चाडपर्वले दिने सन्देश


हिजो ऋषितर्पणी अर्थात् जनै पूर्णिमा पर्व। सनातन धर्मावलम्बीहरुले धारा, नदी, ताल, पोखरीमा गएर स्नान गरी गुरु पुरोहितबाट नवयज्ञोपवीत एवं रक्षासूत्र धारण गरी मनाए। कतिपय स्थान विशेष गरी तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाए। नेवार समुदायमा विशेष किसानहरुले यस दिन आ–आफ्नो खेतबारीमा भ्यागुतालाई पूजा गरी भात चढाउने परम्परा रहेको छ।

धेरैले एघार थरीका गेडागुडी भिजाएर टुसा उमारी बनाइएको क्वाँटी खाने चलन पनि छ । यस दिन वैदिक मन्त्रद्वारा अभिमन्त्रित रक्षासूत्र हातमा बाँधेमा नकारात्मक शक्तिबाट रक्षा हुने मान्यता रहिआएको छ । त्यसै गरी राखी बाँध्ने कोणबाट हेर्दा दिदीबहिनी र दाजुभाइको मैत्रीपूर्ण र आत्मीय सम्बन्धको प्रसंग अगाडि आउँछ । यता भ्यागुतालाई पूजा गर्ने प्रचलनलाई हेर्दा खेतबारीमा खनजोत, रोपाइँ, गोडमेलका क्रममा कीराफट्याङ्ग्रा मर्छन्, त्यसको लागि क्षमायाचनास्वरुप भ्यागुतालाई पूजा गरी खाना खुवाउने गरेको भन्न सकिन्छ । क्वाँटी खाने विषयमा घोत्लिँदा यसले शरीरमा पोषण गर्छ, वर्षामा खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली तापशक्तिको सञ्चार गर्छ र निरोगी बनाउन मद्दत गर्छ भन्ने मान्यता छ । यस पर्वलाई फरक–फरक समुदायले फरक–फरक तरिकाले मनाए पनि समष्टिगतरुपमा यसले मनुष्य मात्र नभई वातावरण, जीवजन्तु सबैका लागि हित गरेको हुन्छ ।

समाज विकासको क्रमसँगै जीवन निर्वाहको क्रममा मानिसले हासिल गरेको ज्ञान, सीप, प्रविधिबाट सृजित परम्परा एवं संस्कृति मानव हितमा हुन्छन् । हिजो श्रावण शुल्क पूर्णिमा मनाउने क्रममा परम्परादेखि गर्दै आएका माथि उल्लिखित कुराहरुलाई पनि सकारात्मकरुपमा लिन सकिन्छ । यस्तो पर्वले जीवनलाई निरस हुन दिँदैन । समाज, साथीभाइ, आफन्तसँग जोडिएर आउने भएकाले सम्बन्धसमेत बलियो बनाउने हुन्छ । आ–आफ्नो पेसा, व्यवसायमा हरेक दिनको व्यस्तताबाट हुने एकखालको एकोहोरो दिमागलाई ताजा र स्वस्थ बनाउन चाडपर्वको महत्वपूर्ण भूमिका रहेको छ। यही नै चाडपर्वको जीवनदर्शन हो।


त्यसै गरी आज गाईजात्रा । नेपालभाषामा यसलाई सापारु भनिन्छ । साको अर्थ गाई र पारुको अर्थ प्रतिपदा। काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा गाईजात्रा मनाइँदै छ । हिन्दु धर्ममा गाई पवित्र जनावर हो । यस वर्ष दिवंगत भएका आफन्तको नाउँमा गाईलाई पूजा गरेर उसको पिठ्यूँमा पहेँलो वस्त्र लगाई घुमाउने गरिन्छ । मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइन्छ । संस्कृतिविद्हरुका अनुसार गाईजात्रा मनाउने क्रममा वर्षभरि ज्यान गुमाएका आफन्तको सम्झनामा विम्ब खडा गर्ने परम्परा छ।

भक्तपुरमा गाईजात्रा मनाउने क्रममा ज्यान गुमाएका व्यक्तिको सम्झनामा माटोको साँढे वा तहासाँ बनाएर नगरपरिक्रममा गर्ने चलन रहेको छ। तहासाँ वा तहामचा भक्तपुरको गाईजात्राको विशेषता हो । बाँसमा फरिया बेरेको भए त्यो महिलाको र अन्य कपडा बेरेको भए त्यो पुरुषको तहासाँ भनेर बुझिन्छ । त्यसको महत्वपूर्ण सन्देश भनेको एक प्रकारको मृत्यु गणना हो । वर्षभरिमा कति मानिसले ज्यान गुमाए, गाईजात्रा घुमाउने बाटोमा दिनभरि बस्ने हो भने ठ्याक्कै थाहा पाइनेछ ।

विभिन्न चाडपर्व र जात्रामा समाज, धर्म, अर्थतन्त्र, संस्कारलगायत विविध पक्ष निहित भएको हुन्छ । यसले समुदायलाई जोड्नुका साथै धार्मिक, आध्यात्मिक भावना, असल संस्कारको बीजारोपण गरी मानिसलाई सत्मार्गमा लान सधैँ प्रेरित गरिरहेको हुन्छ । यस्ता विषय युवापुस्तालाई पनि क्रमशः हस्तान्तरण गर्दै जानुपर्ने खाँचो छ । यी ज्ञानहरु मानवजातिका लागि उपयोगी हुने भएकाले विद्यालय, विश्वविद्यालयहरुको पाठ्यक्रममा समेत राखिनुपर्ने देखिन्छ ।