गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ, मुद्दा चलाउने तयारी


काठमाडौँ।
भक्तपुरको गट्ठाघरमा बिहीबार भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। दोलखाको मेलुङ गाउँपालिका( ४ का करिब ३० वर्षीय शम्भु नेपालीलाई गएराति प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ ।

पक्राउ परेका उनी अहिले ठिमी प्रहरीको नियन्त्रणमा छन्। उनले मृतकलाई किन आफ्नी बहिनी भने भन्ने नखुलेको प्रहरीको भनाइ छ ।

बिहीबार दिउँसो घटनास्थलमै पुगेर उनले मृतक महिला आफ्नी बहिनी हुन् भन्ने दाबी गरेपछि उनी घटनास्थलबाट हिँडेका थिए। तर, मृतक भनिएकी व्यक्तिले आफू जिवित रहेको भन्दै प्रहरीलाई सम्पर्क गरेपछि प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।

बिहीबार दिउँसो गट्ठाघरमा बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो । सुरुमा प्रहरीले मृतकलाई महिला भन्दै घटना विवरण सार्वजनिक गरेको थियो।

पछि अनुसन्धानको क्रममा मृतक महिला नभएर पुरुष भएको खुलेको थियो। घटनामा परी ओखलढुंगाका ६५ वर्षिय उत्तम कोइरालाको निधन भएको पुष्टि भएको छ ।

मृतकको साथमा उत्तम कोइराला, ओखलढुंगा रातमाटे- ५ लेखिएको सवारी लाइसेन्स फेला परेको थियो । सोही आधारमा खोजी गर्दा उनका आफन्तले आज शवको सनाखत गरेका हुन् ।