चारवटा संवेदनशील विभागमा कस्ता महानिर्देशक आउलान् ?

सेटिङधारी कि इमानदार र कर्तव्यनिष्ठ ?


काठमाडौं ।

सरकारले बिहीबार पाँच दर्जन बढी सहसचिवको सरुवा गर्दा संवेदनशील मानिएका केही विभागका महानिर्देशकहरूसमेत हटाइएका छन्।

सो सरुवामा आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारी, भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला, राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढा र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमलप्रसाद भट्टराईको अन्यत्र सरुवा भएपछि ती सबै विभागहरू एकाएक नेतृत्वविहीन बन्न पुगेका छन्।

देशको राजस्व संकलनमा महत्वपूर्ण भूमिका खेल्ने आन्तरिक राजस्व विभाग, भन्सार विभाग, तथा राजस्व छली गर्नेहरूमाथि कारबाही गर्ने राजस्व अनुसन्धान विभाग र कालोधनलाई शुद्धीकरण गर्नेहरूको अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने महत्वपूर्ण भूमिका खेल्ने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा कस्तो नेतृत्व आउलान् ? सरकारले ती निकायमा पठाउने व्यक्तिहरूमा ‘हाम्रो मान्छे हेर्ला कि राम्रो मान्छे हेर्ला ?’ सुशासनविद्हरूको प्रश्न छ।

विगतका प्रायःजसो सबै सरकार र विभागीय मन्त्रीहरूले त्यस्ता संवेदनशील निकायमा महानिर्देशकहरू पठाउँदा खासै ध्यान पुर्‍याउन नसकेको देखिन्छ। यी चारमध्ये आन्तरिक राजस्व विभाग र भन्सार विभाग अर्थ मन्त्रालय मातहत रहेका छन् भने सम्पति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेका छन्।

देशमा राजस्व छलीको क्रम अत्यधिक छ । आन्तरिक राजस्व विभागले गत वर्ष मात्रै राजस्व छली गरेका १९८६ व्यापारीको पहिचान गरी उनीहरूलाई ११ अर्ब कर तिराउन सफल भएको थियो । यस्तै, राजस्व अनुसन्धान विभागले पनि गत वर्ष पनि राजस्व छली गर्नेहरूविरुद्ध ७ अर्बको मुद्दा दायर गर्न सफल भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि पछिल्ला समयमा कालो धन आर्जन गरी सेतो बनाउनेहरू माथिको अनुसन्धानलाई आक्रामक पार्दै आइरहेको थियो । यस्तो अवस्थामा एकाएक ती विभागको नेतृत्व हटाएर नयाँ नेतृत्व ल्याउन लागिएको हो । नयाँ नेतृत्वले यसअघिको नेतृत्वले भन्दा प्रभावकारी काम गर्नुपर्ने आवश्यकता बढेर गएको विभागकै कर्मचारीहरूको भनाइ छ ।

कर्मचारीहरूका अनुसार विभागमा आउने नेतृत्व इमान्दार, कर्तव्यनिष्ट र बिचौलियाबाट टाढा बसेर काम गर्न सकेमा राजस्व छली रोकिने तथा राजस्व उठ्ने क्रममा समेत वृद्धि आउनेछ । प्रधानमन्त्री तथा विभागीय मन्त्रीहरूले महानिर्देशकहरू पठाउँदा विगतमा राम्रा काम गरेका, इमानदार, पारदर्शी, बिचौलिया माफियालाई तिरस्कार गर्न सक्ने, उच्चस्तरको नैतिकता र आचरण भएका, सादा जीवन शैली अपनाउन सक्ने, २४ सै घण्टा खट्न सक्नेलगायतका गुणले युक्त भएका व्यक्तिलाई विभागको महानिर्देशकको रूपमा पठाउनुपर्ने सुझाव सरोकारवालाको छ ।

महानिर्देशक पठाउँदा यस्ता गुण भएका खोज्ने कि ?
–विगतमा केही राम्रा र उत्कृष्ट काम गरेको
–व्यापारिक हित समूह वा स्वार्थ समूहसँग साँठगाँठ नभएको
–देश र जनताको हितमा समर्पित हुन सक्ने, निःस्वार्थी
–निजीभन्दा सार्वजनिक हित प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेल्न सक्ने
–उच्चस्तरको नैतिकता र आचरण भएको
–राज्य कोषमा गिद्देदृष्टि नलगाउने र अथाह सुविधा नखोज्ने
–तडकभडक नअपनाई सादा जीवनशैली अपनाउने
–उच्च निर्णय क्षमता र सूचना प्रविधिमा राम्रो जानकार
–भ्रष्टचारको जालो बुझेर तोड्न सक्ने, माफियालाई तिरस्कार गर्न सक्ने
–विभागको सम्पूर्ण काममा कम्पन ल्याइदिन सक्ने
–जोखिम र चुनौती सहजै मोल्न सक्ने, जनप्रिय कार्यक्रम ल्याउन सक्ने
–काममा लचिलो, सरल व्यवहार र नतिजामा प्रतिबद्ध
–२४सैं घण्टा खट्न सक्ने (रेडी टु वर्क)
–भ्रष्टाचारमा शून्य सहनशीलता नीति मनैदेखि आत्मसात् गर्न सक्ने