के खान्छन् त मेसी, रोनाल्डो, नेयमार, एम्बाप्पे र लेवानडोस्की

20.4k
Shares

काठमाडौं ।

तपाईसँग सर्वश्रेष्ठ कार भए पनि यदि तपाईंले त्यसमा सही इन्धन हाल्नुभएन भने त्यसको आयु लामो हुँदैन । तपाईं के खानुहुन्छ भन्ने कुराको प्रमाण तपाईंको स्वास्थ्य र शारीरिक बनावटले प्रष्ट पार्छ। यो कुरा साधारण व्यक्तिहरूको लागि त शतप्रतिशत सत्य नहुन सक्ला तर, खेलाडीहरूको सन्दर्भमा भने यो कुरा धेरै हदसम्म सांँचो हुन्छ।

विशेषगरी, विश्व खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुले के खान्छन त भन्ने कुरा सबैको कौतुहलको विषय पनि हो । यसै सन्दर्भमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथ्यको आधारमा वर्तमान फुटबल जगतका सुपरस्टारहरुको खानाको बारेमा यहाँ संक्षेपमा चर्चा गरिएको छ ।

लिओनेल मेसी, अर्जेन्टिना
विश्वका महान फुटबल खेलाडीमध्येका एक हुन लियोनेल मेसी । उनले पहिले अस्वस्थकर खाना खान्थे भनेर सुन्दा अच्चम्म लाग्न सक्छ । उनी एक समय फिजी अथवा कार्बोनेटेड ड्रिंक्स र फास्ट फूडका सौखिन थिए । तर, सन २०१४ मा अर्जेन्टिनाका एक पोषण विशेषज्ञ जुलियानो पोजरले डाइट प्लानबारे सुझाएपछि मात्र आफ्नो खाने बानी सुधार्न थाले । पोजरले मेसीलाई भूमध्यसागरीय (मेडिटेरेनियन) आहार अपनाउन सल्लाह दिएका थिए, जसमा पाँच मुख्य खाद्य पदार्थ पानी, जैतुनको तेल, अंकुरित अन्न, ताजा फलफूल र सागसब्जी समावेश छन् । यस संयोजनले मेसीको मांसपेशीलाई बलियो बनाउन मद्दत गरेको र उनको फिटनेस र शरीर निर्माणमा समेत सहयोग पु¥याएको छ । जसले उनको उत्कृष्ट प्रदर्शनलाई ह्रास आउन दिएको छैन ।

क्रिस्टियानो रोनाल्डो, पोर्चुगल
क्रिस्टियानो रोनाल्डोले पनि आफ्नो आहारलाई अत्यन्त गम्भीरताका साथ लिने गर्छन् । उनले उच्च प्रोटिनयुक्त आहार, अंकुरित अन्न, ड्राई फ्रूट्स, फलफूल र सागसब्जीलाई प्राथमिकता दिन्छन्। चिनीयुक्त खाद्य पदार्थहरूबाट भने उनी टाढा नै बस्ने गर्छन् । उनको आहार विशेषज्ञले उनलाई रियल मेड्रिडमा हुँदादेखि नै डाइट प्लानमा साथ दिँदै आएका छन्।

रोनाल्डोले तीनदेखि चार घण्टाको अन्तरमा दिनमा छ पटक भोजन गर्छन् । उनले विशेषगरी स्वोर्डफिश, सी बास र सी ब्रीम खान्छन । उनको मनपर्ने परिकार भनेको “बाकाल्हाउ अ ब्राज” हो । यो प्याज, पातलो काटिएका आलु र स्क्र्याम्बल गरिएको अण्डा समावेश गरिएको मिश्रण हो । धेरैजसो फलफूल र प्रोटिन खान रुचाउने उनले रेस्टुरेन्टहरूमा पनि प्रायः स्टेक र सलाद अर्डर गर्छन्, र सबै ताजा खान्छन। उनले नास्तामा, पनीर, ह्याम, लो फ्याट योगर्टसँगै धेरै फलफूल र एभोकाडो टोस्टलाई समावेश गर्छन। उनले पानी पिउनुलाई पनि निक्कै महत्व दिन्छन। अल्कोहल र कार्बोनेटेड ड्रिंक्सबाट भने उनी टाढा नै बस्ने गर्छन। उनले यूरो २०२० मा सफ्ट ड्रिंक कोकाकोलाप्रति आलोचनात्मक ब्यवहार गर्दै “पानी पिउनुहोस” भनेका थिए।

नेयमार जुनियर, ब्राजिल
नेयमारले आफ्नो अद्वितीय प्रदर्शनले लाखौंको मन जितेका छन् । अहिले साउदी अरेबियाको अल हिलाल क्लबमा आबद्ध उनले रोनाल्डो जस्तो सशक्त शरीर निर्माण गरेका छैनन्, र मेसीको जस्तो बलियो मांसपेशी पनि छैन। तैपनि फिट नै छन्। यसको रहस्य के हो भन्दा जब उनी प्रारम्भमा बार्सिलोनामा सामेल थिए, पोषण विशेषज्ञहरूले उनका खुट्टा र हातहरू हेरेर उनको प्रदर्शनमा शंका गरेका थिए। त्यसैको आधारमा उनका लागि विशेष आहार बनाइयो जुन उनको तीव्र गतिविधिका लागि अनुकूल बन्यो । अहिले, नेयमारको खाद्य सेवनलाई तीन भागमा विभाजन गरिएको छ। कार्बोहाइड्रेट्स, प्रोटिन, फ्याट्स र भिटामिन तथा सूक्ष्म–पोषक तत्वहरू ।

किलियन एम्बाप्पे, फ्रान्स
फिफा विश्वकप विजेता फ्रान्सका केलिएन एम्बाप्पेले मैदानमा शक्ति र फिटनेसको अद्भुत प्रदर्शन देखाउने गर्छन् । रोनाल्डो र मेसीको जस्तो उत्कृष्ट खेलाडी बन्ने मार्गमा रहेको एम्बाप्पेले उनीहरूको आहारबाट पनि केही कुरा सिकेका छन् । रोनाल्डो जस्तै एम्बाप्पेले दिनमा छ वटा स्वस्थ भोजन लिन्छन् । एम्बाप्पे कुनै प्रकारको जंक फुडबाट टाढै बस्छन् । उनको भोजन प्रायः कार्बोहाइड्रेट्स र प्रोटिनले भरिएका हुन्छन् । उनले मासुको सेवन धेरै कम गर्छन् ।

रोबर्ट लेवानडोस्की, पोल्याण्ड
विश्वका उत्कृष्ट स्ट्राइकरमध्येका एक रोबर्ट लेवानडोस्कीले आफ्नो फिटनेसलाई एक विशेष खानेकुरा खाने बानीले राम्रो बनाएका छन् । जुन उनकी श्रीमती अन्ना लेवानडोस्कीको डाइट प्लानअनुसार हुने गर्छ । अन्ना आफै पनि करातेका विश्वकप विजेता खेलाडी र फिटनेस प्रशिक्षक हुन्। अन्नाको डाइट प्लानलाई “ब्याकवार्डस ईटिंग डाइट“ भनिन्छ । जसमा सामान्यतया उनले सुरुमा डेजर्ट र त्यसपछि मुख्य खानेकुरालाई राखेका छन्। लेवानडोव्स्कीले आफ्नो फिटनेस र उत्कृष्ट प्रदर्शनको श्रेय उल्टो आहार सेवनलाई दिएका छन् । सामान्यतया, लेवानडोव्स्की आफ्नो भोजनको सुरुवातमा शुद्ध कोकोबाट बनेको ब्राउनी खाएर गर्छन् । त्यसपछि चयन गरिएका ब्राण्डेड चामलबाट बनेको परिकार, मासु, र अन्तमा सूप वा सलादमा समाप्त गर्छन् ।