संसारमा भगवान्प्रति आस्था राख्ने आस्तिकहरु धेरै हुन्छन् भने नास्तिकहरु पनि उत्तिकै हुन्छन् । फरक यत्ति मात्र हो कि मानिसको उमेर ढल्दै गएपछि उसले भगवान्प्रति विश्वास गर्दै जाने हो । त्यति बेला उसले सोच्ने गर्दछ– मानिसको इच्छाअनुसार केही नहुने रहेछ । जीवन एकनाटक मात्र हो र यसलाई चलाउने माथिको मात्र हो । त्यसकारण सधैँ अरुलाई दोष मात्र पनि नदिऊँ, बरु आफूमा खोट, कमजोरी, गल्ती छ भने बदल्ने हो । सकिन्छ भने केही राम्रो कर्म गर्ने हो । यसले नै व्यक्ति, समाज, देशको भलो हुनेछ ।
अहिले देशमा लोकतन्त्र आएको पनि चार दशक भइसक्यो तर जनता प्रायः खुशी छैनन् । कारण सुस्त विकास अनि मुलुकमा शान्ति हुन सकेको छैन । तैपनि मुलुकमा किन हो संघीयता प्रणाली ल्याएको छ। यसबाहेक धेरै मन्त्री, सांसद, सरकारी कर्मचारीहरु मुलुकको लागि भार भएका छन् । हाम्रो जस्तो सानो मुलुकको लागि यत्रो संख्या खासै जरुरी होइन। एकतर्फबाट हेर्ने हो भने यो पनि देशमा सोझाहरुलाई सही ट्रयाकमा ल्याउन ईश्वरले बनाएको एउटा अस्थायी नाटकजस्तो पनि लाग्छ। त्यसकारण भविष्यमा यसको आयु कति हो ? कसैलाई थाहा छैन ।
अहिले सुस्त अर्थतन्त्रले गर्दा सबैलाई टेन्सनको विषय बनेको छ । यहाँ भ्रष्टाचार, पैसाको लागि गलत कामहरु रोकिएको छैन । अकुत पैसा कमाउने अझै फेसनसरह भइराखेको छ, जुन मानिसले निर्धक्क साथ गरिराखेका छन् । यसका लागि मानिसहरु मर्ने, मार्ने, झुटो बोल्ने, चाकडी गर्नेजस्ता कुराहरु साधारण भएका छन् । ताज्जुबको कुरा यो छ कि जतिसुकै गलत कार्य मुलुकमा घटिराखे पनि देश चलाउनेहरु लाटोले केरा हेरेसरह बसिराखेका हुन्छन् । यसको मुख्य कारण जाँगर नहुनु, इच्छाशक्ति नहुनु, केही आर्थिक लोभ र स्वार्थ नै हुनुपर्छ। साथै ज्ञानको कमी पनि हो। त्यसमाथि मानिसहरु यो किन सोच्दैनन् कि यस्ता गलत कर्मको संस्कार अपनाउनाले व्यक्ति, समाज, देश तथा आफ्ना पुस्तालाई नोक्सान नै गर्ने गरिराखेको हुन्छ। यस्तो अवस्थामा सरकार तथा प्रत्येक नागरिक बदलिनु जरुरी छ। अनि मात्र मुलुकको भविष्य राम्रो भएर देश अघि बढ्ने हो।
कति नेता र देश चलाउनेहरुलाई मात्र गाली गर्ने, अपशब्द बोल्ने र छाडा बोल्ने हो ? व्यापारी, कर्मचारी, बिचौलिया, कालो बजारीहरुलाई नै हेरौं न, यिनीहरु नसुध्रनाले पनि देशको हालत खराब भइसकेको मान्न सकिन्छ । यस्ता प्राणीहरु सुध्रने हो भने हाम्रो आउने पुस्ताको भविष्य पनि राम्रो हुनेछ । यी कुराका लागि पनि हरेक मानिस बदलिनु आजको आवश्यकता हो। अहिलेको परिप्रेक्ष्यमा देश चलाउनेहरुलाई यो भ्रम भइराखेको छ कि मुलुकले विकासको धेरै फड्को मारेको छ। यो कुरा केही सही पनि होला । देशको परिस्थितिलाई हेर्दा देशको अर्थतन्त्र सुधार्नु, आयस्रोत बढाउनु, महँगी तथा मानिसको कष्टकर जीवनलाई नियाल्नु देश चलाउनेहरुको प्रथम कर्तव्य हो।
यस्तो बेला नेपालमा धेरै विकास भइसकेको छ भन्न मिल्दैन । अर्को कुरा, पेट भोको तर सुट लगाउने चाहना अहिले देशको फेसन भइराखेको छ । अहिलेको घडीमा देश विकासको धेरै नखरा गरेर अनावश्यक राष्ट्रधनको चुहावट गर्नुभन्दा पहिला जनतालाई सस्तो र सुलभ आवश्यक सामग्रीसहित सेवा दिएर देशलाई नै रमाइलो बनाउने हो । बाँकी विकास कार्यहरु बिस्तारै हुँदै गर्दछ । त्यस्तै विदेशी ऋण मात्र थोपरेर किन अहिले नै यो देशमा द्रुत विकास गर्नुपरेको छ ? देश चलाउनेहरु यसप्रति गम्भीर हुनु जरुरी छ । बिस्तारै विदेशी ऋण तिर्दै जाने हो, जसले देश र जनतालाई स्वाभिमानी बनाउनेछ ।
अहिले देशको आर्थिक अवस्था नाजुक छ । देश चलाउनेहरुलाई चिन्ता नभए पनि सर्वसाधारणलाई यसको चिन्ता छ । वास्तवमा भन्ने हो भने, महँगी नियन्त्रण गर्न नसक्नु, रोजगार सृजनालाई वृद्धि गर्न नसक्नु, वैदेशिक रोजगारलाई नियन्त्रण गर्न नसक्नु तथा चाकडी प्रथालाई रोकेर राजनीतिक क्षेत्रलाई चुस्त बनाउन नसक्नु नै देशको दुःखदायी कहानी हो । यी सब कारणले सोझा नेपालीले समेत अपराध, असभ्य र छाडा संस्कारलाई अँगाल्दै हिँडेका छन्।
खराब, एकोहोरा, घमण्डी नेताहरुलाई मतलब छैन। न त आफू बदलिन कोशिश नै गर्छन् । अब यसो हुनु भएन कि यिनीहरु सुध्रनुपर्यो वा यिनीहरुलाई कडा सबक दिनुपर्यो। यदि यसबाट पनि भएन भने विदेशको फर्मुला अपनाउने हो अनि मात्र मुलुक सही ट्रयाकमा आउनेछ। अन्त्यमा प्रभुसँग एउटा नै बिन्ती छ– यहाँ मानिसलाई यति काम नलाग्ने नबनाउनुस् कि देश चलाउनेहरुले जे गरे पनि सहेर बस्ने । अर्को कुरा देश चलाउनेहरुलाई यति निकम्मा पनि नबनाउनुस्, जसले गर्दा भोलि विदेशी नेताको जस्तो हालत नहोस् ।
प्रतिक्रिया