भ्रष्टाचार र राज्य दोहनविरुद्ध खबरदारी गर्छौ: पुन 


प्युठान। 

 नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले वर्तमान सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्नहरुलाई संरक्षण गर्ने नीति लिएको आरोप लगाएका छन् । 

पार्टी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तकारी प्यूठानको जिल्ला सम्मेलनलाई आइतबार खलंगामा सम्बोधन गर्दै पुनले सुरुआती कार्यशैलीले सरकार भ्रष्टाचारमैत्री देखिएको बताए । 

आफूहरूलाई सरकारमा जान कुनै हतारो नरहेको स्पष्ट गर्दै उनले भ्रष्टाचारविरुद्धको अभियानबाट सचेत भएका जनताको भावनाविपरीत सरकार अघि बढे जनताले विद्रोह गर्ने चेतावनी दिए । आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनको पक्षमा तथा भ्रष्टाचार र राज्य दोहनका विरुद्ध कठोर कदम चालेपछि आत्तिएका तत्वहरुले रातारात सरकार ढालेको उनको भनाइ थियो । 

‘हाम्रो अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले चलाएको सुशासनको अभियानलाई अनियमितता, राज्य दोहन र सरकारी सम्पत्ति कब्जा गरेर मोज गरिरहेका मानिसहरुले मन पराएनन्’, पुनले भने, ‘म यो सरकारलाई भन्न चाहन्छु हाम्रो पार्टी नेतृत्वको सरकारले थालेको भ्रष्टाचार र राज्य दोहनविरुद्धको अभियान नरोकियोस् ।’ 

पुनले भ्रष्टचार र राज्य दोहको प्रक्रिया नरोकिए नेपालमा ऋलंका र बंगलादेशको परिस्थिति आउन सक्नेतर्फ सचेत गराए । ‘हामीलाई सरकारमा जान कुनै हतारो छैन । तर, सुरुआत भएका राम्रा कामको निरन्तरताका लागि सरकारलाई खबरदार गर्न चाहन्छौं । सुशासन र समृद्धिको यात्रामा काम गर्दा सरकारलाई साथ दिन चाहन्छौं । भ्रष्टाचारीलाई संरक्षण गरिए  संसद र जनताका बीचमा रहेर खबरदारी गर्छौं’, उनले भने, ‘लोकतन्त्रको जननी मानिएको बेलायतमा १७ वर्षपछि लेबर पार्टीले चुनाव जितेर सरकारमा आउँदा अन्तोष विस्फोट भयो । बंगलादेशमा लगातार ४ पटक चुनाव जितेर सरकार चलाएकी सेख हसिानालाई जनताले किन लखेट्यो ? ऋलंकामा जनताको दुई तिहाई मत लिएर आएका प्रधानमन्त्री र राष्ट्रपति कसरी देश छाडेर भाग्नुप¥यो । जनताको शक्ति जागेपछि चुनावबाट जितेर आएको भन्ने नहुँदो रहेछ । यो विषयमा समयमै सचेत हुँदा राम्रो हुन्छ ।’ 

उनले राज्य सञ्चालनमा जनताको सहभागिता, समावेशीता र  फराकिलो लोकतान्त्रिक अभ्यासबिना राज्य सञ्चालनमा निर्वाचन जित्नुमात्र लोकतन्त्र होइन भन्ने दक्षिण एसिया र विश्वसका अरु देशहरुका घटनाक्रमबाट शिक्षा लिन सक्नुपर्ने औँल्याए । 

‘यदि नेपालमा पनि भ्रष्टाचार नियन्त्रण भएन, सुशासन कमजोर पारियो, समान ढंगले मानिसका पुहँच स्थापित बनाउन सकिएन, लोकतन्त्रलाई समावेशी र सहभागितामुलक बनाएर अफै फराकिलो बनाउन सकिएन भने जनताले विद्रोह गर्छ । बंगलादेशको अवस्था नेपालमा पनि नआउला भन्न सकिँदैन’, पुनले भने । नेता पुनले दुनियाँभरका लोकतन्त्रमाथि खतराको बादल मडारिएको र दक्षिण एसियामा निराशाको माहोल खडा गर्न दक्षिणपन्थी शक्तिहरु सक्रिय रहेको भन्दै सरकारमा र बाहिर रहेका सबै दल तथा आमनागरिक सचेत हुनुपर्ने उल्लेख गरे । 

फरक प्रसंगमा पुनले आफूले बजेटमार्फत विकास निर्माण तथा स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारिएका योजनाले निरन्तरता पाउने विश्वास व्यक्त गरे । यस्तै उनले अघिल्लो सरकारले सामाजिक सुरक्षा कोषलाई विस्तार गरी वैदेशिक रोजगारीमा रहेका र तथा अनौपचारिक क्षेत्रका मजदुरलाई समावेश गर्ने काम गरेको भन्दै त्यसबाट पछि हटे सरकारको खबरदारी गर्ने उल्लेख गरे ।