दुई हिमताल फुट्दा थामेमा बाढी आएको पुष्टि

2.54k
Shares

–पीडितलाई राहत
–थप बाढीको खतरा छैन
–थामे बगरमा परिणत
–बिजुली नहुँदा अन्धकार

काठमाडौं ।

सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ थामेको बाढी २ वटा हिमताल फुटेर आएको पुष्टि भएको छ। बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा संघीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोलीले हेलिकोप्टरबाट गरेको अनुगमनका क्रममा हिमताल फुटेर बाढी आएको पुष्टि भएको हो।

अनुगमनपछि अब थप बाढीको कुनै खतरा नभएको रक्षामन्त्री राईले जानकारी दिनुभयो । सोलुखुम्बुको थामे खोलामा शुक्रवार लेदोसहितको बाढी आउँदा एक विद्यालयसहित १५ घर बगाएको थियो । झन्डै ५० घरपरिवार रहेको पर्यटकीय गाउँ थामे अहिले बगरमा परिणत भएको छ । विदेशी पर्यटकका लागि रोजाइमा परेको थामे गाउँ अब बगरमा परिणत भएपछि अहिले सो क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई स्थान्तरण गर्नुपर्ने सुझाव मन्त्री राईलाई विज्ञहरूले दिएका छन् ।

बाढीबाट प्रभावित अन्य ३१ घरपरिवारलाई प्रतिपरिवार १० हजार रुपियाँ गाउँपालिकाले राहतस्वरूप उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष मिङ्माछिरी शेर्पाले पीडितहरूको वर्गीकरण गरेर अन्य राहत दिइने बताउनुभयो । बस्तीदेखि माथिका हिमताल फुट्दा बाढी आएको र शनिवार हेलिकोप्टरबाट अवलोकन गर्दा अरू तालहरू फुटेर तत्काल बाढी आउने जोखिम नदेखिएको गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

खण्डहरमा परिणत भएको सो स्थानमा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । मन्त्री राईसहितको टोलीले बाढीबाट पीडितलाई केही मात्रामा भए पनि राहत उपलब्ध गराएको छ । बाढीबाट पीडित झन्डै १ सयजना अहिले नजिकैको सामुदायिक भवनमा सारिएको छ। नेपाली सेनासहितको सुरक्षा फौज र स्थानीय जनप्रतिनिधिको सहयोगमा त्यस क्षेत्रमा उद्धार र राहतको काम भइरहेको सैनिक मुख्यालयले जानकारी दिएको छ।

थामे बजारभन्दा माथि रहेको हिमपोखरी फुटेको र लेदोसहितको बाढी आएको त्यहाँको विद्यालयमा अध्ययनरत एक विद्यार्थीले देखेपछि गाउँलेलाई खबर गरेका थिए । गाउँलेहरू त्यहाँबाट भागेर आफ्ूलाई सुरक्षित गराएको भए पनि धन सम्पत्ति भने केही जोगाउन असफल भएको पेम्बा शेर्पाले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । ‘बाढी आएको भन्ने सूचना पाएपछि हामी त्यहाँबाट भागेर सुरक्षित स्थानतर्फ लाग्यौं तर हाम्रो घरभित्र भएको केही पनि निकाल्न सकेनौं’ –उहाँले भन्नुभयो ।

सो क्षेत्रमा भौतिक क्षति कति भएको छ भन्नेबारेमा अहिले संघ, प्रदेश र स्थानीय सरकारले विवरण संकलन गर्ने काम शुरू गरेको छ। बाढीले पूर्ण रूपमा क्षति भएका १३ घरपरिवारलाई सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् जिल्ला दैविक प्रकोप उद्धार कोषबाट प्रतिघर नगद १५ हजार र ३ वटाका दरले त्रिपाल वितरण गर्नुका साथै खुम्बु पासाङल्हामु गाउँपालिकाको तर्फबाट ५० हजारका दरले राहत वितरण गरिएको पनि सेनाले जानकारी दिएको छ।

बाढीका कारण अलपत्र परेका ७ स्थानीयलाई शनिवार अस्थायी पुल निर्माण गरेर सकुशल उद्धार गरिएको पनि सेनाले जानकारी दिएको छ। त्यसै गरी बाढीका कारण अवरुद्ध खुम्बु बिजुली कम्पनीको पावर हाउस, खानेपानी लाइन, बाटो मर्मत कार्य, क्षतिग्रस्त विद्यालय तथा घरमा भएका सामग्रीहरू सुरक्षित स्थानमा सार्ने कार्यसमेत भइरहेको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले जानकारी दिनुभयो।

बाढी गएको क्षेत्रमा स्थलगत भ्रमणमा जानुभएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले सो क्षेत्रमा रहेका हिमतालको बारेमा अध्ययन गर्नुपर्ने र जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गर्न संघीय सरकारलाई आग्रहसमेत गर्नुभएको छ।

हिमनदी पग्लने क्रम बढिरहेको र नयाँ तालहरू बन्ने क्रम बढिरहेकाले कैयौँ हिमताल फुट्ने जोखिम बढेकाले यसको जोखिम न्यूनीकरणका लागि निरन्तरको अनुगमनबाहेक अर्को विकल्प नभएको पोखरेलले बताउनुभयो। पूर्वसूचना प्रणालीको विकास र जोखिम कम गर्ने अन्य उपायहरू अपनाउनुपर्ने बेला आइसकेको पनि पोखरेलले बताउनुभयो।

जोखिममा नेपालका हिमताल

नेपालका हिमतालहरू जोखिममा रहेका छन् । जलवायु परिवर्तनसँगै तापमान वृद्धिका कारण नेपालका हिमताल तथा हिमशृंखलाहरू जोखिममा रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले चेतावनी दिएको छ।
इसिमोडले यो चेतावनी दिएको पनि वर्षौं भइसक्यो तर नेपाल सरकारले यसको अध्ययन अनुसन्धान गर्नेतर्फ ध्यान नदिएको आरोप जलवायु विज्ञहरूले लगाउँदै आएका छन्।

हिममात तथा हिमशृंखलाहरूको बारेमा अध्ययन गर्दै आएका अन्तर्राष्ट्रिय संस्थाहरूले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले नेपाल, तिब्बत र भारतमा रहेका ४७ वटा हिमतालहरू जुनसुकै बेला पनि विस्फोट हुन सक्ने भएकाले सचेत रहनुपर्ने निष्कर्ष निकालेको थियो।

हिमालय क्षेत्रबारे काम गर्ने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को प्रतिवेदनमा ती हिमतालहरू फुट्न सक्ने जोखिम देखिएको हो। त्यसमध्ये नेपालका च्छोरोल्पा र इम्जा हिमताल सबैभन्दा बढी सम्भावित खतरनाक रहेको इसिमोडले जनाएको छ।

४७ वटा सम्भावित खतरनाक हिमतालहरूमध्ये सबैभन्दा बढी कोशी बेसिनमा रहेका छन्। तीनवटा गण्डकी र दुईवटा कर्णाली बेसिनका हिमताल पनि खतराको सूचीमा रहेको इसिमोडले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

खतरनाक हिमतालमध्ये सबैभन्दा धेरै २५ वटा चीनको स्वाशासित क्षेत्र तिब्बतमा रहेको छ। त्यस्तै, नेपालमा २१ वटा र भारतमा एउटा यस्ता हिमतालहरू खतराको सूचीमा रहेको पनि इसिमोडले जनाएको छ।

कति भेटिए हिमताल

हिमतालको बारेमा अध्ययन गरिरहेको इसिमोड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) कोशी, गण्डकी र कर्णाली बेसिनमा ३ हजार ६ सय २४ वटा हिमताल रहेको बताएको छ।

त्यसमध्ये २ हजार ७० वटा नेपाल, १ हजार ५ सय ९ वटा तिब्बत र ४५ वटा भारतमा रहेका छन् । तीमध्ये १ हजार ४ सय १० हिमताल शून्य दशमलव २ वर्गकिलोमिटर वा त्योभन्दा ठूला रहेको पनि इसिमोडले जनाएको छ ।