तैंचुप मैंचुपका बाबजुद जनार्दनकै पक्षमा वर्षमान

8.65k
Shares

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा नेतृत्व फेर्ने प्रस्ताव दर्ज भएपछि पार्टीभित्र तरंग उत्पन्न भएको छ। साउन २५ बाट जारी स्थायी कमिटी बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) ले पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार शीर्षक दिएर नेतृत्वको विकल्पसहितका १४ बुँदे प्रस्ताव पेस गरेसँगै पार्टीभित्र हंगामा भएको हो।

तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सामु अधिकांश नेताहरू तैंचुप मैंचुप भएका छन् । नेता जनार्दन र अर्का उपमहासचिव वर्षमान पुनबाट आएको फरक मतसहितका प्रस्तावलाई नेताहरूले सार्वजनिक गर्न नखोजे पनि ती विषय राजननीतिक बजारमा छताछुल्ल भएका छन्।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष ‘प्रचण्ड’लाई पार्टीको नेतृत्व छाड्न सुझाव दिनुभएको थियो। यसमा वर्षमान पुनको समेत साथ छ। पार्टीभित्र देखिएको दुई लाइन संघर्षले सत्ताबाट बाहिरिएको एक महिना नपुग्दै माओवादी पार्टीभित्र ठूलो विग्रहको संकेत देखिएको एकाथरी नेताहरूको बुझाइ छ। सोही सन्दर्भमा नेता प्रभाकरले प्रचण्ड निवास खुमलटारबाटै आफूविरुद्ध पार्टी छाड्दै छ, पार्टी फुटाउँदै छ जस्ता हल्ला चलाइएको आरोप लगाउनुभएको छ।

बैठकमा शर्माले लिखित मत राख्दै खुमलटारबाट फलानो एमालेमा जाँदै छ भनेर शुरू गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइएको दाबी गर्नुभएको थियो। प्रचण्ड प्रधानमन्त्री भएपछि बालुवाटारबाटै यस्ता हल्ला चलाइएको भन्दै शर्माले भन्नुभएको छ– ‘उक्त प्रचारबाजीलाई मद्दत पुग्ने गरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ। कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरूलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो। देशभर यसको असर देखा पर्न थाल्यो। फुटाउने कसले हो भन्दा बालुवाटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ।’

प्रचण्ड सरकारमा रहँदा बालुवाटारबाटै कहिले जनार्दन तथा कहिले वर्षमान पुनविरुद्ध दुष्प्रचार गरिएको समेत उहाँले आरोप लगाउनुभयो । नेतृत्व तहबाटै समानान्तर कमिटीहरू सञ्चालन गरिएको प्रश्न गरेकै कारण कार्यक्षेत्रबाट बेदखल गरिएको समेत उहाँले असन्तुष्टि जनाउनुभएको छ । तर, प्रचण्ड निकटका नेताहरूले यसको प्रतिवाद नै गर्न थालेका छन्।

पार्टीभित्रको यो अवस्थाले नेकपा माओवादीमा फुटको संकेत गरेको कतिपय नेताहरूले चिन्ता व्यक्त गरेका छन्। नेतृत्वमा विकल्पको खोजी हुनुपर्ने लिखित प्रस्ताव पेस गर्नुभएका नेता शर्माले प्रचण्डलाई राजकीय सत्ताको नेतृत्व गर्ने मौका दिइरहने भन्दै पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्न सुझाव दिएको उहाँको सचिवालयले जनाएको छ।

पार्टीको बैठकमा भए गरेका विषयमा प्रवक्तामार्फत् मात्रै सार्वजनिक गरिने नियम बनाएकाले बैठकमा उठेका विषयवस्तु र नेताहरूको प्रस्तुतिका सन्दर्भमा कुनै नेताहरूले सार्वजनिक प्रतिक्रिया दिन नमिल्ने शर्माको सचिवालयले जनाएको छ। २०४३ सालदेखि निरन्तर माओवादीका नेतृत्व गरिरहेका प्रचण्डलाई औपचारिक रूपमै नेतृत्व छाड्न पार्टीमा नेताको तर्फबाट सम्भवतः शर्माले पहिलो लिखित प्रस्ताव पेस गर्ने हिम्मत गर्नुभएको छ।

शर्मासँगै पार्टीका अर्का उपमहासचिव वर्षमान पुनले तत्काल अध्यक्ष प्रचण्डको विकल्प खोज्ने अवस्था नभए पनि अबको नेतृत्व अविच्छिन्न हुन नहुने बताउनुभएको थियो। ‘अबको नेतृत्व अविच्छिन्न हुनुहुँदैन । एक कार्यकाल वा दुई कार्यकालको व्यवस्था विधानमा राखौँ। अध्यक्षज्यूले जनयुद्धपूर्वदेखि शान्ति प्रक्रियासम्म अविच्छिन्न रूपमा ३५ वर्ष नेतृत्व लिने अवसर पाउनुभयो। अब त्यस्तो हुनुहुँदैन’ –उहाँले भन्नुभयो।

यसलाई पार्टी नेतृत्व विरुद्धको सज्ञा दिँदै नेताहरूबाट अहिले गुपचुप राखेर आन्तरिक असहमतिहरूलाई सहमतिमा ल्याउने प्रयत्न भइरहेको बताइएको छ। आइतबार बैठकमा दर्ज भएको प्रभाकरको प्रस्तावले पार्टीभित्र मात्रै नभएर राजनीतिक रूपमै ल्याएको तरंगलाई साम्य पार्ने प्रयासस्वरूप सोमबार अधिकांश नेताहरूले तत्काल पार्टीको नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प नभएको दाबी गरेका छन्। स्थायी कमिटीको बैठकमा उपमहासचिव जनार्दन शर्माले नेतृत्व छाड्न सुझाव दिएकोबारे प्रवक्ता अग्निप्रसाद सापकोटाले सांगठनिक विधिबाट नै निष्कर्षमा पुग्ने बताउनुभयो।

‘नेतृत्वबारे सांगठनिक विधिबाट जानुपर्छ भन्नेमा जोड दिनुभएको छ। सामूहिक नेतृत्वमा केन्द्रिकृत अभिव्यक्ति र त्यसको नेतृत्व कमरेड प्रचण्डबाट मात्रै हुन्छ। तथ्यबाट सत्य खोजेर उद्देश्यमा केन्द्रित भएर भविष्यमा केन्द्रित हुनुपर्छ’ –सापकोटाले भन्नुभयो। ‘आलोचना पनि सकारात्मक र रचनात्मक कोणबाट भएको छ’, सापकोटाले यसअघि थप्नुभयो– ‘विचार राख्ने साथीहरूले पार्टी कमिटीलाई सानो बनाउनुपर्छ, समाजवादीको अगुवाइ गर्नुपर्छ, हामीबाट नै समाजवादी प्रतिस्पर्धाको वातावरण बनाउनुपर्छ, परिवर्तनको पक्षधर माओेवादी भएकाले एकताबद्ध भएर जानुपर्छ, भन्ने कुरालाई नै जोड दिनुभएको छ। अहिले पार्टीको नेतृत्वमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प छैन।’ यी विषयलाई केन्द्रीय समितिको बैठकमा व्यापक छलफल गरेर निष्कर्षमा पुग्ने उहाँले बताउनुभयो।