साफ यू-२० च्याम्पियनसीप आजदेखि, उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै


काठमाडौं ।

आजदेखि यू २० साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता शुरु हुने भएको छ । भदौ १२ गतेसम्म चल्ने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको पनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाइसकेको छ।

प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ। प्रतियोगिताको अनुमानित बजेट ३ करोड १० लाख ५३ हजार ९ सय रुपियाँ रहेको एन्फाले सार्वजनिक गरेको छ।

यू २० साफ च्याम्पियनसिपमा ६ टिमको सहभागिता रहेको छ । यी टिमलाई दुई समूहमा बिभाजित गरिएअनुसार नेपाल समूह ए मा परेको छ । नेपालले बंगलादेश र श्रीलंकाविरुद्ध खेल्नेछ । यस्तै, समूह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । पाकिस्तानले भने भाग लिएन । प्रतियोगिताको पहिलो खेल नेपाल र श्रीलंकाबिच हुनेछ ।

नेपाली टिमका प्रशिक्षक उर्जन श्रेष्ठले उपाधि जित्ने बताएका छन् । उनले घरमै प्रतियोगिता आयोजना हुन भएको हुँदा उपाधि पनि घरमै राख्ने लक्ष्य लिएको बताएका थिए । उनले बताए—उपाधि अन्त जान दिने छैनौं ।

पछिल्ला तीन संस्करणमा भारत च्याम्पियन
नेपालले शुरुको दुई संस्करणमा उपाधि जिते पनि पछिल्ला तीन संस्करणमा भारतले वर्चश्व जमाएको छ। भारतले सन् २०१९ मा भएको साफ यू १८, सन् २०२२ मा भएको यू २० र २०२३ मा भएको यू १९ च्याम्पियनसिपको उपाधि जितेको थियो।

नेपालले सन् २०१५ मा यू १९ साफको नाममा नेपालमै आयोजना भएको उक्त प्रतियोगिताको उपाधि जितेको थियो । नेपालले फाइनलमा भारतलाई हराएको थियो । सन् २०१७ मा यस प्रतियोगिता यू १८ को नाममा आयोजना भएको थियो।
भुटानमा भएको उक्त प्रतियोगितामा नेपाल च्याम्पियन बनेको थियो।

५ टिम सहभागिता भएकोमा शीर्ष दुईमा नेपाल र बंगलादेश रहेका थिए । हेड टू हेडमा नेपालको अग्रता भएकोले उपाधि जित्न सफल भएको थियो । यो विभिन्न उमेर समूहको नाममा आयोजना भएको एउटै प्रतियोगिता हो ।
दशरथ रंगशालाबाट सारिएको
प्रतियोगिता पहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गर्ने निर्णय गरिएको थियो । तर, म्याच कमिसनरद्वारा निरीक्षणपश्चात प्रतियोगिताको भेन्यु सारिएको हो । एन्फाले जनाएअनुसार दशरथ रंगशाला मैदानको मर्मतसंभार राम्रोसँग नभएकोले खेलहरु एन्फा मैदानमै गरिनेछ । दशरथ रंगशाला हाल राष्ट्रिय खेलकुद परिषद्को अधिकारमा रहेको छ ।
यही मैदानमा भएको एएफसी च्यालेन्ज कपअन्तर्गत भुटानको पारो एफसी र नेपालको चर्च ब्वाइज युनाइटेडबिचको खेल वर्षापछि पुरै हिलाम्ये भएको थियो । यसले दुबै टिमका खेलाडीले खेल्न निकै मुश्किल भएको थियो । यसैले पनि दशरथ रंगशालामा खेलाउन ठिक नभएको बताइएको छ ।

नेपाली टिम
गोलकिपरमा जियारथ शेख, विशाल बिसी, कृशल मोक्तान
रक्षकमा अश्विन घोरासैनी, सीमान्त थापा, समिन घिमिरे, विक्रम तामाङ, मदन पौडेल, निन्साङ लिम्बु, राम थापा, आयुश तिम्सिना
मिडफिल्डरमा कप्तान कुशल देउवा, लक्षु थापा, अविनाश स्याङ्ताङ, जनप्रकाश बम, सरोज दर्लामी
स्ट्राइकरमा निराजन धामी, रोहन खड्गी, समीर तामाङ, अनिल बम्जन, धर्मेन्दर कुँवर, हरिशराज भट्ट र नीरज कार्की