पुस्तक चर्चा: कामीको कला-कौशल र मेहनतमा कामातुरहरुको रजगज

16.92k
Shares

मञ्जुल मितेरी नेपाली साहित्यमा नौलो नाम होइन । मोरङको उर्लाबारीमा जन्मिएका मितेरीका तीनवटा कृति प्रकाशित छन् । आस्था (संयुक्त कवितासङ्ग्रह २०५७), अर्काको देशमा (कथासङ्ग्रह २०७१ र कामी (कवितासङ्ग्रह २०७९) यी तीनवटा कृति मितेरीले नेपाली साहित्यलाई सुम्पिएका छन्। कामी उनको नवीन कवितासङग्रह हो। जसमा ३८ वटा कविता सङ्गृहीत छन् । मूलरूपमा उनका कवितामा चारवटा आयामलाई सम्बोधन गरिएको पाइन्छ– राजनीतिक परिवर्तन र राजनीतिप्रतिको वितृष्णा, सामाजिक विभेद र यसको सिकार, प्रेम र प्रेममा भूराजनीति अनि परदेशिनेहरूको पीडा ।

प्रस्तुत कामी कवितासङ्ग्रहले यी चारवटा विषयलाई सम्बोधन गरेको छ भने यसले सबैभन्दा बढी सामाजिक यथास्थितिमाथि प्रहारसमेत गरेको छ। भूमिकामा कवि मितेरीले आफ्ना कुरा शीर्षकमा लेखेका छन् । ‘यो मैले योजना बनाएर वा घोत्लिएर लेखेको विद्रोह होइन। यो त ती तमाम बेथितिहरूका विरुद्ध मेरो चेतनाले बन्दुक र हतियारको साटो कलमका निबहरू घोटेर निस्किएका झिल्काहरू हुन् । र, म सदैव दृढसंकल्पित छु– कलमभन्दा अर्को शक्तिशाली हतियार इतिहासमा बनेकै छैन, बन्न सक्दैन र बन्नु पनि हुँदैन।’ यस पङ्क्तिबाट नै प्रस्ट हुन्छ कि कविमा काव्यिक चेतना मात्र होइन, भाषा साहित्य एवम् विद्याको भरपूर प्रयोग गर्ने सामथ्र्य छ। उनी क्रान्तिमा जरुर विश्वास राख्छन् तर बन्दुकको क्रान्ति होइन, कलमको ।

कामी नामाकरण प्रतिकात्मक छ। एउटा कविताको शीर्षकबाट कवितासङ्ग्रहकै नामाकरण भएको देखिन्छ । कामी कवितामा मितेरीले जातीयता, परम्परा, परम्परागत कला/कौशलका मुद्दाहरूलाई अघि सारेका छन्। उक्त कवितामा कवि विनम्रताका साथ प्रस्तुत भएका छन्। जहाँ उनले मानव सभ्यतामा कामी सम्प्रदायले पुर्‍याएको अभूतपूर्व योगदानलाई विश्लेषण गरेका छन्। पृथ्वी मानव समुदायको साझा घर हो। जहाँ एउटा सूर्य उदाउँछ। जहाँ चल्ने लहडी बतास एउटा छ । तर मान्छे–मान्छेका बीचमा विभिन्न तवरले विभेद बढ्दै गएको छ।

युगौंदेखि विभेद सामाजिक व्यवस्था बनिसकेको छ । वर्तमान परिप्रेक्ष्यमा सम्पूर्ण मानव समुदायप्रतिको समान सोचविचार र दृष्टिकोण कहिले बन्ला ? यस किसिमले कविले सामाजिक विभेदमाथि कलमको निबलाई घोटेका छन्। उनी निकै सचेत छन्। आक्रोशलाई पनि विनम्रताका साथ प्रस्तुत गर्नमा सिपालु छन् । कामी शब्द संस्कृतभाषी शब्द हो, जसको अर्थ कामवासनाले युक्त, कामचाहनाले व्याप्त भन्ने जनाउँछ । तर कवितामा प्रयोग गरिएको कामी शब्दको शाब्दिक अर्थ परम्परागतरूपमा नेपाली समाजमा शिल्पसम्बन्धी काम गर्दै आएको मानव समुदाय हो ।

राजनीतिक परिवर्तन र राजनीतिप्रतिको वितृष्णा :
मृतकको नामः बलमान विश्वकर्मा, सुदूर सीमारेखाबाट, अन्तिम अङ्कमा र म फेरि लड्नेछु लगायतका कवितामा नेपाली राजनीतिक इतिहास, घटना एवम् राजनीतिप्रतिको वितृष्णालाई सम्बोधन गरिएको छ । माओवादी सशस्त्र युद्ध र त्यसपछिका दिनहरूमा राजनीतिक अस्थिरताका कारण नेपाली समाजले भोग्नुपरेको पीडा एवम् वर्तमान राजनीतिक अवस्थालाई कवितामा सरल ढंगले चित्रण गरेका मितेरीले अहिलेको नेपाली राजनीतिक व्यवस्था बाहिर–बाहिर लोकतान्त्रिक रहेको र भित्र–भित्र निरङ्कुश बनिसकेको आरोप लगाएका छन् ।

सुदूर सीमारेखाबाट कवितामा उनले सीमारेखामा बस्ने नागरिकहरूको चिच्याहटलाई कसैले नसुनेकोमा दुःख व्यक्त गरेका छन्। उनले यो पनि भनेका छन् कि सीमाका नागरिक नागरिक मात्र होइनन् । उनीहरू इतिहासमा सीमा स्तम्भसमेत हुन् । राजनीतिक परिवर्तनहरू थुप्रै भए तापनि यो परिवर्तनले आम नागरिकको जीवनस्तरमा खासै प्रभाव नपारेको उनको भनाइ छ । अर्कातिर राजनीतिक परिवर्तनले कामी समुदायलाई उच्च सम्मान दिने विषय बाहिरी आवरणमात्र भएको नवीनले तर्क प्रस्तुत गरेका छन् ।

सामाजिक विभेद र यसको सिकार :
यस विषयमा लेखिएका कविताहरू सिर्जनशीलताको गहिराइबाट जन्माइएका छन् । सम्बन्धित कवितामा अधिकाधिक आक्रोश पोखिएको छ, विद्रोह गर्न खोजिएको छ । सदियौँदेखिका गुपचुप रहेका विषयवस्तुलाई बाहिर ल्याउन खोजिएको छ । कविले जरुर आफ्ना हृदयका आगोका रापिला कोइलासमानका आवेगका झोक्काहरूलाई धीरजताका साथ प्रस्तुत गरेका छन् । कामी, बेमौसमको कविता, साझा फूलबारी, स्वीकार्य÷अस्वीकार्य, चेतनाको चिहान, म आदिम देशभक्त, ईश्वरको मृत्यु र आऊ अब हामी सँगै हिँडौँ लगायतका कविता सामाजिक विभेद र यसको सिकार भएका पक्षहरूमा आधारित छन् ।

कवितामा मितेरीले सबैभन्दा शान्त स्वरूपमा आफ्ना मनका सारा वेदनाहरू पोखेका छन् । उनले आफ्ना पुर्खाहरू र सन्तानहरूप्रति पनि ‘मेरा पुर्खाहरू मुर्दावाद÷मेरा सन्तानहरू मुर्दावाद’ शीर्षकको कवितामा आक्रोश पोखेका हुन् । उनको आक्रोश पोख्ने तरिका गज्जबको छ । शान्त स्वरूपमा नम्रतापूर्वक पोखिएको यो आक्रोश हजारौँ शिल्पी समुदायको हो । मितेरीले उक्त कवितामा विभेदको पहाड भत्काउन लाग्दा आफ्नै समुदायका पुर्खा र सन्तानले रोक्न खोजेको रोचक तथ्य बाहिर ल्याएका छन् ।

उनले समग्र शिल्पी समुदायलाई एकजुट भएर अगाडि बढ्नसमेत आह्वान गरेका छन् । शिल्पी समुदायमात्र नभई आममानव समुदायलाई नै व्यावहारिकरूपमा एकताको मालामा एकताबद्ध हुन आग्रह गरेका मितेरीमा सामाजिक विषयमा कलम चलाउने सीप अद्भुत छ । समग्रमा यस विषयमा कविले राज्य निर्माण र विकासमा शिल्पी समुदायले पु¥याएको योगदानमा उनीहरू सदैव सेवकको रूपमा रहेको कुरा उल्लेख गरेका छन् ।

कति कवितामा त मितेरीले शिल्पी समुदायका पुर्खा र सन्तानहरूले आफ्नो मेहनतअनुसारको इज्जत नै नपाएको दुखेसो पनि पोखेका छन् । यसलाई विश्लेषण गर्नुपर्दा कामी समुदायको सीप, क्षमता र कर्मको फल खानका लागि कामातुर भएका राजनीतिक तथा सामाजिक कामी (कामाशक्त व्यक्ति) हरूको रजगज चलिरहेको अवस्थाले वास्तविक शिल्पीहरू पीडित भएको बुझ्न सकिन्छ।

प्रेम र प्रेममा भूराजनीति :
आँधी, प्रिय मान्छे, याद, आकाशगङ्गाको मुन्तिर, मोनालिसालगायतका कवितामा प्रेमलाई लिएर लेखिएको छ । प्रेमका मामलामा मितेरी अरू लेखकभन्दा भिन्न तरिकाले प्रस्तुत भएका छन् । प्रेमका विषयमा उनले प्रकृति र पृथ्वीलाई समेटेर एकनाशले सम्बोधन गरेका छन् । प्रेमका काल्पनिक घटना, प्रेममा पर्खाइ र प्रेमपूर्वक पृथ्वीको हस्तान्तरण, साथै प्रेमको घेराबन्दीलाई पनि कवितामा प्रस्तुत गरिएको छ । प्रकृतिको चित्रण गर्दा कवि नम्र छन् । प्रेममा विगतलाई सम्झिँदा आक्रोशित भएका छन् । समग्रमा उनी प्रेमका मामलामा भिन्न स्वभावका देखिएका छन् । प्रेमका कवितामा कतै नम्रता, कतै आक्रोश त कतै खिन्नता पनि व्यक्त गरेका छन् ।

परदेशिनेहरूको पीडा :
अहिले धेरैजसो नेपाली नागरिक वैदिशिक रोजगारका लागि परदेशिएका छन् । बर्सेनि हजारौँ युवा बाहिरिँदाको चिन्ता सबैले व्यक्त गरिरहेकै छन् । तर मितेरी यहाँ पनि भिन्न स्वभावमा देखिएका छन् । उनी विराट शिल्पी हुन् । उनले परदेशिने नेपाली नागरिकले परदेशमा श्रमको समुचित मूल्य नपाएको दुःखद प्रसंगलाई नजिकबाट नियालेका छन् । परदेशमा पानीको धाराझैँ पसिनाको धारा बहाएको तर्क राखेका छन् । मेरो हात, म र समयको महादौड तथा हथौडालगायतका कविता यस आयामका प्रतिनिधिमूलक कविताहरू हुन् ।

यी चार विषयबाहेक पनि मितेरीले जापानी संस्कृतिलाई कवितामा समावेश गरेका छन् । साथै रूस–युक्रेनमा युद्ध चलिरहँदा युक्रेनी कलाकारले युद्ध अन्त्यका लागि गरेको आह्वानलाई समेत कवितामा उल्लेख गरेका छन् । जिरो मारुन् र ओ ओरिमेन ! यी दुईवटा कवितामा मितेरीले जापानले इतिहासमा प्राप्त गरेको युद्धको घाउ र जापानी संस्कृतिलाई उल्लेख गरेका छन् । यसर्थ कवि सक्षम छन् । उनी बहुमुखी छन् । उनले समाजका सर्वपक्षलाई सूक्ष्म तवरले केलाएका छन् । यसबाट के प्रस्ट हुन्छ भने, मितेरी कविताप्रति जिम्मेवार छन् । उनले कविको भूमिकालाई जिम्मेवारपूर्ण ढंगले बहन गरेका छन् । सरल भाषाशैली, मधुर वचनमा आवेगलाई पनि उत्तिकै लेख्न सक्नु मितेरीको सफलता हो ।

कवि हतार र हतासमा छैनन्, धीरज छन् । सामाजिक पक्षलाई निकै नजिकबाट कवितामा उल्लेख गरेका मितेरीले राजनीति, संस्कृति र आर्थिक अवस्थालाई समेत कवितामा भित्र्याएकै छन् । मितेरीलाई आगामी लेखनी यात्राको शुभकामना !