लोकतन्त्र स्थायित्वका लागि एमाले-कांग्रेस सहकार्य: महासचिव पोखरेल


काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा राजनीतिक स्थायित्व र स्थिरता दिन कांग्रेस–एमालेको संयुक्त सरकार बनेको बताएका छन्।

नेपाल राष्ट्रिय शिक्षक संगठनको २३ औँ राष्ट्रिय परिषद् बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक परिवर्तनको समयमा जति धेरै राजनीतिक दल भए पनि फरक नपर्ने भए पनि देश बनाउने कुरामा भने धेरै भन्दा बलिया राजनीतिक दल आवश्यक भएको बताए। संयुक्त मोर्चा बनाएर विकासे काम गर्न नसकिने पोखरेलले प्रष्ट पारे।

विश्वमा कतै पनि संयुक्त मोर्चा बनाएर देश विकासको काम नभएको उनको भनाइ थियो। देश विकासकाले लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक दल र राजनीतिक स्थायित्व आवश्यक पर्ने पोखरेलले प्रष्ट पारे। अहिले नेपालमा बलियो राजनीतिक शक्ति बन्नै नसकेको उनले बताए। बलियो राजनीतिक शक्ति नबन्दासम्म देशको विकास हुन नसक्ने पोखरेलले बताए। ‘कमजोरहरूले शासन गरेर देश बन्नेवाला छैन’, पोखरेलले भने।

देश र समुदायको हितका लागि बलिया संगठनको आवश्यक पर्ने उनले बताए। यही सोचका साथ नयाँ ढङ्गले अघि बढ्नु पर्ने पोखरेलको भनाइ छ । यही कुरालाई ध्यानमा राखेर देशका बलिया राजनीतिक दल एक ठाउँमा मिलेर सरकार बनाएका उनले स्पष्ट पारे। ‘दुईवटा ठुला दल मिलेर स्थायित्वको खोजीमा लागेका छौँ’, उनले भने।

लोकतन्त्र र स्थायित्वका आधार निर्माणको लागि कांग्रेस र एमाले एक ठाउँमा उभिएको उनले बताए। त्यो आधार निर्माण हुने बित्तिकै दुईवटा राजनीतिक दल स्वच्छ प्रतिस्पर्धामा उत्रिने पोखरेलको भनाइ छ। सामान्य अवस्थामा देशका दुई ठुला राजनीतिक दल मिल्ने कुरा उचित नभए पनि अहिले देश विशिष्ट अवस्थामा रहेको पोखरेलले बताए। राजनीतिक अस्थिरता, सामाजिक अराजकता, सामाजिक र मौलिक संस्कृति माथि तीव्र आक्रमण, कमजोर आर्थिक अवस्थाको कारण देश निक्कै कमजोर अवस्थामा रहेको उनको भनाइ छ।

देशलाई त्यसबाट मुक्त गराउन दुई ठुला दल मिल्नु परेको पोखरेलले बताए। पोखरेलले राजनीतिक रूपमा सचेत मानिसले मात्र शिक्षाको विकास गर्न सक्ने बताए। नेपालको इतिहासले पनि त्यो कुरालाई प्रमाणित गरेको उनको धारणा छ। समाजमा बन्न लागिरहेको नकारात्मक भाष्य चिर्ने काम पनि शिक्षकबाट नै सम्भव भएको उनले बताए। यसले शिक्षक आन्दोलनको गौरवलाई पुनः समाजमा स्थापित गर्ने उनले दाबी गरे।