काजकिस्तानकी कालिनोभाले मधेशबाट खेल्ने


काठमाडौं ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा हुन गइरहेको फ्रेन्चाईज लिग एभरेष्ट वुमेन्स भलिबल लिगमा काजकिस्तानकी कालिनोभा यभ्जीनियाले खेल्ने भएकी छन्। कालिनोभालाई मधेश युनाईटेडले अनुबन्ध गरेको हो।

काजकिस्तानकी अनुभवी खेलाडी कालिनोभा स्पाईकरको पोजिसनमा खेल्नेछिन्। ३५ वर्षिया कालिनोभाले काजकिस्तानको राष्ट्रिय टिमका साथै काजकिस्तानको लिग खेलेको अनुभव छ। उनको उचाई १८० सेन्टिमिटर छ । कालिनोभाले मधेश युनाईटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै बताईन्।

‘मधेश प्रदेशबाट पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिग खेल्न म नेपाल आउँदैछु । मधेश युनाईटेडबाट खेल्दैछु । हाम्रो टिमलाई समर्थन गर्नुहोला ।’ मधेश युनाईटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले कालिनोमालाई मधेश टिममा स्वागत गर्दै उनको अनुभवले टिमको लागि धेरै फाईदा पुग्ने बताइन् । मधेश युनाइटेडको मार्की प्लेअरमा नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना छिन् ।

यस्तै नेपाली खेलाडीहरुको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ। जसमा राष्ट्रिय टिमकी संगम महतो र शान्तिकला तामाङ तथा यू २० टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री छन्। हिरा केसी, पुजा थारु र जसना महतो पनि मधेश युनाइटेडको टिममा छन् । पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिगमा ६ टोलीले सहभागिता जनाउनेछन्।