मंकीपक्स फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा


काठमाडौं ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकीपक्सलाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ। अफ्रिकाका केही भागमा ‘एमपक्स’ फैलिएपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको हो । कंगोमा यो रोगको प्रकोप बढेपछि छिमेकी देशहरु पनि प्रभावित भएका छन्।

अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार यस वर्ष अफ्रिकी महादेशमा १७ हजार भन्दा बढी मंकिपक्सका संदिग्ध घटनाहरू फेला परेका थिए। जसमध्ये ५१७ जनाको मृत्यु भएको थियो।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष केसमा १६० प्रतिशतले वृद्धि भएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिकाभित्र र बाहिर फैलिने सम्भावना रहेकाले यसलाई ‘धेरै चिन्ताजनक’ अवस्था भनेका छन् । ‘यो प्रकोप रोक्न र जीवन बचाउन अन्तर्राष्ट्रिय समन्वय आवश्यक छ’, उनले भने।

यो रोग एमपक्स संक्रमित व्यक्तिको निकट सम्पर्कमा रहने व्यक्तिहरुलाई सर्दछ । संक्रमित व्यक्तिलाई छुँदा वा नजिकै गएर कुराकानी गर्दा स्वासप्रश्वासको माध्यमबाट पनि यो रोग सर्छ । यसको संक्रमण देखिएमा शरीरभरी फोकाहरु आएर घाउ हुने, उच्च ज्वरो आउने गरेको पाइएको डब्ल्यूएचओले जनाएको छ।