‘सञ्चार सम्बद्ध संस्थालाई समावेशी चरित्रको बनाउनुपर्छ’


काठमाडौँ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली सञ्चार माध्यम तथा सञ्चार सम्बद्ध संघ संस्थालाई समावेशी चरित्रको बनाउन आफूले पहल गर्ने बताएका छन्।

नेवाः पत्रकार राष्ट्रिय दवु सम्बद्ध पत्रकारको आज ज्ञापनपत्र बुझ्दै उनले सो कुरा बताएका हुन् । नेपाली सञ्चार माध्यम तथा सञ्चार सम्बद्ध संघ संस्था समावेशी चरित्रको बन्न नसक्दा सबै समुदायको आवाजको प्रतिनिधित्व हुन नसकेको भन्दै उनले त्यसका लागि आफूले पहल गर्ने विश्वास दिलाए ।

दबूले आज नौ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सञ्चार सम्बद्ध संघ संस्थाको संरचना समावेशी चरित्रको बनाउन माग गरेको छ । प्रेस काउन्सिल, सूचना विभाग, न्यूनतम पारिश्रमिक निर्धारण समितिसहित सरकारी सञ्चार माध्यमको नेतृत्वमा समानुपातिक सहभागिताका आधारमा समावेशी बनाउन दबूले माग गरेको छ ।

सरकारले लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउँदा मातृभाषामा पनि सन्देश प्रवाह गर्न दबूले मन्त्री गुरुङको ध्यानाकर्षण गराएको छ । त्यस्तै, सञ्चार मन्त्रालयको तर्फबाट पत्रकार सम्बद्ध संघ संस्थालाई उपलब्ध गराइने अनुदानमा जातीय पत्रकार संघलाई पनि समेट्न दबूले माग गरेको छ ।

सो अवसरमा दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जगतमान वैद्य (धर्मादित्य धर्माचार्य) को नाममा हुलाक टिकट प्रकाशन गर्न माग गर्नुभयो । वि।सं। १९८२ सालमा पहिलो पटक वैद्यले नेपाल भाषामा ‘बुद्ध धर्म’ पत्रिका प्रकाशन गरेको इतिहास रहेको उनले बताए । कार्यक्रममा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, उपाध्यक्ष अमरध्वज लामा, दबूमा आवद्ध पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।