हसिनाले भनिन्- देशलाई स्वतन्त्र बनाउने मेरा पिताको अपमान भयो


काठमाडौं ।

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि पहिलो पटक वक्तव्य जारी गरेकी छन् । मंगलबार विज्ञप्ति जारी गर्दै हसिनाले आफ्ना पिताको अपमान गरिएको बताएकी छन्।

देशलाई स्वतन्त्रता दिलाएका बंगबन्धु शेख मुजिबुर रहमानको अपमान गरिएको भन्दै देशवासीसँग न्याय मागेकी छन्। उनले भनेकी छन्- ‘बंगबन्धु शेख मुजिबुर रहमान जसको नेतृत्वमा देशले स्वतन्त्रता हासिल गरेको थियो, उनको अपमान गरिएको छ । उनीहरू (प्रदर्शनकारीहरूले) मेरो बुबाको अपमान गरेका छन्, म देशवासीसँग न्याय माग्छु।’

अगस्ट ५ मा देश छोडेर भारतमा रहेकी हसिनाको विज्ञप्ति उनका छोरा सजीब वाजेदले सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। हसिनाले बङ्गलादेशी नागरिकहरूलाई अगस्ट १५ मा आफ्ना पिता शेख मुजिबुर रहमानको पुण्य तिथि मनाउन आग्रह गरेकी छन् । मुजिबुर रहमानको १५ अगस्ट १९७५ मा गोली हानी हत्या गरिएको थियो । अर्कोतर्फ बङ्गलादेशको अन्तरिम सरकारले १५ अगस्टको बिदा रद्द गरेको छ।

हसिनाले विज्ञप्तिमा भनिन्, ‘जुलाईदेखि अहिलेसम्म आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र हिंसामा धेरैले ज्यान गुमाएका छन् । म उहाँहरूको आत्माको चिर सान्तीको कामना गर्दछु र उहाँहरूप्रति समवेदना प्रकट गर्दछु।’ आन्दोलनमा धेरै विद्यार्थी, शिक्षक, प्रहरी, पत्रकार, अवामी लिगका नेता र सामाजिक कार्यकर्ता मारिएका थिए । हसिनाले भनिन्, ‘म यी हत्या र बर्बरतामा संलग्नहरूलाई कडा सजाय दिन माग गर्दछु।’

यसअघि हसिनाको भनाइलाई लिएर पनि दाबी गरिएको थियो। यस दाबी अनुसार हसिनाले अमेरिकालाई सेन्ट मार्टिन टापु नदिँदा आफ्नो सरकार ढालिएको बताएकी थिइन्। इकोनोमिक टाइम्सका अनुसार हसिनाले आफ्ना नजिकका सहयोगीहरूलाई भनिन्, ‘म कट्टरपन्थी हिंसाका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न दिन चाहन्थेन।

उनीहरूले विद्यार्थीहरूको लासहरू मार्फत शक्ति प्राप्त गर्न चाहन्थे । तर मैले आफ्नो पद छोडेर त्यो हुन दिइन।’ यसअघि जुन २०२१ मा बङ्गाली अखबारहरूमा अमेरिकाले बङ्गलादेशसँग सेन्ट मार्टिन टापु मागेको दाबी गरेको थियो। उनी यहाँ सैन्य आधार बनाउन चाहन्छन्। यसपछि बंगलादेश वर्कर्स पार्टीका अध्यक्ष राशिद खान मेननले पनि संसदमा अमेरिका सेन्ट मार्टिन टापु अधिग्रहण गर्न चाहन्छ र क्वाडको सदस्य बन्न दबाब दिइरहेको बताए।

सेन्ट मार्टिन टापु, जसलाई लिएर बङ्गलादेशको राजनीतिमा धेरै हङ्गामा मच्चिएको छ, त्यो टापु मात्र ३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। जुन २०२३ मा प्रधानमन्त्री हसिनाले विपक्षी बीएनपी पार्टी सत्तामा आएमा सेन्ट मार्टिन बेच्ने बताएकी थिइन्। बङ्गलादेशको सेन्ट मार्टिन टापु रणनीतिक रूपमा महत्त्वपूर्ण छ, म्यानमारबाट यसको दूरी मात्र ८ किलोमिटर छ।