नेपाल र बंगलादेश साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलमा


काठमाडौं । 

काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत समूह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका छन् ।

समूह ए अन्तर्गत मंगलबार सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई २-० ले पराजित गरेसँगै नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका हुन् । समूह ए का दुवै खेलमा हार बेहोरेपछि श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आइतबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा समूह ए मा रहेको नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियो भने सोमबार भएको समूह बी को खेलमा भारतले भुटानलाई १-० गोलले पराजित गरेको थियो।

समूह ए मा पहिलो खेलमा नेपालसँग पराजित भएको श्रीलंकालाई सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने थियो।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समूह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समूह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् । 

त्यस्तै नेपालले भने समूह चरणको अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।