यज्ञोपवीत (जनै) र ब्रह्माण्डको सम्बन्ध


यो विषय धेरै गहिरो छ । त्यसैले नयाँ जनै धारण गर्दा भनिने मन्त्रबाट कुरा उठान गर्नु सान्दर्भिक होला ।
ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेर्यत्सहजं पुरस्तात् ।
आयुष्यमग्रं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः ।।

अर्थात् ‘यज्ञोपवीत परम पवित्र हो, जुन प्रजापतिसँगै पहिले नै उत्पन्न भएको हो । आयु बढाउने, शुभ मोक्षदायक यस्तो यज्ञोपवीतबाट बल र तेज मिलोस् ।’

माथि उल्लिखित मन्त्रबाट प्रजापतिले पनि जनै धारण गरेको ज्ञात हुन्छ । जबकि प्रजापति भनेका सृष्टिकर्ता ब्रह्मा हुन् । ब्रह्मा मानिसजस्तो स्वरुपकै होइनन् भने कसरी जनै धारण गरे ? अब यहाँ बुझ्नुपर्ने कुरा के छ भने, ‘यत् पिण्डे तत् ब्रह्माण्डे अर्थात् पिण्डमा जे छ ब्रह्माण्डमा पनि त्यही छ ।’ यहाँ पिण्डरुपी मानवशरीरलाई ब्रह्माण्डसँग तुलना गर्दा कुरा बुझ्न सजिलो हुन्छ । ब्रह्माण्डमा प्रजापतिले संवत्सर (वर्ष) धारण गरेका छन् ।

त्यसैले उनलाई संवत्सर प्रजापति भन्ने गरिएको हो । यिनै भावनात्मक संवत्सर प्रजापतिले अयन, ऋतु, महिना, तिथि, बार, ग्रह, नक्षेत्र, राशि आदि सबैलाई समेटेर एकसूत्रको रुपमा धारण गरेका छन् । उनको यज्ञोपवीत नै यही हो । त्यसैले यज्ञोपवीतले यो ब्रह्माण्डको प्रतिनिधित्व गरेको हुन्छ ।

हामी रहेको पृथ्वीलाई आधार मान्दा संवत्सर प्रजापतिमा सूर्य शिर, अन्तरिक्ष हृदय र पृथ्वी कटिस्थान हो । सूर्यभन्दा तल मानौँ काँधदेखि अन्तरिक्ष (हृदय) हुँदै पृथ्वी (कटिस्थान) सम्म ग्रह, नक्षेत्र, राशि आदि सूत्रबद्ध गरी यज्ञोपवीतका रुपमा ब्रह्माले धारण गरेजस्तै हामीले यी सबैको प्रतीकको सूत्र (धागो) को यज्ञोपवीत अर्थात् जनै धारण गर्ने गरेका हौँ । त्यसैले यज्ञोपवीतलाई ब्रह्मसूत्र पनि भनिन्छ।

खोतल्दै जाने हो भने यस्ता कुरा कति भेटिन्छन् कति ! सूर्य दक्षिणायण (कर्कट रेखाभन्दा तल) हुँदा जनै दाहिने काँधमा र सूर्य उत्तरायण (मकर रेखाभन्दा माथि) हुँदा जनै देब्रे काँधमा अनि सूर्य भूमध्य रेखाको क्षेत्रमा हुँदा जनै कण्ठी (गलामा) गर्नुपर्ने हो । तर नेपाल–भूमिकै कुरा गर्दा यो नियम श्राद्धका समयमा मात्र लागू गर्ने गरेको देखिन्छ ।

यसरी प्राकृतिकरुपमा हुने समय परिवर्तन अनुसार हाम्रो शरीरमा पनि यज्ञोपवीतको स्थान परिवर्तन गर्नुपर्ने नियम कति वैज्ञानिक होला ? सोचनीय छ । हुन त स्वीट्जरल्यान्डका नागरिक रुडोल्फ होगरले नेपालमा समेत आएर अध्ययन गरी ‘द सेक्रेड थ्रेड’ नामको यज्ञोपवीतसम्बन्धी पुस्तक नै लेखेका छन्, जुन पुस्तक सन् २०१४ मा प्रकाशित भएको थियो।

उनले आफ्नो पुस्तकमा जनैको धार्मिक महत्वका साथै यसले मानिसमा पार्ने मनोवैज्ञानिक प्रभावका सकारात्मक पक्ष दर्शाएका छन् । तर नेपालमा यसबारे अनुसन्धान र बहस हुन सकेको देखिँदैन ।

(धर्म–विज्ञान पुस्तकबाट उद्धृत सानो अंश)