आजको अभिभावकत्वका बारेमा गहन विश्लेषण खोइ ?

470
Shares

सन्तान सुख प्राप्तिको मानसिकता लिई नौ महिना कोखमा राखेर आर्थिक एवं मानसिक दबाबका साथै उत्तरदायित्वबोध अनि कर्तव्य परिपालन, यसलाई नै अभिभावकत्व भनेर हामीले वर्षौंदेखि बुझ्दै आएका छौं । तर पनि हाम्रा आमाबुबाहरुलाई यसको बारेमा सोध्ने हो भने बुढेसकालको सहारा मानेर नै सन्तान जन्माउने गरेको पाइन्छ।

कलिलै उमेरमा विवाह अनि आफ्नाको इच्छा तथा समाजले नपुंसक र बाँझोपनको अपमानयुक्त शब्दको प्रयोग नगरोस् भन्नकै लागि पनि मानसिक, शारीरिक तथा आर्थिकरुपमा सक्षम नहुँदा नहुँदै पनि अभिभावक बन्ने गरेको कथा त हाम्रो घरघरको यथार्थ हो नै । तर आज समय बदलिएको छ। समयसँगै सबैको जीवनशैली, सोच र विचारमा पनि धेरै परिवर्तन आएको छ।

हिजो पढ्न जान नपाउनुभएका आमाबुबाले आफ्नो सन्तानलाई विदेशमा पढाउनुभएको छ, सन्तानलाई कम्प्युटर र स्मार्ट फोन दिलाउनुभएको छ। कैयौँ आमाबुबाले घाम–पानी नभनी आफूलाई बदल्दै कर्मक्षेत्रमा निकै प्रगति पनि गर्नुभएको छ । सम्पूर्ण आमाबुबाहरु माननीय र सम्माननीय हुनुहुन्छ । यति गर्दागर्दै पनि आजको समयमा आमाबुबा र छोराछोरीका बीचमा निकै ठूलो दूरी बढेको देखिन्छ। आखिर किन यस्तो भइरहेको छ त ? यो प्रश्नको जवाफ जान्नु आजको युगका युवाहरुलाई मात्र नभई आमाबुबाको लागि पनि प्रमुख आवश्यकता बनेको छ।

हामी हरेक दिन सयौँ नयाँ कुरा सिक्छौँ, चाहे त्यो शिक्षा क्षेत्रमा होस्, व्यावहारिक क्षेत्रमा होस् वा व्यावसायिक क्षेत्रमा होस् । अहिलेको समयमा त झन् टेक्नोलोजीको माध्यमबाट हामी जुन कुरा सिक्न चाहन्छौँ, केही सेकेन्डमा त्यसलाई खोजेर केही घण्टामै प्रयोगमा ल्याउन सक्छौँ। यो प्रयोगमा ल्याउने गरेका कैयौँ स्मार्ट अभिभावकहरु र सन्तानहरु हुनुहुन्छ । तर पनि आजको विडम्बना दुनियाँको खबरमा चासो राख्ने आभिभावकहरु आफ्नै सन्तानको चासो राख्न बिर्सिएर अरुको जिन्दगीमा दखल अन्दाजीमा सदैव अगाडि पर्ने गर्नुभएको छ। उहाँहरुजस्ता अभिभावकमा एउटा प्रश्न छ– आखिर सबैलाई थाहै छ, यस जमानाका सन्तान र अभिभावकबीच ठूलो खाडल छ तर त्यो खाडल कम गर्नलाई प्रत्येक आभिभावकले आफ्नो तर्फबाट कत्तिको कोशिश गर्नुभएको छ त ?

बच्चा जन्माउनु र अभिभावक बन्नु फरक कुरा हो । आजको जमानामा अभिभावकत्वको परिभाषा बदलिएको छ । आमाबुबा बन्नुभन्दा पहिले नै मानसिक, शारीरिक तथा आर्थिकरुपमा परिपक्वता छ या छैन ? यसमा गहन विश्लेषण गर्नुपर्ने आवश्यकता छ। के साँच्चै हामी अभिभावकत्वको जिम्मेवारी बहन गर्न सक्षम छौँ ? पूर्णरुपमा बहन गर्न सक्छौँ ? यी प्रश्नहरुको जवाफविना आमाबुबा बन्नुको अर्थ छैन । भोलि सन्तानले पाल्ला या न पाल्ला तर सन्तानलाई माया, स्नेह, आत्मस्वाभिमान, संरक्षण र स्वतन्त्रता दिनुपर्ने आमाबुबाको कर्तव्य हो ।

बच्चा जन्माउनु र अभिभावक बन्नु फरक कुरा हो । आजको जमानामा अभिभावकत्वको परिभाषा बदलिएको छ । आमाबुबा बन्नुभन्दा पहिले नै मानसिक, शारीरिक तथा आर्थिकरुपमा परिपक्वता छ या छैन ? यसमा गहन विश्लेषण गर्नुपर्ने आवश्यकता छ। के साँच्चै हामी अभिभावकत्वको जिम्मेवारी बहन गर्न सक्षम छौँ ?

घर, जग्गा, मोटर, घरमा पालेको कुकुर र सन्तानमा धेरै फरक छ । दुई छाक खान र लगाउन दिँदैमा आमाबुबालाई सन्तानमाथिको सम्पूर्ण हक हुँदैन । सन्तानले जन्मने या नजन्मनेबारे निर्णय गर्न असम्भव छ तर छोराछोरी जन्माउने निर्णय अभिभावकले लिन सक्छन् र यो निर्णय लिनुभन्दा अगाडि सबै अभिभावकलाई थाहा हुनुपर्छ कि उहाँहरु केवल बगैँचाको माली हो, फूलको मालिक होइन । आफ्ना अपूरा सपनाहरु सन्तानमा लाद्ने, सामाजिक प्रतिष्ठा र सम्मानको खोक्रो आदर्श देखाउँदै सन्तानलाई डर–त्रासमा राख्ने, मेरो सम्पत्तिमा बाँचुन्जेल हरेक कुराको अनुयायी बन्नुपर्ने भनी तथानाम भन्ने, समाजका हरव्यक्तिको अगाडि अपमान र अनावश्यक आक्षेप लगाउने, घरी–घरी अनावश्यक कुरामा मानसिक तथा शारीरिक यातना दिनेजस्ता कुराको अभिभावकत्वमा कुनै ठाउँ छैन ।

अहिलेका अभिभावकहरु आफ्ना सन्तानबाट धेरै अपेक्षा राख्छन् र आफ्ना हरेक अधुरा सपना सन्तानले पूरा गर्नुपर्छ भने मानसिकतामा उभिन्छन् । तर सन्तानलाई कसरी हुर्काउने, उनीहरुका इच्छा र समय अनुरुप कसरी आफूलाई बदल्ने भन्ने कुरामा त्यति उत्सुकता राख्दैनन् । किनकि बाबुआमा भगवान्सरह भनेर हाम्रो हरेक शास्त्रले औँल्याएको छ । त्यसैले बाबुआमाले सन्तानलाई जस्तो व्यवहार गर्दा पनि समाजले बाबुआमामाथि औँलासम्म उठाउँदैनन् । हरेक दिन वृद्धाश्रममा बस्ने आमाबुबाका कथाहरु समाचार र पत्रपत्रिकाको मुख्य समाचारका कारण छोराछोरी पटक–पटक बेइज्जत त हुन्छन् तर कैयौँ आमाबुबाको कारण मानसिक र शारीरिक यातनाको चपेटामा बाँचेका बालबालिकाको आवाज कसैले सुन्दैनन् । कसैले आवाज उठाएमा बाबुआमालाई पनि जानिएन, थाहा भएन, दुई–चार थोपा आँसु बगाइदिँदा समाजमा इज्जत अनि ढाडस मिलिहाल्छ ।
कति बाबुआमाले धर्मको नाममा आफ्नै छोराछोरीको घर बिगारेका छन्।

कति मानसिक यातना सहन नसकेर आत्महत्या रोज्न बाध्य छन् । कायौँ आफ्नै आमाबुबाको हातबाट ह्यारेसमेन्ट, बलात्कृत भएका छन्। कति बाबुआमाको रिसमा अगुल्टोमा पोलिएका छन् । कति बाबुआमाको झुटो इज्जतको लागि हरेक अपमान र शारीरिक शोषण सहन बाध्य छन्। सबैभन्दा मजबुत खम्बा आमाबुबा नै खोक्रो आदर्श र इज्जतको आडम्बरमा सन्तानलाई यस्ता कुरालाई लुकाउन मानसिक यातना दिँदै आएका छन्।

के यी कुरामा अभिभावकहरु दोषी छैनन् ? वृद्धाश्रममा छोड्ने सन्तानलाई प्रश्न गर्ने हरेक समाजका अगुवाहरु, सरकार, सरकारको तेस्रो आँखा मिडिया, के अभिभावकहरुले गरेको मानसिक र शारीरिक शोषणको खोजी र प्रश्नको आवश्यकता छैन ? मुखमा छोरा र छोरी समानताको नारा अनि विविध कारण दर्शाउँदै छोरालाई बोर्डिङ र छोरीलाई चतुर्‍याइँका साथ सरकारी स्कुलमा पढाउने अभिभावकहरु कैयौँ छन्।

छोराको उज्ज्वल भविष्यको लागि रातभर जाग्ने अभिभावक, छोरीको पढाइमा खर्च लाग्ला भन्ने डरले अप्रत्यक्षरुपमा हौसला र प्रेरणामा पछि परेका हजारौँ उदाहरण कैयौँ छोरीहरुले अनुभव गरेका छन्। छोरा र छोरी समान भन्दै आए पनि घर पूरै धानेर काममा जानुपर्ने अवधारणा सर्वोपरि छ।

छोराको प्रमोसन, ओभरटाइम र साथीहरुसँगको रमाइलो रमझमलाई समर्थन गर्ने आमाबुबा कामबाट ढिला फर्किएकी बुहारी, छोरीमाथि विनापुष्टि, विनासबुत हरेक दिन अपमान र इज्जतको विभिन्न लान्छना लगाउन कत्ति पछि पर्दैनन्। मानसिक यातनाको अन्त्य कसरी गर्ने? के जब मन लाग्छ तब जसले मन लाग्छ त्यसले विनापुष्टि र सबुत एउटा नारी, छोरी, बुहारी, पत्नीमाथि प्रश्न गर्ने हक पाउँछन् ?

यस्ता हजारौँ प्रश्नको उत्तर अभिभावकत्व अन्तर्गत पर्दछ। यी सब प्रश्नको उत्तर जान्नुमात्र होइन, त्यसलाई सम्बन्धमा उतार्नु पनि आजका अविभावकको जिम्मेवारीभित्र पर्दछ। सयौँ बालबालिका विविध कारणवश मानसिक तनावबाट ग्रस्त भएर डिप्रेसन र डिप्रेसनबाट आत्महत्या चयन गरिरहेका छन्। यस्तो दयनीय अवस्थामा आफ्नो इज्जत र समाजको परिहासलाई नकार्दै आजका सचेत अभिभावकहरुले मानसिक चिकित्सालाई विनासंकोच अपनाउनु पनि पर्दछ । छोराछोरीको जिम्मेवारी र कर्तव्य पनि सैयौँ छन् तर पनि आहिलेको आभिभावकत्वमा परिवर्तन अपरिहार्य छ ।