अमेरिकाले फेरी भन्यो : बंगलादेशको घटनामा हाम्रो हात छैन


काठमाडौं ।

संयुक्त राज्य अमेरिकाले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नमा आफ्नो कुनै संलग्नता नरहेको प्रष्टीकरण दिएको छ। ह्वाइट हाउस पछि अमेरिकी विदेश मन्त्रालयले पनि पूर्वप्रधानमन्त्री शेख हसिनाको राजीनामामा अमेरिकाको संलग्नता नरहेको दाबी गरेको हो।

‘यो हास्यास्पद छ,’ प्रमुख उप प्रवक्ता वेदान्त पटेलले मंगलबार वाशिंगटनमा नियमित ब्रीफिङमा पत्रकारहरूलाई भने। उनले शेख हसिनाको राजीनामामा अमेरिकाको संलग्नता रहेको भन्ने कुनै पनि निहितार्थ बिल्कुलै गलत भएको बताए। ‘हामीले भर्खरका हप्ताहरूमा धेरै गलत जानकारी देख्यौँ,’ पटेलले भने।

उनले डिजिटल इकोसिस्टममा विशेष गरी दक्षिण एसियाका आफ्ना साझेदारहरूसँग सूचनाको अखण्डतालाई सुदृढ गर्न अविश्वसनीय रूपमा प्रतिबद्ध रहेको बताए। यसअघि ह्वाइट हाउसले शेख हसिनाको नेतृत्वमा रहेको सरकारको पतनमा अमेरिकाको कुनै संलग्नता नभएको भन्दै यो गलत हो भनी जोड दिएको थियो।