ट्रम्पले भने- ‘कमलाले बढी भीड देखाउन एआईकाे सहारा लिइन्’


वासिङटन डिसी । 

रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले सोमबार उपराष्ट्रपति कमला ह्यारिसको मिशिगनको र्‍यालीमा ठूलो भीड नभएको दाबी गरेका छन्। र्‍यालीमा बढी भीड देखाउन एआई प्रयोग गरिएको उनले बताए ।

 ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा ह्यारिसलाई नक्कली भीड देखाएको कारणले २०२४ को चुनावका लागि अयोग्य घोषित गर्नुपर्ने लेखेका छन् । उनले नक्कली छवि बनाउनु गलत भएको बताए ।

 कमलाले बुधबार (७ अगस्ट) मिशिगनको डेट्रोइटमा चुनावी र्‍यालीलाई सम्बोधन गरेकी थिइन्। यो र्‍याली अघि विमानस्थलमा ठूलो भीड जम्मा भएको थियो । यसको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो, त्यसपछि ट्रम्पले यो सबै नक्कली भएको बताएका हुन् ।

 ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कमलाले एयरपोर्टमा धोका दिएको कसैको ध्यानाकर्षण भयो ? उनले समर्थकहरूको ठूलो भीड देखाइन् तर त्यस्तो थिएन। उनको प्रतीक्षामा कोही थिएन। उनले ठगी गरेकी छिन् ।’

 
कमला ह्यारिस र टिम वाल्जको चुनावी टोलीले सोशल मिडियामा ट्रम्पको दाबीलाई खण्डन गरेको छ। उनले कमला र वाल्जलाई हेर्न मिशिगनमा करिब १५ हजार मानिस आएको बताए । उनीहरुको आरोप छ, ट्रम्पको ऊर्जा घट्दै गएको देखिन्छ । उनले पछिल्लो एक सातादेखि स्विङ स्टेटमा कुनै र्‍याली गरेका छैनन् ।