झण्डै ६० जना सहसचिवको सरुवा, विभिन्न विभागका महानिर्देशक हटाइए


काठमाडौं ।

सरकारले विभिन्न मन्त्रालय, निकाय, आयोग र प्रदेशमा कार्यरत झण्डै ६० जना सहसचिवको सरुवा गरेको छ। बिहीबार राती बसेको मन्त्रिपरिषद् बैठकले ठुलो सङ्ख्यामा सहसचिवको सरुवा गरेको हो।

सरुवा भएर गृह र अर्थ मन्त्रालयका जाने सहसचिवको सङ्ख्या धेरै छ भने गृह र अर्थबाट केही सहसचिव बाहिरिएका छन्। यसै गरी केन्द्रबाट झण्डै एक दर्जन सहसचिवलाई प्रदेशमा पठाइएको छ भने प्रदेशका एक दर्जनलाई केन्द्रमा ल्याइएको छ। अर्थ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत रहेका महत्त्वपूर्ण र संवेदनशील विभागको महानिर्देशक परिवर्तन गरिएको छ।

जस अनुसार आन्तरिक राजश्व विभाग, भन्सार विभाग, राजश्व अनुसन्धान विभाग तथा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकहरूको अन्यत्र सरुवा गरेर त्यहाँ नयाँ महानिर्देशक ल्याइएको छ। सरुवा भएकाहरूको नाम भने गोप्य राखिएको छ । यसै गरी विभिन्न देशमा ४ जनालाई महावाणिज्यदूतमा समेत सिफारिस गरिएको छ।

स्रोतका अनुसार सरुवा भएकाहरूमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हुँदै राजश्व अनुसन्धान विभागको महानिर्देशकमा पठाइने भएको छ। यसै गरी वन मन्त्रालयका भूपाल बराललाई गृह मन्त्रालयमा ल्याइएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा डा नारायण रेग्मीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ल्याइएको छ उनलाई (पर्यटन विभागको महानिर्देशको जिम्मेवारी दिइने सम्भावना छ।

यसै गरी .रामकृष्ण लामिछानेलाई पनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नै ल्याइएको छ। केहीको नाम भने हेरफेर हुने र सङ्ख्या समेत सामान्य घटबढ हुने बताइएको छ।