नेपालको ओलम्पिक्समा ६ दशक यात्रा: पदकका लागि अझै पर्खाइ

2.54k
Shares

काठमाडौं ।

नेपालको खेलकुदले विश्वकै महाकुम्भ खेल मेला ओलम्पिक्समा सहभागिता जनाएको पनि ६ दशक भइसकेको छ। १९६८ को मेक्सिको ओलम्पिक्सबाहेक १९६४ को टोकियो ओलम्पिक्सदेखि लगातार सहभागिता जनाइरहेको छ।

हालै पेरिस ओलम्पिक्स २०२४ मा पनि नेपालका ७ खेलाडीले सहभागिता जनाए। यति लामो ओलम्पिक्स यात्रामा नेपालले अहिलेसम्म पदक भने पाउन सकेको छैन।

यद्यपि, १९८८ को सोल ओलम्पिक्समा विधान लामाले कांस्यपदक जित्नुचाहिँ नेपालको ६ दशक ओलम्पिक्स यात्राको सबैभन्दा ठूलो उपलब्धि मान्नुपर्छ। नेपालका लागि विधान लामाले तेक्वान्दो खेलमा कांस्य पदक जित्नुभएको थियो। तर, दुर्भाग्य त्यति बेला तेक्वान्दो खेललाई प्रदर्शनीको रूपमा समावेश गरिएको थियो। यसैले यो पदकले आधिकारिक मान्यता प्राप्त गर्न सकेन ।

पेरिस ओलम्पिक्ससम्म १० खेलमा ९८ जना नेपाली खेलाडीले सहभागिता जनाइसकेका छन्। हालै पेरिस ओलम्पिक्समा नेपाली खेलकुदको इतिहासमा ब्याडमिन्टन र टेबलटेनिस खेलले पहिलोपटक खेल्ने सौभाग्य प्राप्त भएको हो। ६ दशकको ओलम्पिक्सको इतिहासमा नेपाली ब्याडमिन्टन र टेबलटेनिसका खेलाडीले पहिलोपटक ओलम्पिक्सको स्वाद चाखेका हुन्। यहीमार्फत् प्रिन्स दाहाल ब्याडमिन्टनतर्फ र स्यान्टु श्रेष्ठ टेबलटेनिसतर्फ ओलम्पिक्समा खेल्ने पहिलो नेपाली खेलाडीसमेत भए।
नेपालले पदक जित्न नसकेको कारण कुनै योजना नभएको विज्ञहरू बताउँछन्।

नेपाल ओलम्पिक्स कमिटीका पदाधिकारीहरू भने पदक ल्याउन ठोस योजना हुनुपर्छ, हतारमा गएर पदक आउँदैन भन्ने तयारी जवाफ दिने गर्छन् । अर्को, ओलम्पिक्स खेल्ने खेलाडीलाई पनि पर्याप्त प्रशिक्षण दिन पनि सक्दैनन्। ओलम्पिक्स कमिटीले खेल संघहरू जिम्मेवारी हुनुपर्ने भन्छ भने खेल संघहरू सरकारले पर्याप्त सहयोग नगरेको बताउँछ।

नाम नराख्ने सर्तमा एक खेल संघका पदाधिकारीले भने– ‘नेपालमा क्रिकेटलाई बाहेक मोटो रकम अरू कुनै खेललाई दिएको देखिँदैन । क्रिकेटका लागि करोडौं निकासा हुन्छ, बजेट पनि क्रिकेटले नै आधा लिइसकेको हुन्छ । यस्तो अवस्थामा सरकारले अरू खेलहरूलाई सहयोग गरेको पाइँदैन । यस्तो अवस्थामा ओलम्पिक्स त परै जाओस् एसियन खेलकुदमा पनि पदक ल्याउन सकिँदैन ।’

अहिलेकै कुरा गर्ने हो भने पेरिस ओलम्पिक्समा खेल्ने ७ नेपाली खेलाडीमध्ये केहीले स्वदेशमै प्रशिक्षण लिनुभयो भने केहीले विदेशमा प्रशिक्षण लिनुभयो । टेबलटेनिसका स्यान्टु श्रेष्ठले अस्ट्रेलियामा प्रशिक्षण गर्नुभएको थियो।

यस्तै, ब्याडमिन्टनका प्रिन्स दाहालले श्रीलंकामा प्रशिक्षण लिनुभएको थियो । पौडीका एलेक्जेन्डर शाहले अमेरिकामा प्रशिक्षण लिनुभएको थियो । नेपालमा प्रशिक्षण लिनेमा जुडोकी मनिता श्रेष्ठ प्रधान, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र सुटिङकी सुस्मिता नेपाल हुन् ।

पेरिस ओलम्पिक्समा प्रदर्शन
–टेबलटेनिसको पुरुष सिंगल्समा स्यान्टु श्रेष्ठ प्रिलिमिनरी राउन्डबाटै बाहिरिए ।
–सुस्मिता नेपाली सुटिङको महिला १० मिटर एयर राइफलमा सहभागी ४४ मध्ये ४२औं स्थानमा ।
–डुवाना लामा पौडीको महिला २ सय मिटर फ्रिस्टाइलको हित चरणमा सहभागी ३१ मध्ये ३०औं स्थानमा ।
–एलेक्जेन्डर शाहले पौडीको पुरुष १ सय मिटर फ्रिस्टाइलमा आफ्नै कीर्तिमान तोड्दै ५१.९१ सेकेन्डको कीर्तिमान राखेको ।
–प्रिन्स दाहाल ब्याडमिन्टनको पुरुष सिंगल्सअन्तर्गत समूहको तीनै खेलमा पराजित ।
–मनिता श्रेष्ठ प्रधान जुडोको महिला ५७ केजीमुनि विपक्षीसँग १०–० (इप्पोन) ले पराजित ।
–सन्तोषी श्रेष्ठ महिला म्याराथन पूरा गरेका ८० खेलाडीमध्ये ७९औं स्थानमा । ११ प्रतिस्पर्धीले दौड पूरा गर्न सकेनन् ।