सामाजिक सद्भाव कायम राख


दुई ठूला राजनीतिक दल मिली बनेको सरकारले गर्ने कामलाई हेरेर जनताले प्रतिक्रिया जनाउने बताएका छन् । अस्थिर सरकारका कारण राजनीतिक दल खोलेर पसल थापेकाहरुका लागि पछिल्लो गठबन्धनले उनीहरुको ढोका बन्द गरिदिएको छ। अहिले ती पसलवालाहरु छटपटाउन थालेका छन्।

यो सरकारले गर्ने कामको आधारमा मूल्यांकन गर्नुभन्दा पनि यो सरकारलाई भ्रष्ट सरकारको ट्याग लगाएर शुरुमा नै बदनाम गराउनेहरु सक्रिय भई लागेका छन्। चरम निराशामा रहेका जनतालाई थप उत्तेजित बनाएर सरकारविरुद्ध विद्रोह गराउने गिरोह अहिले सक्रिय भई लागेको देखिन्छ।

सरकार गठन भएको पनि एक महिना बितिसकेको छ तर सरकारले जनतालाई नयाँपन भने दिइसकेको छैन। छिमेकी मुलुक बंगलादेशमा भएको विद्रोह नेपालमा पनि हुनुपर्ने भन्दै एकाथरी समाजमा खलल ल्याउन सक्रिय छन् भने अर्का थरी समूह संघीय गणतन्त्रका कारण मुलुक कंगाल हुँदै गएको भन्दै गणतन्त्रको विरुद्धमा जनमत तयार पार्न सक्रिय छन्। दुई ठूला दल मिलेर बनेको सरकारले जनताका पक्षमा केही गर्ला र आफ्नो अस्तित्व नामेट होला भन्ने चिन्तामा रहेका केही राजनीतिक दलका नेताहरु सरकारविरुद्ध जनतालाई कसरी भड्काउन सकिन्छ भन्ने ध्याउन्नमा लागेको देखिन्छ।

२०४६ सालपछि नै नेपालको राजनीतिमा हाबी हुँदै आएका छिमेकी मुलुकहरु नेपालमा अस्थितरताको बीउ रोप्न तल्लीन देखिन्छन्। नेपाली–नेपालीबीच लडाएर आफ्नो स्वार्थ पूरा गर्ने समूह सक्रिय भएर लागेको कारण मुलुकमा एकमना सरकार बने पनि बीचैमा भत्कने र अस्थिर सरकार गठन हुने परम्परा अझै जारी छ। यसले नेपालमा केही हुँदैन भन्ने भाष्य स्थापित गर्न स्वदेशी तथा विदेशी तत्व सक्रिय छ। त्यही लयमा नेपाली राजनीति अघि बढेको छ। एकले अर्कालाई निषेध गर्ने अवस्था सिर्जना हुनुले पनि त्यस्ता तत्वलाई मलजल गरेको देखिन्छ। सरकार पनि जनताका पक्षमा देखिने खालका काम गर्न चुकेको देखिन्छ। हिजो जे–जे भयो भयो, त्यसलाई बिर्सेर सरकारमा बसेकाहरुले जनताका दैनिकीलाई सहज बनाउने खालको नीति र कार्यक्रम सार्वजनिक गरी अघि बढ्नुको विकल्प छैन।

दक्षिण एसियाको राजनीति केही वर्षयता तरल देखिन्छ। सामरिक दृष्टिकोणले यो क्षेत्र उर्वर भूमिको रुपमा देखिन्छ। दक्षिण एसियामा पनि नेपालको भूभाग प्रयोग गरेर आफ्नो अभिष्ट पूरा गर्ने केही ठूला मुलुकहरु सक्रिय भएर लागेका छन्। नेपालको आन्तरिक राजनीतिक खिचातानीको मौकाको फाइदा उठाएर आफ्ना उद्देश्य पूरा गर्ने समूहलाई सहज हुने ढंगले नेपालका राजनीतिक दल तथा सामाजिक अभियन्ता सक्रिय भएर लागेका छन्।

यसले मुलुकको हितभन्दा पनि अहित हुने निश्चित प्रायः देखिन्छ। त्यसैले मुलुक जोगाउने हो भने सतहमा देखिएको विसंगतिभन्दा पनि भित्रभित्रै हुँदै गएको विभिन्न खाले षड्यन्त्रको भण्डाफोर गर्नुपर्ने समय आइसकेको छ। त्यसैले अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने ? भन्ने उक्तिलाई मनन गर्दै सामाजिक सद्भाव कायम राख्न अघि बढ्नुको विकल्प छैन।