नेपालबाट थप २५१ मेगावाट बिजुली भारत निर्यात हुने


काठमाडौँ।

नेपालले कुल स्वीकृत परिमाणबाहेक थप २५१ मेगावाट बिजुली भारत निर्यात गर्न पाउने भएको छ। भारतको विद्युत्संग सम्बन्धित प्राधिकरणले नेपालका १२ वटा जलविद्युत् परियोजनाबाट थप २५१ मेगावाट बिजुली आयात स्वीकृति दिएको हो।

योसँगै नेपालले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत विद्युत् निर्यात गर्नेछ। यसले कुल स्वीकृत परिमाण ६९० मेगावाट (१६ परियोजनाबाट) बाट थप २५१ मेगावाट अर्थात् कुल ९४१ मेगावाट (२८ परियोजनाबाट) बिजुली निर्यात गर्न सकिनेछ।

नेपालले यसअघि नै भारतमा बिजुली निर्यात गर्दै आएको छ। निर्यातबाट गत वर्ष मात्र १६ अर्ब ९३ करोडको बिजुली बिक्री गरी खुद विद्युत् निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ।

भारतले सन् २०२१ अक्टोबरमा पहिलोपटक नेपालबाट ३९ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति दिएको थियो। अहिले यो २४ गुणाले बढेको दूतावासले उल्लेख गरेको छ।

नेपालले इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी पहिलोपटक ऊर्जा निर्यात सुरु गरेको थियो। त्यसयता नेपालले भारतको रियल टाइम मार्केटमा समेत पहुँच पाइसकेको छ।

नेपाल विद्युत् प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत् बिक्री सम्झौता पनि गरिसकेको छ। भारतले भारतका खरिदकर्ताहरुलाई जलविद्युत् खरिद दायित्व (एचपीओ) को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत् आयात गणना गर्ने प्रावधान पनि खोलेको छ। यसले खरिदकर्तालाई नेपालबाट बिजुली किन्न प्रोत्साहन मिल्ने दूतावासको विश्वास छ।

नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताअनुसार नेपालबाट भारतमा १० वर्षमा १० हजार मेगवाटसम्म बिजुली बिक्री गरिने उल्लेख छ। दूतावासका अनुसार सम्झौताको पहिलो वर्षमै १ हजार मेगावाट बिजुली निर्यात भइसकेको छ।

नेपालले बंगलादेशलाई समेत ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौताको चरणमा थियो। गत साउन १३ गते नै हस्ताक्षरको योजना बने पनि पछिल्लो समय बंगलादेशमा भएको राजनीतिक घटनाक्रमका कारण हाल उक्त सम्झौता स्थगित अवस्थामा छ।