वीर हनुमानका विभिन्न रुपका पूजा

1.41k
Shares



वीर हनुमानका विभिन्न रुप र विभिन्न क्रियाकलापहरु छन्। हनुमानको पूजा गर्दा विभिन्न उद्देश्य र फलका लागि संकल्प गरिएको हुन्छ। जुन भक्तहरुलाई जुन किसिमको सहयोग र फल चाहिएको हो सोही अनुरुप भक्तले विभिन्न रुपमध्ये हनुमानको एक रुपलाई पूजा–आराधना गर्नुपर्ने हुन्छ । सोही कुरालाई ध्यानमा राखेर यहाँ हनुमानका विभिन्न रुप एवं अवतारको उल्लेख गरेको छु।

पूर्वमुखी हनुमान : पूर्वतर्फ मुख गरेका हनुमानलाई बानरको रुपमा पूजा गरिन्छ। यो रुपवाला हनुमानलाई ज्यादै शक्तिशाली र करोडौं सूर्यको तेजसमान मानिन्छ। शत्रुहरुको नाशका लागि बजरंगबली मानिन्छ। यदि दुश्मनले दुःख दिइरहेको र सताइरहेको छ भने पूर्वमुखी हनुमानको पूजा गर्न थाल्नुस्।

पश्चिममुखी हनुमान : पश्चिमतर्फ मुख भएको हनुमानलाई गरुडको रुप मानिन्छ। यस रुपलाई संकटमोचनको रुपमा मानिन्छ। भगवान् विष्णुको बाहन गरुड अमर छन् । उनैको समान पश्चिममुखी बजरंगबली हनुमान पनि अमर छन्।

उत्तरमुखी हनुमान : उत्तर दिशातर्फ मुख भएको हनुमानको पूजा मकरको रुपमा गरिन्छ । उत्तर र पूर्वबीचको दिशा अर्थात् ईशान कोण देवताहरुको दिशा हो । यसतर्फ फर्केको भगवान्लाई पूजा गर्दा धनदौलत, ऐश्वर्य, प्रतिष्ठा, दीर्घायुका साथै रोगमुक्त भइन्छ भन्ने भनाइ छ ।

दक्षिणमुखी हनुमान : दक्षिणमुखी हनुमानलाई भगवान् नृसिंहको रुप मानिन्छ । दक्षिण दिशामुखी हनुमानको पूजा–आराधना गर्नाले डर, चिन्ता र विभिन्न समस्याबाट मुक्ति पाइन्छ । दक्षिणमुखी हनुमानले खराब शक्तिबाट बचाउँछन् ।

उध्र्वमुखी हनुमान : उध्र्वमुखी हनुमानलाई उध्र्वमुख रुप अर्थात् घोडाको रुप मानिन्छ । यस रुपको हनुमानलाई पूजा गर्दा दुश्मनहरु र संकटबाट मुक्ति पाइने विश्वास गरिन्छ । ब्रह्माले विष्णु भगवान्लाई आग्रह गरेबमोजिम यो रुपको धारण गरेर हयग्रीव दैत्यको संहार गर्नुभएको थियो । त्यसैले आकाशतर्फ फर्केको मुखरुपी हनुमानलाई हयग्रीव हनुमान पनि भनिन्छ ।

पञ्चमुखी हनुमान : पञ्चमुखी हनुमानको पाँच रुपको पूजा गरिन्छ । एउटै शिरमा पाँचवटा शिर भएको हनुमानको मूर्ति जताततै देख्न पाइन्छ । हरेक मुख भिन्नाभिन्नै शक्तिको परिचायक हुन्। रावणले जब छल गरेर राम र लक्ष्मणलाई बन्धक बनाई पातालमा लगेका थिए, तब हनुमानले पञ्चमुखी रुपधारण गरेर राम र लक्ष्मणलाई मुक्त गरेका थिए। उत्तर दिशामा बराहमुखी, दक्षिण दिशामा नरसिंहमुखी, पश्चिममा गरुडमुखी, आकाशतर्फ हयग्रीव र पूर्व दिशामा हनुमानमुखी भएर विराजित हुनुभएको हो।

एकादशी हनुमान : यो एकादशी हनुमानको रुपलाई भगवान् शिवको स्वरुप मानिन्छ। एकादश रुप रुद्र अर्थात् शिवको एघारौं अवतार हो । एघारमुखी कालकार राक्षसको संहार गर्न भगवान् शिवले एकादश मुख रुद्रको रुपधारण गरेका थिए । चैत्र पूर्णिमा अर्थात् हनुमान जयन्तीकै दिन त्यस राक्षसको वध गरिएको थियो । भक्तजनहरुले एकादशी र पञ्चमुखी हनुमानको पूजा पनि एकैसाथ गरी मनाउँछन् ।

वीर हनुमान : वीर हनुमानको स्वरुपलाई भक्तजनले साहस र आत्मविश्वासको रुप मान्छन्। यस रुपलाई भगवान्को बल, साहस मानिन्छ अनि भक्तजनको कष्ट क्षणमै दूर गरिदिन्छन् भन्ने मान्यता रही आएको छ।

भक्त हनुमान : हनुमानको यो स्वरुप भगवान् श्रीरामको भक्तकै हो। यिनको पूजा गर्दा भगवान् श्रीरामको आशिर्वाद मिल्छ भन्ने मान्यता छ। बजरंगबलीको पूजा गर्दा विभिन्न बाधा–अड्चन हट्ने हुन्छ। साथै यो पूजाले भक्तजनमा एकाग्रता र भक्तिको भावना जागृत हुन्छ भने श्रद्धाभाव पनि बढाउँछ ।

दश हनुमान : बजरंगबलीको यो स्वरुपलाई भगवान् श्रीरामप्रति उनको अनन्य भक्ति दर्शाउँछ । यो दश हनुमान स्वरुपको पूजा गर्ने भक्तजनहरुको धर्म, कर्म र नाता–कुटुम्बहरुसँगको व्यवहारमा निपूणता हासिल गर्न सकिने हुन्छ । साथै भक्तजनले यो स्वरुपको पूजा गर्नाले सेवा र समर्पणको भाव पनि प्राप्त गर्न सक्छन् ।

सूर्यमुखी हनुमान : यो स्वरुप भगवान् सूर्यको मानिन्छ। सूर्यदेव हनुमानको गुरु मानिन्छ। यो स्वरुपको पूजा–आराधनाले ज्ञान, प्रतिष्ठा, प्रसिद्धि र उन्नतिको बाटो खुल्छ । किनभने हनुमानको गुरु सूर्य आफ्नै यिनै शक्तिका लागि प्रख्यात छन्।