क्षति रोक्न पूर्वसतर्कता अत्यावश्यक



हिमताल फुटेर ताप्लेजुङको थामेले ठूलो विपत्तिको सामना गर्न पर्‍यो। हिमताल फुट्नाले अकस्मात् आएको बाढीले सिंगो बस्तीलाई क्षतविक्षत पार्‍यो। झन्डै ५० घरपरिवारले अकल्पनीय पीडा व्यहोर्नुपरेको छ। खाने अन्न र बस्ने बाससमेत गुमाउनुपरेको छ।

यस्तो अवस्थामा सरकारी निकायले तत्काल राहत उपलब्ध गराउन आफ्ना सबै संयन्त्रहरु परिचालन गर्नुपर्छ। शनिबार रक्षामन्त्रीलगायतको सरकारी टोली घटनास्थल पुगेर केही राहत सामग्री वितरण गरे पनि त्यो पर्याप्त छैन। पीडितहरुको पीडालाई सरकारले आत्मसात् गरी सो क्षेत्रमा विशेष राहत र पुनस्र्थापनाको कार्यक्रम सञ्चालन गर्नुपर्छ।

नेपालमा हिमाल स्रोत भएका वा हिउँ पग्लिएर बनेका हिमताल कुनै पनि बेला फुट्न सक्ने भन्दै यसअघि नै विज्ञहरुले सचेत पार्दै आइरहेका छन् । धन्न थामेमा आएको विपत्तिमा मानवीय क्षति हुन पाएन । हिमनदी, हिमताल र हिमाली हावापानीबारे अध्ययन गर्दै आइरहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडीपी) ले अघिल्लो वर्ष भदौमा सार्वजनिक गरेको एउटा अध्ययन रिपोर्टले नेपाल हिमताल र हिमनदीबाट ठूलो जोखिममा रहेको औँल्याएको थियो ।

इसिमोड र युएनडीपीले झन्डै तीन वर्ष लगाएर गरेको पछिल्लो अध्ययनमा नेपालमा रहेका कैयौँ हिमताल कुनै पनि समय फुट्न सक्ने भन्दै त्यस्ता हिमतालको पहिचानसमेत गरिएको छ। सो अध्ययनले नेपालभित्रै तथा चीन र भारतमा रहेर पनि मानव बस्तीलाई क्षति पुर्‍याउन सक्ने ३ हजार ६ सय २४ ग्लेसियर हिमताल पत्ता लगाएको छ। यसमध्ये कोशी बेसिन (जलाधार) अन्तर्गत धेरै हिमताल देखिएका छन्। कोशी बेसिनअन्तर्गत ६४ हिमताल भेटिएको छ। यस्तै, कर्णाली बेसिनमा १ हजार १ सय २८ र गण्डकी बेसिनमा ४ सय ३२ हिमताल जोखिममा छन्।

स्याटलाइट इमेज (भूउपग्रहमार्फत लिइएको तस्वीर) र अरू धेरै माध्यमबाट गरिएको अनुसन्धानले पनि ४७ वटा हिमताल कुनै पनि समय फुटेर नेपालतर्फको मानव बस्तीलाई ठूलो क्षति पुर्‍याउन सक्ने जोखिम औँल्याइएको छ । यसमा पनि कोशी बेसिनअन्तर्गत रहेका ४२ वटा हिमताल कुनै पनि समय फुट्ने उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउनसमेत इसिमोडले सरकार तथा सरोकारवाला निकायलाई सचेत पारेको छ ।

सरकारी निकायले पनि हिमतालका बारेमा छट्टै अध्ययन, अनुसन्धान गर्न जरुरी छ । तर अहिले भने इसिमोडकै अध्ययनलाई आधार मानी जोखिममा रहेका हिमताल फुटेर कुनै पनि बेला ल्याउन सक्ने विनाशलाई कमी गर्न सोही अनुसारका पूर्वतयारी र सोही अनुसारका योजनाहरु बनाउन अत्यावश्यक छ।

हिमताल फुटेर एकैपटक पानी बाहिरिँदा त्यसको असर कति टाढासम्म पर्न सक्छ र कहाँसम्मका बस्तीहरु प्रभावित हुन सक्छन् भन्ने बारेमा निक्र्यौल गरी त्यस्ता बस्तीहरुलाई सुरक्षितरुपमा स्थानान्तरण गराउन सरकारी पक्षले विशेष योजना, कार्यक्रम र बजेट तर्जुमा गर्न ढिलाइ गर्नुहुँदैन। अन्यथा भोलि जुनसुकै हिमताल पनि फुटेर त्यसले भयानक मानवीय र भौतिक क्षति गर्न सक्छ । त्यस्तो अवस्था आउन नदिन पनि अहिलेदेखि नै पूर्वसतर्कतासहितको विशेष योजना ल्याउनु अत्यावश्यक छ ।