विशेषका न्यायधीशहरुविरुद्ध उजुरी, कारबाही नगरिए आत्मदाह गर्ने चेतावनी


काठमाडौं ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापामाथि अनुसन्धान गरी कारबाही गर्न माग गर्दै बिहीबार न्यायपरिषद्मा उजुरी परेको छ।

विशेषका न्यायधीशहरुले भ्रष्टाचारीहरुलाई एकपछि अर्को उन्मुक्ति दिँदै आएको आरोप लगाउँदै भ्रष्टाचारविरुद्ध द डार्क फाइल अभियानका राजकुमार तिमल्सिनाले बिहीबार न्यायपरिषद्मा उजुरी दिनुभएको हो। उजुरीमा आवश्यक छानबिनसहित न्यायाधीशहरुमाथि कारबाही नभएमा विशेष अदालतको गेट र न्यायपरिषद्विरुद्ध सात दिनभित्रमा सामूहिक आत्मदाह गर्ने चेतावनी दिइएको छ।

उजुरीमा विशेष अदालतका न्यायाधीशहरुले भष्ट्राचारका मुद्दामा पटकपटक मुछिएका, कर्मचारी, नेता तथा व्यापारीलाई पटकपटक उन्मुक्ति दिने गरेको आरोप लगाइएको छ। विशेषले बुधबार मात्रै १ अर्बभन्दा बढी अनियमिततामा मुछिएका गोदावरी नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत लगायत १४ जनालाई सफाइ दिएको थियो।

कुल १ अर्ब ४ करोड ८७ लाख ३३ हजारको बिगो दाबी लिएको ५ वटा मुद्दामा सबै १४ जना आरोपितलाई २ महिनामै सफाइ दिने कार्यविरुद्ध गहन छानबिन गरी कारबाही गर्न उजुरीमा माग गरिएको छ।