डेब्यूमै एमबाप्पेको गोलले रियललाई सुपर कप


एजेन्सी ।

केलियन एम्बाप्पेले डेब्यू खेलमै गोल गरेपछि स्पेनिस क्लब रियल मड्रिडले नयाँ सिजन २०२४–२५ को युईएफए सुपर कप फुटबलको उपाधि जितेको छ।

पोल्यान्डको राजधानी वार्सअमा बुधवार राति भएको उक्त खेलमा रियलले इटालीको एटलान्टालाई २–० गोलअन्तरले सहजै हराएर नयाँ सिजनको पहिलो खेलमै सुखद नतिजा आत्मसात गरेको हो।

सुपर कप रियलले खेलेको यस सिजनको पहिलो प्रतियोगिता र पहिलो खेल हो। पहिलो खेलमा नै गत सिजनको च्याम्पियन्स लिग विजेता रियल मेड्रिड र युरोपा लिगको विजेता एटलान्टाले यस सिजनको सुपर कपमा भिडेका थिए। जसमा रियले एकपक्षीय नतिजा निकाल्दै उपाधि चुम्न सफल भयो।

सो खेलमा रियलका नयाँ खेलाडी केलियन एमबाप्पेका लागि डेब्यू खेल थियो । फ्री ट्रान्सफरमा रियलमा अनुबन्ध भएका २४ वर्षीय फ्रेन्च स्टारले आफ्नो सपनाको क्लबमा डेब्यू खेल खेल्दा उपाधि मात्रै जितेनन्, पहिलो र फाइनल खेलमा गोल समेत गरेर आफ्नो डेब्यूलाई स्मरणीय बनाउन सफल भए। यही लक्ष्यका साथ एमबाप्पेले सुरुआती ११ बाटै एटलान्टाविरुद्ध खेलेका थिए। पहिलो हाफमा केही असहज देखिएका एमबाप्पेले दोस्रो हाफमा गोल गर्दै टिमको जितमा सम्झनलायक योगदान गरे।

पोल्यान्डमा भएको उक्त सुपर कपको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । रियलले दुई वटै गोल दोस्रो हाफमा १० मिनेटभित्र गर्न सफल भयो । ५९औं मिनेटमा फेड्रिको भाल्भर्डेले गोल गरेर रियललाई अग्रता दिलाएका थिए । उनको गोलमा भिनिसियस जुनियरले उत्कृष्ट क्रस पास मिलाएका थिए, जसमा भाल्भर्डेले वान टचमै बलाई पोस्टको दिशा दिएर टिमको खाता खोले । त्यसपछि ६८औं मिनेटमा नयाँ खेलाडी एमबाप्पेले शानदार गोल गरे । जुड बेलिङ्घम र भिनिसियस जुनियरले सिर्जना गरेको अवसरमा एमबाप्पेले पेनाल्टी बक्स अघिबाट कडा सटमा बललाई जाली चुमाए ।

त्यसपछि बाँकी समयभरि दुवै तर्फबाट थप गोल हुन सकेन र रियल मेड्रिडले खेल २–० ले जित्दै उपाधि चुम्न सफल भयो । यससँगै रियल युईएफए सुपर कपको उपाधि सबैभन्दा धेरै ६ पटक जित्न सफल भएको छ । यसअघि बार्सिलोना र रियल मेड्रिड दुवैका नाममा समान पाँच–पाँच उपाधि थियो । रियल अब यो प्रतियोगिता सबैभन्दा धेरैपटक जित्ने क्लब बनेको छ । गत सिजन रियलले ह्याट्रिक उपाधि जितेर सिजनलाई शानदार बनाएको थियो । यसपाली रियलले पहिलो प्रतियोगिताबाटै सुपर कप जितेर उपाधिका साथ नयाँ सिजनको सुरुआत गर्न सफल भएको छ ।
रियल मेड्रिड
युईएफए सुपरकप उपाधि :२००२, २०१४, २०१६, २०१७, २०२२ र २०२४
सुपरकपमा उपविजेताः १९९८, २००० र २०१८