नवौंमा पदक जितेकाले २ वर्षपछि रकम पाउने


हेटौंडा ।

गण्डकी प्रदेशमा सम्पन्न नवौंं राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशबाट पदक जितेका खेलाडीले प्रोत्साहन पुरस्कार प्राप्त गर्ने भएका छन्। प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई नगदसहित पुरस्कार गर्न लागिएको जानकारी दिए।

२०७९ सालमा प्रतियोगिता सम्पन्न भएपश्चात् तत्कालीन खेलकुद मन्त्री रत्नप्रसाद ढकालले पदक प्राप्त खेलाडीलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेका थिए। ‘हामी १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताअगावै खेलाडीहरुलाई पुरस्कार बाँड्छौं,’ मन्त्री महर्जनले बताए।

मन्त्रालयले स्वर्ण विजेता खेलाडीलाई जनही १ लाख, रजत विजेतालाई जनही ७५ हजार र कास्य पदक विजेतालाई जनही ५० हजारसहित सम्मान गर्ने निर्णय गरेको थियो। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले उक्त राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको यति लामो अवधिसम्म पनि प्रदेश सरकारबाट पूर्वघोषित सम्मान प्राप्त नभएको भनी खेलाडीहरुको बारम्बार गुनासो आइरहेको छ।

पदक प्राप्त खेलाडीमा निराशाजनक अवस्था सिर्जना भएको भन्दै निकट भविष्य हुने १० औं राष्ट्रिय खेलकुदअगावै उक्त पूर्वघोषित नगद पुरस्कार दिएर खेलाडीलाई प्रोत्साहन गर्नु पर्ने र १० औंमा बढी पदक प्राप्त गर्न सकिने सम्भावना भएको सम्बन्धित मन्त्रीलाई पत्र दिएर आग्रह गरेको थियो।

बिहीबार नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ केन्द्रीय सदस्य अजित गुरुङ नेतृत्वको समूहले खेलाडीहरुलाई निराश बनाउन नहुने पुरस्कार वितरण गर्न अनुरोध गरेको थियो। अघिल्लो आर्थिक वर्षमा खेलकुद मन्त्रालयले पुरस्कार प्रदानका लागि २ करोड २४ लाखका लागि अर्थ मन्त्रालयसँग सहमति मागेको थियो। तर, सहमति आएन।