बाढी प्रभावित  क्षेत्रको निरीक्षण गरी रक्षामन्त्री नेतृत्वको टोली फर्कियो 


काठमाडौँ।

शुक्रबार सोलुखुम्बुको खुम्बु पासाङल्हामु गा.पा. वडा नं. ५ थामे गाउँमा अचानक आएको बाढीका कारण प्रभावित ईलाकाको स्थलगत निरीक्षणका लागि राहत सामग्री सहित आज (शनिबार ) रक्षामन्त्री मानवीर राई नेतृत्वको टोली नेपाली सेनाको हेलिकप्टर मार्फत घटनास्थलमा पुगी निरीक्षण तथा जानकारी लिएर फिर्ता भएको छ ।

निरीक्षण टोलीमा राष्ट्रिय सभाका सांसद सोनाम ग्याल्जेन शेर्पा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल, श्री युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारी, प्रदेश तथा स्थानीय निकायका पदाधिकारीहरु सहभागी थिए ।

निरीक्षणका क्रममा रक्षामन्त्रीलाई नेपाली सेनाले घटनाको वस्तुस्थिति बारे जानकारी गराएको थियो । सो क्रममा उनले स्थानीयहरूसँग अन्तरक्रिया समेत गरेका थिए।

उक्त बाढीले पूर्ण रूपमा क्षति भएका १३ घर परिवारलाई सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत जिल्ला दैविक प्रकोप उद्धार कोषबाट प्रति घर नगद १५,००० (पन्ध्र हजार) र ३ वटाका दरले त्रिपाल वितरण गर्नुका साथै खुम्बु पासाङल्हामु गा.पा. का तर्फबाट नगद ५०,००० (पचास हजार) का दरले तत्काल राहत वितरण गरिएको छ ।

साथै, नेपाली सेना तथा अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा आज प्रभावित ईलाकामा अस्थायी पुल निर्माण गरी खोला पारी रहेका ७ जनालाई सकुशल उद्धार पश्चात सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको बताइएको छ ।त्यस्तै बाढीका कारण अवरुद्ध खुम्बु विजुली कम्पनीको पावर हाउस, खानेपानी लाइन, बाटो मर्मत कार्य, क्षतिग्रस्त विद्यालय तथा घर‌मा भएका सामाग्रीहरू सुरक्षित स्थानमा सार्ने कार्य समेत भइरहेको छ ।