गतवर्ष मन्त्री सचिवको कार्यसम्पादन कमजोर, किन बाँकी रहे १७४५ माइलस्टोन र ९२८ क्रियाकलाप ?


–प्रधानमन्त्रीले उठाए प्रश्न
–छिट्टै प्रधानमन्त्री र मन्त्रीबीच कार्यसम्पादन सम्झौता हुने
–१०० दिनभित्र गरिने मुख्य मुख्य कामबारे गम्भीर छलफल

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सरकारका सबै मन्त्री र सचिवलाई सँगै राखेर गत वर्ष विभिन्न सरकारी निकायले तय गरेका माइलस्टोन र क्रियाकलापका बारेमा सोधीखोजी गर्नुका साथै पूरा नभएका माइलस्टोन र क्रियाकलापका बारेमा प्रश्न उठाउनुभएको छ।

गत वर्ष सबै मन्त्रालयहरूका गरी ३४२१ माइलस्टोन र १६ सय क्रियाकलाप तय गरिएको थियो । तर, त्यसरी तय भएका माइलस्टोन र क्रियाकलाप आधा पनि पूरा नभएको पाइएपछि प्रधानमन्त्रीले मन्त्रालयका सचिवहरूसँग प्रश्न उठाउनुभएको हो।

‘पूरा भएकाहरू ठिकै छन्, तर पूरा नभएका माइलस्टोन र क्रियाकलापहरू किन पूरा भएनन् भन्नेबारेमा गम्भीर समीक्षा गर्नुपर्छ’ –प्रधानमन्त्रीले मन्त्री तथा सचिवहरूको गम्भीर ध्यानाकृष्ट गराउँदै भन्नुभयो। उहाँले आगामी दिनमा तय गरेका माइलस्टोन र क्रियाकलापमध्ये धेरैभन्दा धेरै पूरा हुनुपर्ने परिणाम दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

गत वर्ष ३ हजार ४ सय २१ माइलस्टोन निर्धारण गरिएकोमा १६ सय ७६ माइलस्टोन पूरा भएका थिए भने १७ सय ४५ माइलस्टोन पूरा हुन सकेका थिएनन् । यसै गरी गत वर्ष तय गरिएका १६ सय क्रियाकलापमध्ये ६ सय ७२ क्रियाकलाप पूरा भएका थिए भने ९ सय २८ क्रियाकलाप पूरा हुन सकेका थिएनन् । जसका कारण गत वर्ष अधिकांश मन्त्रालयका मन्त्री र सचिवको कार्यसम्पादन कमजोर रहेको देखिएको छ ।

कार्यक्रममा गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य मुख्य कामबारे समेत गम्भीर छलफल भएको थियो। छलफल झन्डै ६ घण्टासम्म चलेको थियो । सचिवहरूले मन्त्रालयले गर्ने भाबी योजना र कार्यक्रमका बारेमा जानकारी गराएका थिए। सोही आधारमा मुख्य क्रियाकलाप तथा माइलस्टोन समावेश गरी प्रधानमन्त्री र मन्त्रीहरूबीच छिट्टै कार्यसम्पादन सम्झौता हुने मुख्यसचिव लीलादेवी गड्तौलाले बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०८०/०८१ मा समग्रमा ६३ दशमलव ४४ प्रतिशत पुँजीगत खर्च भएको, १ हजार ६ सय माइलस्टोन निर्धारण भएकामध्ये ४२ प्रतिशत र ३ हजार ४ सय २१ क्रियाकलापमध्ये ४९ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभएको थियो।

किसानको मल आपूर्तिमा सहजता भएको, दुर्गममा जोखिमको अवस्थामा रहेका सुत्केरीको हवाईबाट उद्धार गरिएको, पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान आरम्भ भएको आदि उपलब्धि देखाइए पनि त्यसको व्यावहारिक कार्यान्वयन भने सशक्त हुन सकेको छैन । सचिवहरूले माइलस्टोन र क्रियाकलाप आधाभन्दा बढी पूरा हुन नसक्नुमा बजेट र कार्यक्रमको तयारीमा अपुग, स्रोत सुनिश्चित नभएका योजना, अन्तर निकाय समन्वय अभाव, निर्माण सामग्रीको अप्राप्यता, खरिद ऐनका समस्या, विस्तृत परियोजना प्रतिवेदन तयारी नहुनु, जग्गा प्राप्ति र रूख कटान आदिका समस्याका कारण आयोजनाहरू समयमा सम्पन्न नसकेका र जसका कारण माइलस्टोन र क्रियाकलापको सफल दर कम भएको बताएका थिए ।

आर्थिक वर्षको सुरुवातदेखि नै बजेट र कार्यक्रम कार्यान्वयन योजना तर्जुमामा प्रधानमन्त्रीले तदारुकता देखाए पनि त्यसको कार्यान्वयनमा मन्त्री तथा सचिवहरूले सक्रियता देखाउन सकेका छैनन् । यसअघि प्रधानमन्त्री ओलीले यही साउन १५ गते प्रधानमन्त्री ओलीले सबै मन्त्री र सचिवहरूलाई सेवा प्रवाहमा सुधार र प्रभावकारिताका विषयमा निर्देशन दिनुभएको थियो । आगामी वर्ष धेरै माइलस्टोन र क्रियाकलाप सम्पन्न गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विशेष तदारुकता लिनुपर्ने बताइएको छ ।

निर्धारित माइलस्टोन : ३४२१
पूरा भएका माइलस्टोन : १६७६
पूरा हुन नसकेका माइलस्टोन : १७४५
निर्धारित क्रियाकलाप : १६००
पूरा भएका क्रियाकलाप : ६७२
पूरा हुन नसकेका क्रियाकलाप : ९२८