नेपालको निकासी व्यापार स्थिर रहेको तथा पर्यटक आगमनसमेत बढ्न नसक्दा अर्थतन्त्रको एकमात्र आधार रेमिट्यान्समा सामान्य उतारचढावले पनि देशको सम्पूर्ण अर्थतन्त्र संकटमा पर्न सक्ने अवस्था छ । नेपालले आफ्नै देशमा उत्पादन गर्न सकिने वस्तु र सेवाहरुसमेत उल्लेखनीय रुपमा आयात गर्दा पनि वैदेशिक व्यापारमा नेपाल सधैँ पछाडि धकेलिँदै आएको छ । नेपालको कुल निर्यातको अवस्था सुधारोन्मुख हुनुपर्नेमा त्यसो हुन सकेको छैन ।
विदेशबाट खर्बौं रुपियाँका वस्तु आयात हुँदा नेपालले एक आर्थिक वर्षमा एक खर्बका वस्तुहरु निकासी गर्न सकेको छैन । विगत चार वर्षमध्ये २०७०–७१ मा सबभन्दा बढी रु. ९१ अर्ब रुपियाँको निर्यात भएको देखिन्छ । नेपालले ६८ देशमा निर्यात तथा ७४ देशबाट सामान आयात गरेको देखिन्छ ।
वैदेशिक व्यापार घाटालाई कम गर्नका लागि उत्पादन वृद्धिको विकल्प नभए पनि नेपालले स्वदेशमै प्रचूर मात्रामा उत्पादनको सम्भाव्यता भएका वस्तुहरुको उत्पादन वृद्धिमा सुधार ल्याउन सकेको छैन। नेपालको कुल निर्यातको अवस्था सुधारोन्मुख हुनुपर्नेमा त्यसो हुन सकेको छैन। राजनीतिक दलहरुका योजना र भनाइबाट मात्रै समृद्धि नहुने स्पष्ट देखिन्छ। नेपालको निर्यात पछिल्ला वर्षमा कमजोर देखिएको छ।
नेपालको कुल निर्यातमा अर्ब रुपियाँमाथि निर्यात हुने वस्तुहरु १७ वटाजति मात्र रहेका छन् । ती वस्तुहरुमा अलैंची, चिया, औषधिजन्य जडीबुटी, जुस, जुट ब्याग, उलन ब्याग, पश्मिना सल, टुथपेस्ट, जुत्ता, फलाम तथा स्टिलजन्य वस्तुहरु, चाँदीका गहना, टेक्सटाइल, कटन धागो, फेल्टलगायतका वस्तुहरु रहेका छन् ।
निर्यात प्रवद्र्धनका लागि सरकारले चर्का नारा दिए पनि उत्पादन कमी, विश्वबजारमा फितलो प्रचारप्रसार, ब्रान्डिङ कारणले नेपाली उत्पादन विदेशिन नसकेको बताइन्छ । नेपालबाट निर्यात हुने सामानमा गुणस्तरको सम्बन्धमा बेलाबखतमा प्रश्न उठ्ने गरेको छ । विश्वबजारमा प्रतिस्पर्धा गर्न गुणस्तर महत्वपूर्ण कुरा हो । नेपाली उत्पादनले पहिलेदेखि नै परिमाणभन्दा गुणस्तर सुधारमा ध्यान दिँदै आउनुपर्दथ्यो । नेपाल–भारत खुला सिमानाले नेपालको निर्यात व्यापारमा असर गरेको छ । सरकारी नीति प्रतिबद्धता राम्रो भए पनि कार्यान्वयन फितलो हँुदै आएको छ । भूपरिवेष्टित भएका कारणले उद्योगी–व्यापारीहरुले हैरानी बेहार्दै आएका छन् ।
निकासी विकासका अनेकौं आधार तथा सम्भावना हुन्छन् । राष्ट्रिय व्यापार रणनीति २०७३ ले राखेका १२ वटा तुलनात्मक लाभको वस्तुमा जडीबुटी पनि समावेश छ । तीमध्ये जडीबुटी एवम् अनुसन्धान, उत्पादन एवम् व्यवसायीकरण र संरक्षण एवम् सदुपयोग गर्न सके आर्थिक–सामाजिक विकासमा नै सहयोग पुग्छ । वन नीति २०७१ ले वनस्पति एवम् जडीबुटीका नवीनतम प्रवृत्ति र क्षेत्रहरुलाई समेटेको छ । वन, वनस्पति र जैविक विविधता संरक्षण अभियान अगाडि बढाउन २०७१–२०८० लाई वन दशक घोषणा गरी एक घर एक रुख, एक वन र एक नगर अनेक उद्यान कार्यक्रहरु आर्यान्वयनमा आउँदै गरेका छन् ।
उत्पादनमूलक क्षेत्रमा भन्दा विलासी र अनुत्पादक क्षेत्रमा बढी खर्च गर्नुले पनि व्यापार घाटा बढेर गएको छ । यदि सरकारले व्यापार घाटालाई न्यूनीकरण गर्दै लाने हो भने जुन वस्तु तथा सेवामा नेपाल निर्भर रहेको छ त्यस्तो वस्तु तथा सेवाको आन्तरिक उत्पादन बढाउनै पर्दछ । यसको लागि दीर्घकालीन सोच, ठोस कार्ययोजनासहितको कार्यान्वयन चाहिन्छ ।
वाणिज्य नीति २०७२ ले १२ वटा वस्तुमध्ये सम्भावनायुक्त वस्तुहरुका सूचीमा जडीबुटी तथा सारयुक्त तेललाई पनि समावेश गरेको छ । यस नीतिमा निर्यातयोग्य कृषि तथा वनजन्य वस्तुहरुको संकलन एवम् प्रशोधन गरी निर्यात अभिवृद्धि गर्न, प्रशोधन केन्द्रहरु स्थापना गर्न सहयोग पु¥याउने, गुणस्तर प्रमाणीकरणसम्बन्धी मौजुदा प्रयोगशालाहरुको सुदृढीकरण तथा एक्रिडिटेसन गर्दै जाने, आवश्यकताअनुसार बहुउद्देश्य प्रयोगशालाको स्थापना गरिने, कृषि तथा वन पैदावारलगायतका व्यावसायिक खेती गर्न लिजमा जग्गा उपलब्ध गराउने र विविधताको अवसरलाई उपयोग गरी निर्यातजन्य वस्तुहरुका उत्पादन तथा प्रशोधन बाह्य मागबमोजिमको बनाउन संवेष्ठन, लेबलिङ, भण्डारण, प्रमाणीकरणमा सहयोग पुर्याउने, निर्यात प्रवद्र्धनको लागि असल कृषि अभ्यास र प्रांगारिक खेतीलाई प्रोत्साहन गर्न समन्वय गर्ने कुरामा जोड दिइएको देखिन्छ।
नेपालको संविधान २०७२ को दफा ५१ (च) मा वैज्ञानिक अध्ययन–अनुसन्धान एवम् विज्ञान र प्रविधिको आविष्कार, उत्थान र विकासमा लगानी अभिवृद्धि गर्ने तथा वैज्ञानिक, प्राविधिक, बौद्धिक र विशिष्ट प्रतिभाहरुको संरक्षण गर्ने, धारा ५१ मै जनसाधारणमा वातावरण स्वच्छतासम्बन्धी चेतना बढाई औद्योगिक एवम् भौतिक विकासबाट वातावरणमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्दै वन, वन्यजन्तु, पक्षी, वनस्पति तथा जैविक विविधताको संरक्षण, संवद्र्धन र दिगो विकास तथा उपयोग गर्नेजस्ता प्रावधानले नेपालको निकासी बढाउनेछ ।
हालका वर्षमा नेपालबाट युरोपका विभिन्न देशमा २० भन्दा बढी प्रकारका औषधिजन्य सुगन्धित तेल र जडीबुटीजन्य उत्पादन निर्यात हुने गरेको छ । जडीबुटीजन्य उत्पादनका बाह्य माग उच्च रहे पनि प्रयोगशाला परीक्षण एवम् प्रमाणीकरणको सुनिश्चितता हुन नसकेमा निर्यात वृद्धि हुने सम्भावना हुँदैन । तसर्थ नेपालको आयात व्यापारलाई कम गराउन आन्तरिक उत्पादन बढाउनै पर्दछ । जुन वस्तु नेपालमा बृहत्रुपमा उत्पादन गर्न सम्भव छ त्यस्ता वस्तु अत्यधिक बढाउँदै लग्नुपर्दछ । नेपालका कच्चा पदार्थमा आधारित औद्यागिक उत्पादनहरु बढाउँदै जानुपर्दछ । नेपालको विश्वका १८६ देशसँग वैदेशिक व्यापार हुँदै आएकोमा अधिकांश देशसँग नेपालको व्यापार घाटा रहिआएको छ। नेपालमा दैनिक उपभोग्य सामग्रीदेखि विलासिता र परिवार नियोजनका साधनसमेत अत्यधिकरुपमा आयात हुँदा व्यापार घाटा निरन्तर बढ्दै गएको छ । तसर्थ अर्थतन्त्र उकास्न र निकासी बढाउन उत्पादनशील र निर्यातउन्मुख लगानी बढाउन अत्यन्त आवश्यक रहिआएको देखिन्छ ।
देशलाई आवश्यक परेका वस्तुहरुको आयात कल्पनै गर्न नसकिने गरी ह्वात्त बढेको छ । अन्धाधुन्ध आयात गरिएका ती वस्तु नेपालमा अन्तर्राष्ट्रिय मापदण्ड मान्यता प्राप्त निकायको अभावमा मानवहित विपरीतका पनि हुन सक्छन् । अर्कोतर्फ जुन उद्देश्यले नेपालमा विदेशबाट सामान आयात गरिन्छ त्यही उद्देश्यका लागि अर्थात् उद्योगका कच्चा पदार्थका रुपमा उपयोग नभई त्यस्ता वस्तु दुरुपयोग हुनुले पनि आयात बढदै गएको हो । आयात गरिएका वस्तुका उद्देश्यअनुसार प्रयोग नभएको खण्डमा त्यस्ता व्यक्तिलाई कारबाही पनि भएको देखिँदैन अनि त सहजरुपमा नेपालमा आयात दिन दुगुना रात चौगुना बढेर गएको छ ।
नेपालबाट चीनतर्फ निर्यात हँुदै आएको प्रशोधित छाला, रुद्राक्ष, घरेलु उद्योगका सामानलगायतका वस्तुहरु भुइँचालोअगाडिका अवस्थामा जति पठाउन सकिएको थियो त्यति हालका वर्षहरुमा पठाउन सकिएको छैन । तर चीनबाट नेपालमा आयात हुने सामानहरु जस्तै– तयारी पोशाक, जुताचप्पल, यातायातका पार्टपुर्जा, रासायनिक मललगायतको आयात भारतको कोलकाता बन्दरगाह भएर आयात भएकाले आयात बढ्दै गएको छ । यसले गर्दा चीनसँग व्यापारघाटा बढेको बढ्यौ छ ।
भारतबाट विशेष गरी पेट्रोलियम पदार्थको आयात उच्च छ । यसको अतिरिक्त यातायातका साधन र यसका पार्टपुर्जा, सिमेन्ट, फलामे छड र औषधिको आयात पनि बढेको कारण भारतसँगको व्यापार घाटा पनि बढेको हो । तेस्रो देशहरुमा निकासी हुने दाल, चिया र हस्तकलाका सामानहरुको निर्यात भने घट्न गएको छ । यी देशहरुबाट सुनचाँदी, पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा तामाको तारलगायतका वस्तुहरु नेपालमा आयात बढ्दो छ ।
भारत, चीन र अन्य देशहरुमा गरिँदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्ररुपमा व्यापार घाटा पनि बढेको देखिन्छ । करिब २ दशकअगाडिसम्म नेपालले चामल निर्यात गर्दथ्यो । हालका वर्षमा ३० अर्ब रुपियाँभन्दा बढीको विदेशी चामल नेपालमा आयात हुँदै आएको छ । नेपालमा इन्धन मात्रै बर्सेनि १ खर्ब ४० अर्बको खपत भइआएको छ । बर्सेनि रु. ३२ अर्बको सुनचाँदी र २५ अर्बभन्दा बढीको मोबाइल सेटको आयात भइराखेको छ ।
निर्यातजन्य वस्तुको पहिचान, प्रवद्र्धन, बजारीकरणको अभाव बर्सेनि व्यापार घाटा बढेको सरोकारहरुको भनाइ छ । व्यापार घाटा टिठ लाग्दो भएको र यसलाई कम गर्न रणनीतिक योजनाको आवश्यकता रहेको छ । देशको एक आर्थिक वर्षको बजेट बराबरको प्रतिवर्ष व्यापार घाटा बेहोर्नु लाज मर्नु अवस्था हो । त्यसर्थ व्यापार घाटा कम गर्न निर्यातजन्य वस्तुका उत्पादन र बजार प्रवद्र्धन गर्न सख्त आवश्यकता रहेको छ । व्यापार घाटा कम गर्न उत्पादनमूलक वस्तुका प्रोत्साहनका लागि करको दर घटाई निर्यात प्रवद्र्धनमा सघाउ गराउने काम अघि बढाउन आवश्यक देखिएको छ ।
पेट्रोलियम पदार्थ, फलाम, स्टिल, धातुजन्य पदार्थ, सुनलगायत वस्तु विदेशबाट आयात गर्ने गरिएको छ । विगतमा खाद्यान्नमा आत्मनिर्भर नेपालले हालका वर्षमा वार्षिक एक खर्ब रुपियाँको खाद्यान्न आयात गर्नुपरेको अवस्था छ । सन् १९८० अगाडि दाल, चामल, ऊन, जुट, अलैँची, काठ र धातुका सामान निर्यात हुन्थे भन्ने कुरा अहिले कथा बन्न गएको छ । हालका वर्षमा पेट्रोल मात्र २५ अर्बभन्दा बढी आयात भई आएको छ । सुनको आयात पनि त्यत्तिकै हुुने गरेको छ । सम्भावना रहेको पस्मिना, गलैँचाजस्ता वस्तुका उत्पादन बढाई बजारीकरण नहँुदा नेपालको बाह्य बजार सहभागी अंश कमजोर हुँदै छ । अलैँची, अदुवा, चिया, कफी आदिको गुणस्तरीय उत्पादन निर्यातमा योजनाबद्ध कार्यक्रमको आवश्यकता रहेको छ ।
नेपालको निर्यात–आयातको अनुपात बर्सेनि बढेर गएको छ । विश्वबजारमा नेपालको व्यापार अधिकांश देशमा घाटामा चलेको देखिन्छ । त्यसको निराकरणका लागि सरकारको प्रभावकारी योजनातर्फ ध्यान कम गएको देखिन्छ । राजनीतिक दलहरुका ध्यान पनि व्यापार घाटातर्फ गएको देखिँदैन । किनभने देशमा सधैँ व्यापार घाटा भइरहेछ । तर उनीहरु प्रभावकारी योजना बनाएर व्यापार घाटा घटाउन सफल भएका देखिएका छैनन् ।
नेपालमा करोडौँ रुपियाँ मात्र होइन, अर्बाैं–खर्बौं रुपियाँमा व्यापार घाटा रहँदै आएको छ । नेपालको व्यापार घाटा वार्षिक रु. ९ खर्ब नाघिसकेको छ तर पछिल्ला वर्ष अझ व्यापार घाटा बढेर गएको छ । बताइन्छ कि मानिसहरुले उत्पादनमूलक क्षेत्रमा भन्दा विलासी र अनुत्पादक क्षेत्रमा बढी खर्च गर्नुले पनि व्यापार घाटा बढेर गएको छ । यदि सरकारले व्यापार घाटालाई न्यूनीकरण गर्दै लाने हो भने जुन वस्तु तथा सेवामा नेपाल निर्भर रहेको छ त्यस्तो वस्तु तथा सेवाको आन्तरिक उत्पादन बढाउनै पर्दछ । यसको लागि दीर्घकालीन सोच, ठोस कार्ययोजनासहितको कार्यान्वयन चाहिन्छ । त्यसपछि मात्र देशको व्यापार घाटा घट्न सक्छ।
(लेखक रेग्मी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्व नायब कार्यकारी निर्देशक हुनुहुन्छ ।)
प्रतिक्रिया