संविधान संशोधनबारे बहस

752
Shares

काठमाडौं ।

संविधान संशोधनका सवालमा राजनीतिक नेतृत्वबीच सहमतिको बहस प्रारम्भ भएको छ। गतअसार १७ मा संसद्का दूई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच राजनीतिक स्थिरता, संविधान संशोधन र सुशासनलाई आधार बनाएर नयाँ सत्ता समीकरण भएसँगै छलफलमा आएको संविधान संशोधनको एजेन्डालाई दलले बहसको विषय बनाएका हुन्।

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र आफूले संविधान संशोधन गरेर जाने विषयमा सहमति गरेको बताउनुभयो। कांग्रेसका नेता, समाजवादी चिन्तक प्रदीप गिरिको दोस्रो स्मृतिमा आयोजित ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक बहसमा सभापति देउवाले एमालेसँग भएको संविधान संशोधन गर्ने सहमति लुकाउनुपर्ने विषय नरहेको उहाँले स्पष्ट पार्नुभयो।

पार्टी केन्द्रीय सदस्य नैनसिंह महर अध्यक्ष रहेको स्कुल अफ डेमोक्रेसीले मंगलबार आयोजना गरेको उक्त कार्यक्रममा सभापति देउवाले गतअसार १७ मा भएको सातबुँदे सहमतिलाई लक्षित गर्दै सबैसँग सल्लाह र छलफल गरेरमात्रै संविधान संशोधन गरिने विश्वास व्यक्त गर्नुभयो। ‘संविधानमा केही संशोधन गर्ने कुरा ओलीजी र मेराबीचमा सहमति भएको हो। केही कुरा आएका छन्। यहाँ लुकाउनुपर्ने कुरै छैन। यो षड्यन्त्र होइन, सबैसँग सल्लाह गरेर गर्ने कुरा हो,’ देउवाले भन्नुभयो। उहाँले राष्ट्रिय सभा अध्यक्ष को बन्ने भन्नेजस्ता विषयमा पनि छलफल आवश्यक रहेको भन्दै सबैमा सहमति हुँदा उपराष्ट्रपति नै राष्ट्रिय सभा अध्यक्ष हुने व्यवस्था गर्न सकिने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘यदि सहमति हुन्छ भनेदेखि उपराष्ट्रपति नै राष्ट्रिय सभा अध्यक्ष हुने व्यवस्था हुन सक्दछ, जुन भारतलगायत अरू देशमा पनि अभ्यासमा छ।’ ओलीजीसँग धेरै सोचविचारी गरेको सहमति भएको भन्दै उहाँले माओवादी, माधव नेपालको पार्टीसहित सबैलाई एक एकसाथ लिएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ।

सो कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधन गर्ने भए खुला बहस आह्वान गर्नुभयो। कांग्रेस एमालेबीच भएको सहमतिलाई अचानक मध्यरातमा हस्ताक्षर गर्नाले नियतमाथि प्रश्न उठेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘मध्यरातमा गएर दुईवटा नेताले कागजमा सही गरेर हुनसक्नेवाला छैन। त्यो गर्नुपर्ने हो भने खुला बहस गरौँ। अहिले बहसको कुरा नल्याउने, अचानक मध्यरातमा हस्ताक्षर गर्नाले नियतमाथि प्रश्न उठेको छ। त्यही कुरा मैलै उठाइरहेको छु।’
निर्वाचन प्रणाली र शासन व्यवस्थाको विषयमा दलहरूबीच व्यापक बहस गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ।

त्यस्तै,नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय सहमतिको सरकार गठनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नमानेको दाबी गर्नुभयो। कांग्रेस सभापति देउवासँगको सहमतिपछि अध्यक्ष ओलीले प्रचण्डसँगको भेटमा तीन दलबीचको सहकार्यको प्रस्ताव राख्दा प्रचण्डले नमानेको उहाँको दाबी छ।

‘हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली र शेरबहादुर देउवाबीच सहमति भएपछि हामीले त्यसलाई तत्काल बाहिर नल्याउने समझदारी गर्यौ,’ उहाँले भन्नुभयो, ‘प्रचण्डजीलाई पनि साथमा लिएर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने उद्देश्य थियो। तर, सहकार्य सम्भव भएन।’

संविधान संशोधन गरेर जाने विषय मुलुक र जनताको आवश्यकताका आधारमा सबैको सहमतिअनुसार नै हुने पोखरेलले बताउनुभयो।