प्रधानमन्त्री ओली र महिला भलिबल खेलाडीबीच संवाद

कभर्डहल हामी बनाउँछौँ : प्रधानमन्त्री 


काठमाडौँ। 

 प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनको दिन  आजको बिहानी करिब दुई घण्टा राष्ट्रिय महिला भलिबल टिमसँग व्यतीत गरेका छन् । प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबीच यस खेलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल केन्द्रित थियो । 

प्रधानमन्त्री निवास, बालुवाटारमा ब्रेकफास्टसँगै मुलुकको कार्यकारी प्रमुखसँग सम्भवतः पहिलो पटक यस प्रकारको भलाकुसारी गर्ने अवसरले आफूहरुलाई उत्साहित तुल्याएको खेल नेतृत्वकर्ता, प्रशिक्षक र खेलाडीहरुले बताएका थिए । प्रधानमन्त्री ओलीसँगको छलफलमा सो टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी सरस्वती चौधरीलगायत सहभागी थिए । 

प्रधानमन्त्री ओलीले दुई साता अघि सम्पन्न ‘काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिता’ हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको अवगत गराउँदै खेलाडीका प्रगति, चाहना र मागबारे आफूू जानकार रहेको सुनाए । प्रधानमन्त्री ओलीले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही  तीन लाख दिने निर्णय गरेको जानकारी गराएका थिए भने खेलाडीले त्यसका लागि आभार व्यक्त गरेका थिए । 

उनले यस क्षेत्रको मागअनुसार अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाउने सङ्कल्प गरे । “तपाईँहरुलाई थाहा छ कि सरकारको ढुकुटीमा धेरै रकम छैन तर हामी गर्नैपर्ने कामहरु गर्नेछौँ । आगामी खेलमा जित्छौँ जुन तपाईँहरुको मनोबल छ, त्यो साकार होस् ।’’, प्रधानमन्त्री ओलीले भने, “हामीले खेल खेल्ने भनेकै जित्नका लागि हो, त्यसकारण राम्रो ध्यान दिएर जित्छु भन्ने आशा बोकेर लाग्नुस् । सफलता पक्कै मिल्नेछ ।’’

प्रधानमन्त्री ओलीले गत महिना नेपालमा रहेका रसियाली महिला भलिबल खेलाडीले आफूसँगकोे भेटमा नेपाली टिमको प्रशंसा गरेको स्मरण गर्दै विश्वस्तरका खेलाडीबाट भएको प्रशंसाभित्र नेपाली टिमको सम्भावना  लुकेको छ भने ।