बडिमालिका र बुढिनन्दा तिर्थयात्रा शुरु

पेटारो बोकेर सरकारी टोली बडिमालिकामा

2.07k
Shares

बाजुरा ।

बाजुराकाे प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र बडिमालिका र बुढिनन्दा तीर्थयात्रा सुरु भएको छ । सदरमुकाम मार्तडीबाट बुढिनन्दा तीर्थयत्राका लागि बुधवार हिजो देखि बडिमालिका तीर्थयात्रा सुरु भएको हाे ।

बडिमालिका दर्शनका लागि  पेटारोसहित पूजा सामग्री  बोकेर सरकारी टोली बडिमालिका प्रस्थान गरेको छ । बिहीबार बिहान  सदरमुकाम मार्तडीस्थित मालिका मन्दिरमा पूजाआजा गरेर बडिमालिका मन्दिरको पुजाका लागि जिल्लाको सरकारी टोली प्रस्थान गरेको हो । पैमा भण्डार गृहबाट पनि विहिवार बिहान पुजारीको टोली मालिका प्रस्थान गरेको हो ।

    बडिमालिका माताको दर्शनका लागि पूजा सामग्री बोकेर सहायक प्रमुख जिल्ला अधिकारी रूपक मण्डल, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरी, नेपाली सेना, सशस्त्र प्रहरीवल प्रमुख डिएसपी श्याम रावत सहितको सरकारी टोली हिँडेको छ ।

बडिमालिका प्रस्थान गर्ने क्रममा  नेपाली नेपाल प्रहरी ,शशस्त्र प्रहरी बलको एक टुकरीले  मालिकामाताका नाममा २१  तोपको  सलामी दिएर पठाएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो ।  जिल्लाबाट सरकारी टोली प्रस्थान गरेसँगै सुदूरपश्चिम प्रदेशकै धार्मिक एवं पर्यटकीय स्थल बडिमालिका तीर्थयात्रा विधिवत् रूपमा सुरु भएको हो  ।

यसैबिच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गृह जिल्लामा अवस्थित बडिमालिका र बुढिनन्दा मताको दर्शन गर्ने जाने यात्रुजनलाई सामाजिक सञ्जाल फेसबुक मार्फत शुभकामना दिनुभएको छ । “सुदूरपश्चिम प्रदेश,बाजुरा जिल्लामा अवस्थित हिन्दुहरूको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल श्री बडिमालिका र बुढिनन्दा माताको मन्दिरमा श्रावण शुक्ल चतुर्दशीमा लाग्ने मेला भर्न आउने  हजारौँ भक्तजनहरूलाई हार्दिक  शुभकामना टक्यांउछु। धार्मिक,सांस्कृतिक एवम् पर्यटकीय महत्त्व बोकेका शक्तिपीठ बडिमालिका र बुढिनन्दा माताले भक्तजनहरूको मनोकांक्षा पूरा गरून्।साथै मेला अवधिभर सम्पूर्ण तिर्थालु भक्तजनहरूको यात्रा र दर्शनमा शान्ति,सद्भाव,सुरक्षा र सु–व्यवस्था  कायम हुनुका साथै समस्त भक्तजनहरूको सुख,शान्ति र समृद्धिको शुभकामना टक्राउन चाहन्छु। मन्त्री पाण्डेको फेसबुक पेजमा उल्लेख छ । 

   बुढिनन्दा माताको दर्शन गर्न भने अहिलेसम्म सरकारी टोली खटाउने प्रचलन छैन । यद्येपी पछिल्लो समयमा बुढिनन्दा नगरपालिकाले मेला व्यवस्थापन गर्ने गरेको छ । शक्ति स्वरुपेणी बुढिनन्दा  दर्शन गर्न जाँदा सिमकुरु, तलिगोठी , छाप्ने बास बस्ने र चरी दह पुगेर स्नानधान गरी शुद्ध आत्माका साथ  र धनभणार मा एकराते जाग्राम बसेर चतुर्दशीका दिन बुढिनन्दा माईको दर्शन गरी फर्किने प्रचलन छ । बुढिनन्दाका लागि बाजुराका विभिन्न भागबाट पाँच दिनको यात्रा तय गर्नुपर्छ । 

बडिमालिकाका लागि भने जिल्लाका चारै दिशाबाट प्रवेश गर्न सकिन्छ। यद्येपी  बाहिर जिल्लाबाट आउने श्रद्धालु भक्तजन भने सदरमुकाम मार्तडी भएर बडिमालिका जाने प्रचलन छ । मार्तडीबाट सोता पाटन  शुक्रवार अर्थात् भोलिपल्ट २२पाटन घुमेर त्रिवेणिमा पुगेर जाग्राम बस्ने प्रचलन छ । त्रयोदशीका दिन स्नानध्यान गरी पवित्र भएर बडिमालिका माताको दर्शन गर्न जाने प्रचलन छ। बडिमालिका माताको शरणमा १४ हजार फिटको उचाइमा एकराते भक्ती गानसहित जाग्राम बसेर बाला चर्तुदर्शीको दिन दर्शन गरेर तोरन तिलख ग्रहण गरी नाटेश्वरी लगायत आआफ्नो स्थानतर्फ फर्किने प्रचलन छ । बडिमालिकाका लागि एक साता अघिदेखि यात्रु जाने क्रम शुरु भएको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाले बताउनुभयो। मेला व्यवस्थापन गर्न त्रिवेणी नगरपालिकाको टिमपनि तिन दिन अघि   त्रिबेणीबाट नगरप्रमुख थापाले जानकारी दिनुभयो । 

केही वर्ष यता बाजुरा र कालिकोटवीच सीमा विवाद बल्झिएको छ। त्रिवेणी र बडिमालिका त्रिवेणी नगरपालिकाको वडा न. पाँचमा पर्दछ । कालिकोटले केही वर्ष अघि बाजुराको क्षेत्रमा सरकारी लागतमा धर्मशाला निर्माण गरेपछि विबावाद उत्पन्न भएको हो । पवित्र स्थानमा विवाद ल्याउनुहुन्न सबैको धरोहर देबभुमी रक्षाका लागि बाजुरा र कालिकोट दुुईटै जिल्लाका जनप्रतिनिधि र सरकारी अधिकारी बसेर विवाद समाधान गर्ने नगरप्रमुख थापाले बताउनुभयो ।     

तत्कालीन समयमा  बडिमालिका माताले आर्शिवाद लिएर  अँग्रेजसंग लड्न कुमाउँ गडवाल पुगेर युद्धमा  नेपालीले नालापानी किल्ला जितेपछि बडिमालिका माताको आर्शिवादले जितेको महशुसु गरेको भनाई छ । अम्मरसिंह थापाको पालाबाट अम्मरगडी डडेलधुरा र डोटी गौंणाबाट सरकारी पेटारो सहित पूजा टोली पठाउने गरेको भनाई छ ।  त्यसै गरी जुम्लाबाट पनि सेना प्रहरीले सलामी दिएर पेटारो सहित सरकारी टोली बडिमालिका माताको दर्शन गर्न १५ दिन अघि नै  सो क्षेत्र तर्फ  प्रस्थान गर्ने प्रचलन रहेको बडिमालिकाका कान्छा  पुजारी भानुुक्त पाध्याले बताउनुभयो । 

बडीमालिकाको दर्शन गर्नका लागि कैलाली, डडेलधुरा, डोटी , दार्चुला, बझाँङ्ग, अछाम, बाजुरा, जुम्ला, कालीकोट, काठमाडौँ, भारतको गडवाल, सिक्किम, लगायतका विभिन्न ठाउँबाट भक्क्तजनहरु बडीमालिको दर्शन गर्न हिँडिसकेका छन् । उक्त बडीमालिका मन्दिरमा हरेक वर्ष जनै पूर्णीमाको दिन देखि मन्दिरमा श्रद्धालु भक्तजनहरु दिन प्रतिदिन बढ्दै गएका छन् ।  

पछिल्लो समयमा बडिमालिकाको दर्शन गर्न अमेरिका जापान लगायतका प्रवासी नेपाली समुदायका ब्यक्ती आउनेगरेका छन् । बडिमालिकाको  महिमा दिनप्रतिदिन बढ्दै छ । बडिमालिका र बुढिनन्दा विश्वव्यापीकरण हुंदैछन् । यद्येपी बुढिनन्दा मन्दिर ढुंगा थुपारेर जनजीणद्धार छ भने बडिमालिका मन्दिर पनि भनेजस्तो व्यवस्थापन छैन । मन्दिरलाई निर्माण गरी थप आक्रशक बनाउनुपर्ने देखिन्छ भने गुठीका रूपमा व्यवस्थापन गरी वर्षेनी त्यहाँबाट आउने भेटीबाट आम्दानी खर्च  सार्वजनिक गरी बाँकी रकम कोषमा राख्नुपर्छ ।