साफ यू-२० च्याम्पियनसिपमा आज बंगलादेश र श्रीलंका खेल्दै


काठमाडौं ।

काठमाडौंमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह ए अन्तर्गत बंगलादेश र श्रीलंका खेल्दै छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल दिउँसो ३ बजेदेखि सुरु हुँदै छ।

आइतबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा समुह ए मा रहेको नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको थियो भने सोमबार भएको समुह बी को खेलमा भारतले भुटानलाई १-० गोलले पराजित गरेको थियो। समुह ए मा पहिलो खेलमा नेपालसँग पराजित भएको श्रीलंका सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ भने बंगलादेशले आफ्नो पहिलो खेल खेल्दै छ।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन्। त्यस्तै नेपालले भने समुह चरणको अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ।