभव गर्नुहोस् । त्यसपछि सबै कुरा सम्भव हुन्छ ।
मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।
प्रतिक्रिया