पनौतीमा भैसी संरक्षण कार्यक्रम: ७ सय १४ वटा भैसीलाई सुत्केरी भत्ता

3.85k
Shares

पनौती, काभ्रे ।

पनौती नगरपालिकाले सुरु गरेको भैँसी संरक्षण कार्यक्रम अन्तर्गत चालु वर्ष २०८०/२०८१ मा नगर क्षेत्र भित्र सुत्केरी भएका नगरपालिकामा दर्ता भएका ७ सय १४ वटा भैँसीलाई सुत्केरी भत्ता उपलब्ध गराएको छ । सुत्केरी भत्ता बापत कृषकहरूले २० लाख ४० हजार रकम प्राप्त गरेका छन् ।

पनौती नगरपालिकाले पाडी वितरणका लागि २०७६/२०७७ सालमा कार्यविधि तयार गरेको थियो । सोही कार्यविधि अनुसार ९ सय १८ वटा पाडी कृषकहरूलाई उपलब्ध गराइएको छ । त्यसरी उपलब्ध गराइएका पाडीहरू विक्रीका लागि नगरपालिकाको अनुमति अनिवार्य थियो । बिरामी भएमा, थारो रहेमा वा केही त्यस्ता सर्त पालना नहुँदा पाडी सट्टापट्टा गर्ने अनुमति हुन्थ्यो ।

बिमा, उपचार लगायतका सुविधा समेत उपलब्ध गराएर उपलब्ध गराएको पाडी पहिलो पटक सुत्केरी हुँदा ५ हजार रुपैयाँ कृषकहरूले सुरुमा लगानी गरेको रकम फिर्ता लैजान्छन् । नगरपालिकाले पहिलो पटक सुत्केरी भएका भैँसीलाई ५ हजार र दोस्रो पटक तथा थप पटकमा २ हजार उपलब्ध गराउँदै आएको छ ।

आर्थिक वर्ष २०८०/२०८१ मा २ सय ८ वटा पहिलो पटकका र ५ सय १० वटा अन्य पटकका भैँसी सुत्केरी भए बापत नगरपालिकाले २० लाख ४० हजार कृषकहरूलाई उपलब्ध गराएको छ । यो सुविधा गाई र बाख्रामा छैन । नगरपालिकाले वडा नम्बर ३, ८ र १० नम्बर वडालाई गाई पकेट क्षेत्र र वडा नम्बर ६, ९ र ११ मा बाख्रा पकेट क्षेत्र बनाउने गरी अनुदान उपलब्ध गराएको थियो । केही स्थानमा बयर जातका बोका पनि वितरण गरिएका थिए । आर्थिक वर्ष २०७५/२०७६, २०७६/२०७७, २०७७/२०७८ मा १२ वटै वडामा ९ सय १८ वटा पाडी वितरण ग¥यो । वडा नम्बर १ र १२ लाई प्राथमिकतामा राखेर सबै वडामा वितरण गरिएका पाडीहरू धमाधम सुत्केरी भएका छन् । त्यसबाट नगरबासीहरुले निरन्तर आम्दानी लिन थालेका छन् ।

‘भैँसी आयात रोक्ने, श्रोत केन्द्र बनाउने र नागरिकलाई आत्मनिर्भर बनाउँदै आर्थिक समृद्धि हासिल गर्ने नगरपालिकाको एक मात्रै लक्ष्य थियो’–पूर्व नगर प्रमुख भीम न्यौपानेले भने–‘उक्त कार्यक्रमबाट धेरै नगर बासीहरू लाभान्वित भएका छन् ।’ ‘त्यति बेला जनप्रतिनिधिहरूलाई लक्षित गरेर गरिएका टिप्पणी अहिले फिक्का भएका छन्’–नगर उपप्रमुख गीता बन्जाराले भनिन–‘नगरपालिकाले उपलब्ध गराएको एउटा पाडीले अहिले कृषकका गोठ भरिन थालेका छन् ।’ गरिब तथा एउटा भैँसी किन्न नसक्ने परिवारलाई उक्त कार्यक्रम झनै प्रभावकारी देखिएको उपप्रमुख बन्जाराले बताइन् ।

दोस्रो पटकसम्म सुत्केरी भईसकेको पाडीबाट भएको आम्दानी र त्यसले कृषकलाई बनाएको खुसी केहीमा पनि तुलना हुन नसक्ने उपप्रमुख बन्जाराले बत्ताइन् । २०७९ मा भएको स्थानीय तहको निर्वाचनबाट पनौती नगरपालिकाको नेतृत्व परिवर्तन ग¥यो । दोस्रो पटक निर्वाचित भएका जनप्रतिनिधिहरूले उक्त कार्यक्रमलाई निरन्तरता त दिएनन् दिएनन् उल्टै मतदानको समयमा हामी निर्वाचित भएर आएको भोलिपल्ट देखि पाडी विक्री गर्न सहज बनाई दिन्छौ भन्दै भोट मागेकाले एक सय भन्दा धेरै पाडीहरू कृषकहरूले नगरपालिकाको अनुमति विना विक्री गरिसकेका छन् ।

नगरपालिकाको कार्यविधि अनुसार त्यसरी विक्री गरिएका पाडीहरूको लागत अनुसारको २० प्रतिशत रकम नगरपालिकाको राजश्व शाखामा बुझाउनु पर्छ । अनुगमन नभएको र नगरपालिकाबाट समेत बेवास्ता गरिएकाले अधिकांश कृषकहरूले नगरपालिकालाई बुझाउनु पर्ने रकम बुझाएका छैनन् । २०७९ अघि त्यसरी विक्री गर्ने केही कृषकहरूले नगरपालिकामा रकम जम्मा गरेका थिए ।

रोशी खारखोला घर भएकी सुशीला घिमिरेको पारिवारिक समस्या थुप्रै छन् । तर नगरपालिकाले उपलब्ध गराएको पाडीले दिएको खुसी भने भनिसाध्य छैन । गोठमा त्यही एउटा पाडी थियो । हुर्कँदै गयो । पहिलो पटक सुत्केरी भएको भैँसीलाई नगरपालिकाले सुत्केरी भत्ता दियो । पाडी किन्दा लगानी गरेको रकम सुत्केरी भत्ता सँगै फिर्ता भयो । नियमित विक्री गरेको दूधबाट परिवार चल्यो । दोस्रो पटक सोही पाडी गर्भवती भएको छ । श्रीमान् १० वर्ष देखि बेपत्ता छन् । बुढा ससुरा छन् । दुई छोरा छन् ।

परिवारको रेखदेखका लागि उक्त पाडीले दिएको खुसीले अरू दुःख बिर्साएको सुशीलाले बताइन् । पशुपंक्षी शाखाका प्राविधिक लिला नाथ सापकोटाले उक्त कार्यक्रमबाट कृषकहरू अत्यन्त खुसी हुने गरेको बताए । कृषकहरूको गोठ भरिँदा ओठमा आएको खुसीले काम गर्न उत्साह भरिने सापकोटाले बताए । अधिकांश कृषकहरू उक्त कार्यक्रमको निरन्तरता चाहन्छ तर नगरपालिकाको कार्यक्रम सुत्केरी भत्ता बाहेक अरू नभएकाले पाडी वितरण र अनुगमन निरन्तर हुन सकेको छैन । पूर्व वडा अध्यक्ष ईश्वर जंगमले कृषकमैत्री कार्यक्रमको निरन्तरता, नियमित अनुगमन तथा कृषक लक्षित कार्यक्रम निरन्तरता दिन जनप्रतिनिधिहरूलाई अनुरोध गरे ।

‘कमजोर आर्थिक अवस्था भएका कृषकहरूका लागि पाडी वितरण कार्यक्रम प्रभावकारी मात्रै थिएन, उनीहरूको जीवनोपयोगी र आयआर्जन वृद्धिका लागि प्रमुख माध्यम पनि थियो’–पूर्व वडा अध्यक्ष लिला नाथ सापकोटाले भने–‘राम्रा कार्यक्रमहरूलाई राजनीतिक प्रतिशोधका आधारमा हेरिनु हुन्न ।’

पशुपक्षी शाखाका पूर्व प्रमुख मणिप्रसाद सापकोटाले पनौती नगरपालिकाको उक्त कार्यक्रम प्रदेश र संघ सरकारकै नमुना भएको बताए । ‘हाम्रो नगरपालिकाको कार्यक्रम प्रभावकारी देखिए पछि संघ र प्रदेश सरकारले पनि यो कार्यक्रममा बजेट विनियोजन गरेका थिए’–सापकोटाले भने–‘नगरपालिकाले निरन्तरता नदिए पनि कृषकहरूले प्रभावकारी कार्यक्रमलाई आफै निरन्तरता दिइरहेका छन् ।’

#काभ्रे