क्यान्सर उपचार सेवाको विस्तार


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका सातवटै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि ल्याएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले खुशी व्यक्त गर्नुभयो । यो खुशीसँगै आमनागरिकले प्रत्यक्षरुपमा अनुभूति गर्न सक्ने गरी सरकारले परिणाममुखी काम ग¥यो भने प्रधानमन्त्रीको खुशीले सार्थकता पाउनेछ ।

यसका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निर्णयमा अग्रसरता लिएजस्तै कार्यान्वयनमा पनि अग्रसरता देखाउनु जरुरी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ पारित गरेपछि सबै प्रदेशमा क्यान्सर उपचारको सेवा विस्तार हुने भएको हो । यो निर्णयले पूर्णता पाउने गरी सरकारले आवश्यक दक्ष जनशक्ति, उपकरण, भौतिक संरचना, सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने थलोको विकास छिटोभन्दा छिटो गरोस् । कागजी निर्णयले मात्र नागरिकको स्वास्थ्य सुधार हुँदैन, नागरिक स्वस्थ भएनन् भने देशको विकास सम्भव छैन ।

क्यान्सर सेन्टर विस्तारका विषयमा प्रधानमन्त्रीले धन्यवाद दिँदै लेखेको स्ट्याटसलाई स्वास्थ्यमन्त्री पौडेलले गम्भीरतापूर्वक लिनुपर्छ । साथै दिइएको निर्देशनको पालनाका लागि गर्नुपर्ने कामका विषयमा विज्ञहरुसँग छलफल र अन्तरक्रिया गर्नुपर्छ । यसको लागतसमेतको योजना बनाई राज्यले आवश्यक व्यवस्थापन कसरी गर्ने भन्नेबारेमा समयमै निर्णयमा पुग्नुपर्छ । यति हुन सक्यो भने मात्र प्रधानमन्त्रीको निर्देशनको पालना र नागरिकप्रतिको जिम्मेवारी निर्वाह गरेको ठहरिनेछ । हाल बागमती र लुम्बिनी प्रदेशमा मात्र क्यान्सर उपचार सेवाका लागि छुट्टै अस्पताल सञ्चालनमा छन् । बाँकी पाँच प्रदेशमा क्यान्सर उपचारका लागि छुट्टै व्यवस्था छैन । त्यसैले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि २०८१ स्वीकृत गर्नु सकारात्मक पक्ष मान्नुपर्छ ।

मन्त्री पौडेलले पदभार सम्हालेलगत्तै पहिलो निर्णयमा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–३० स्वीकृत गर्नुभएको थियो । सोही अनुरुप सातवटै प्रदेशमा क्यान्सरको परीक्षण तथा निदान गर्ने निर्णयलाई पूर्णता दिन कार्यविधि पारित गरिएको हो । कार्यविधि पारित भएलगत्तै भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेशमा विराटनगर अस्पताल र मधेस प्रदेशमा वीरगन्जस्थित नारायणी अस्पतालमा क्यान्सरसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउने निर्णय गरेका छन् । यसै गरी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान एवं कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउनेछ । यसले नागरिकलाई काठमाडौं र भरतपुर धाउनुपर्ने समस्या केही हदसम्म कम हुने देखिन्छ ।

यति बेला संघमातहतका तीन अस्पतालले मात्र क्यान्सर उपचार सेवा उपलब्ध गराउँदै आएका छन् । सेवा विस्तारसँगै आमनागरिकको क्यान्सर उपचार सेवाको पहुँच सहज हुने विश्वास स्वास्थ्यमन्त्रीले लिनका लागि यो व्यवहारमा लागू हुनुपर्छ । यसका लागि मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले गर्ने काममा सहजता र सरलताको खाँचो छ। यसो भएमा मात्र सेवा विस्तार भएका अस्पतालको सेवा र गुणस्तरमा समेत थप सहायता पुग्न सक्नेछ। योजनामा राखिएका स्याटेलाइट क्लिनिक तथा आफ्ना दक्ष जनशक्तिसमेत पठाएर विस्तारित अस्पतालमार्फत सेवा दिइने विषय दीर्घकालसम्म नियमित र व्यवस्थित हुनु जरुरी छ ।