प्रतिबद्धता कार्यान्वयन गरियोस्


स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानवअंग प्रत्यारोपणका लागि उपकेन्द्र खोलिने घोषणा गर्नु खुशीको कुरा हो। तर घोषणा गर्नुअघि गर्नुपर्ने पूर्वतयारी के–के भए ? अस्पताल व्यवस्थापन, उपकरण, मानवअंग प्रत्यारोपणका लागि आवश्यक जनशक्ति देशमा कति छन् र सातै प्रदेशका लागि के–के तयारी गर्नुपर्छ ? भन्नेमा स्पष्टता देखिँदैन। तर पनि स्वास्थ्यमन्त्रीले विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्नेहरुलाई सम्मान गर्दै आफूले मन्त्री पद सम्हालेपछि हालै सार्वजनिक गरेको कार्ययोजनामा समेत यो विषय समेटिएको बताइरहँदा कतै सस्तो लोकप्रियताको नारा त हैन भन्ने आभास हुन्छ।

यसअघिको सरकारले पनि यिनै विषयलाई अघि सारेको र पोखरा एवं सुर्खेतमा मानवअंग प्रत्यारोपण केन्द्रको सहकार्यमा अंग प्रत्यारोपण शुरु भएको एक वर्ष बितिसकेको छ । हेटौंडामा पनि तयारी अवस्थामा छ भन्ने कुरा नागरिकले सुन्दै आएकै हुन्। हरेकपटक सरकार फेरिए नै पिच्छे एउटै कुरा भनिरहने तर पूर्णरुपमा कार्यान्वयनचाहिँ कहिले हुने हो त ?

अंग प्रत्यारोपणजस्तो विषय साधारण घाउँ चिरफार गरेर टाँका लगाएजस्तो सजिलो पक्कै होइन । यसका लागि आवश्यक दक्ष जनशक्ति, उपकरण, अनुभव हुनुका साथै आपत्कालीन व्यवस्थापनका लागि स्वदेश एवं विदेशको समेत साथ–सहयोग लिनुपर्ने थुप्रै तयारी गर्नुपर्छ । नेपालमा उत्पादित जनशक्ति अंगदानका लागि तयारी अवस्थामा कति छन् र प्रयोगात्मक अभ्यासको लागि तयारी अवस्थामा छन् कि छैनन् ? यदि जनशक्ति छैन भने उत्पादन गर्न अर्थात् उत्पादन भएकालाई दक्ष तालिम दिन कति समय लाग्छ ? यी सबै विषयको अध्ययन गरी यति समयमा यो योजना सञ्चालन गर्ने गरी काम अगाडि बढाइँदै छ भन्ने सुनिश्चित गर्नुपर्ने निकायका प्रमुखले हचुवाको भरमा भोलिदेखि नै अंग प्रत्यारोपण केन्द्र सातै प्रदेशमा सञ्चालन हुन्छ भनेर बोल्नु सस्तो लोकप्रियताको पछि दौडिएको प्रस्ट हुन्छ ।

सरकारले बोल्नुअघि कहाँ–कहाँ के–के काम भएका छन् र अब के गर्न बाँकी छ ? त्यो काम कति अवधिमा सम्पन्न हुन्छ ? भन्ने स्पष्ट भएर मात्र बोल्नुपर्छ । जनविश्वास जितेर काम गर्ने सरकारले बोलेर हैन, काम गरेर परिणाम सुनाउने हो । हरेकपटक नागरिकलाई आश्वासन बाँडेर लोकप्रिय बन्ने समय अब बाँकी छैन । मानवअंग प्रत्यारोपण केन्द्र, भक्तपुरको ठाउँ साँघुरो भयो भनी सरकारले जग्गा उपलब्ध गराई क्षेत्र विस्तार गर्ने भन्दै धेरैपटक भाषण गरिसकियो तर कार्यान्वयन हुन सकेको छैन । यस्ता विषयमा बोल्दा सरकारका जिम्मेवार नेताले गम्भीर भएर सोच्नु जरुरी छ ।

स्वास्थ्यमन्त्रीले भन्नुभएको छ, ‘मानव अंगदानका लागि सबै प्रदेशमा यसै केन्द्रको शाखाका रुपमा उपकेन्द्र सञ्चालन हुनेछन्, तत्काल कोशी प्रदेशबाट यो काम थालिनेछ। यस (केन्द्र) ले मात्र देशैभर सेवा दिन सक्दैन, त्यसैले भक्तपुरलाई केन्द्र बनाएर सातै प्रदेशमा अंग प्रत्यारोपण उपकेन्द्र खोल्ने तयारी गरेका छौं ।’ सीमित जनशक्ति, पूर्वाधार र स्रोत भएको अवस्थामा हाल भएका जनशक्ति र स्रोतलाई अधिक सक्रिय बनाएर जनतालाई बढी लाभ दिने गरी काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ। स्वास्थ्यमन्त्रीका तर्फबाट व्यक्त गरिएको यो प्रतिबद्धता विगतका मन्त्री, प्रधानमन्त्रीहरुले गरेजस्तै भाषणमा मात्र सीमित नबनोस्।