सुरक्षाको प्रत्याभूति देऊ


समाजशास्त्रको विभागीय प्रमुख नियुक्तिको विषयलाई लिएर विश्वविद्यालयमा असुरक्षा बढेपछि सरकारले त्रिविको पदाधिकारी कार्यालयको मूल गेटमा प्रहरी परिचालन गरेको छ। यसरी प्रहरी परिचालन गरेर कार्यालय सञ्चालन गर्नुभन्दा सुरक्षाको प्रत्याभूति दिन ठोस योजना जरुरी छ।

उपकुलपति, रेक्टर र रजिस्टार कार्यालयको मूल गेटमा बन्दुकधारी प्रहरी राखेर कार्यालय खुला गर्नु गलत हुन्छ। समस्या के हो? त्यसलाई समाधान गर्न निश्चित पहल आवश्यक छ। त्यसको लागि विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री र सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीले पहल गर्नुपर्छ।

एउटा विभागको प्रमुख नियुक्ति गर्ने विषयमा भएको विवादको कारण त्रिवि अस्तव्यस्त छ । पदाधिकारीहरु नियमितरुपमा कार्यालय आउन सकेका छैनन्। रजिस्टार प्रा.डा. केदार रिजालले गृह मन्त्रालयमा पत्राचार गरी पदाधिकारीको ज्यानको सुरक्षा गरिदिन आग्रह गर्नुभएको छ। यस किसिमको पत्राचार गर्नु सही हो वा गलत, ठम्याउन मुस्किल छ। तालुकदार निकाय मन्त्रालयसँग छलफल गरेर पत्र पठाएको भए उचित हुने थियो।

सहकुलपति एवं शिक्षामन्त्री विद्या भट्टराईले सामाजिक सञ्जालमा गृह मन्त्रालयसँग सुरक्षा दिलाइदिन हारगुहार माग्नु गलत हो । एउटै क्याबिनेटको मन्त्रीले सिंहदरबारभित्रै गृहमन्त्रीसँग भेट गरी अवस्थाबारे जानकारी गराउनु बेस हुने थियो । आफ्नै पार्टीका प्रधानमन्त्री एवं कुलपतिसँग भेट गरेर सुरक्षा व्यवस्था मिलाउन आग्रह गर्नुपर्थ्यो । सबै छाडेर सामाजिक सञ्जालमा दुःख पोख्नु मन्त्रीको गलत नियत हो । एउटा विश्वविद्यालयमा भएको घटनाको विषयमा पदाधिकारी र सरोकारवालासँग छलफल गरेर समस्या समाधान गर्न पहल गर्न नसक्नु सहकुलपतिको अक्षमता हो ।

जस्तो परिस्थिति आए पनि विद्याको घरका पूजारीलाई धम्की दिने काम गलत हो । त्यसलाई निरुत्साहित गरेर पदाधिकारीलाई तत्कालै काममा फर्काउन पहल गर्नुपर्छ । शिक्षामन्त्रीले आजैबाट सरोकारवालासँग छलफल गर्नुपर्छ। अहिले त सरकार आबद्ध नेपाली कांग्रेस र एमालेबीचको टकरावले समस्या बल्झँदै गएको छ।

त्रिविले अघिल्ला उपकुलपति धर्मकान्त बास्कोटाको कार्यकालमा भएको मापदण्डअनुसार वरिष्ठताको आधारमा पासाङ शेर्पालालाई विभागीय प्रमुख बनाउने अडान राखेको छ। पार्टीगतभन्दा पनि वरिष्ठताको आधारमा विभागीय प्रमुख नियुक्ति गर्न तीनजना पदाधिकारी राजी भइसकेका छन् । तर नेपाली कांग्रेस र एमाले निकट विद्यार्थी र शिक्षकको कारण समस्या बढेको छ। विभागीय प्रमुख युवराज लुइँटेलको गएको शुक्रबार कार्यकाल सकिएपछि मानविकी तथा सामाजिक संकायका डिन कुसुम शाक्यले आफूखुशी दोस्रो वरियतामा रहेका टीकाराम गौतमलाई विभागीय प्रमुखको जिम्मेवारी दिएपछि समस्या उत्सर्गमा पुगेको हो।

आफैँ काम चलाउ रहनुभएका डिन शाक्यले पदाधिकारीको निर्णयबेगर कनिष्ठलाई विभागीय प्रमुख बनाएपछि विवाद चर्केको हो । नेपाली कांग्रेस निकट प्राध्यापक र अन्यले गौतमको नियुक्ति ठीक भएको बताएका छन् भने त्रिविका पदाधिकारीले मापदण्डको आधारमा वरिष्ठलाई प्रमुख बनाउनुपर्ने बताएका छन्। सोही विषयमा कांग्रेस र कम्युनिस्टबीच विवाद चुलिएपछि त्रिविको पदाधिकारीलाई सुरक्षा चुनौती बढेको हो।

विभागीय प्रमुख गौतमकै निरन्तरता दिन स्ववियु सभापतिले विज्ञप्ति जारी गरेका छन् भने वरिष्ठताको आधारमा पासाङ शेर्पालाई नियुक्ति गर्न स्ववियु सचिव र एमाले निकट विद्यार्थी संगठनले माग गरेका छन्। यसले गर्दा स्ववियु पनि दुई टुक्रा भएको छ। नेपाली कांग्रेस र एमालेबाट आफ्नै पार्टीका शिक्षकलाई नियुक्ति दिन पहल भइरहेको छ। यही मूल जडको कारण त्रिविमा ठूलो समस्या सिर्जना भएको छ। समस्या समाधान गर्न कुलपतिको मुख्य भूमिका रहन्छ। तत्काल यो विषयमा सबै सरोकारवालाले ध्यान दिनुपर्छ।