एक वर्षमा ६ अर्ब ५१ करोडको राजस्व छली

७ अर्ब ४२ करोडको मुद्दा

846
Shares

काठमाडौं ।

मुलुकमा राजस्व छली गर्ने प्रवृत्ति भयानक रहेको विभिन्न अध्ययनले देखाएको छ। अर्थ मन्त्रालय तथा राजस्व क्षेत्रमा रहेका अधिकारीहरूले नै विभिन्न व्यापारीहरूले वार्षिक खर्बौं रुपियाँ राजस्व छली गर्ने गरेको तथ्य औंल्याएका छन्।

यद्यपि, त्यसरी राजस्व छली गर्नेहरूमध्ये कममात्रै कानुनी दायरामा आउने गरेका छन् । राजस्व अनुसन्धान विभागका अनुसार गत एक वर्षको अवधिमा मात्रै ६ अर्ब ५१ करोड १० लाखको राजस्व छली भएको छ। विभागले आर्थिक वर्ष २०८०/८१ मा त्यसरी राजस्व छली गर्ने २ सय ३२ जनालाई कानुनी दायरामा ल्याउन सफल भएको छ। राजस्व अनुसन्धान विभागले राजस्व चुहावट तथा विदेशी विनिमयतर्फ गरी १०९ वटा मुद्दा दायर गर्दा राजस्व छली गर्नेहरूबाट ७ अर्ब ४३ करोड ६५ लाख बिगो मागदाबी गरेको हो।

केही समय अघिमात्रै आन्तरिक राजस्व विभागले अघिल्लो वर्ष कर छलीमा संलग्न रहेका १ हजार ९ सय ८६ व्यापारिक फर्म तथा करदाताले प्रयोग गरेको झुट्टा तथा नक्कली बीजकहरूमाथि गरेको अनुसन्धान सकाउँदै ती फर्महरूबाट ११ अर्ब ३ करोड १७ लाख कर असुली गर्ने निर्णय गरेको थियो ।

विभागले हाल राजस्व छलीको आशंकामा २ हजार ३ सय व्यापारिक फर्ममाथि समेत छानबिन गरिरहेको जनाइएको छ । यस तथ्यले नै मुलुकमा राजस्व छलीको भयानक रूप रहेको पुष्टि हुन्छ । अर्थ मन्त्रालयका एक अधिकारीले राजस्व छली सर्वत्र रहेको र वार्षिक ६ खर्बसम्म राजस्व छली हुने गरेको सूचना आफूहरूकहाँ आउने गरेको बताए। ‘सबै व्यापारिक क्षेत्रमा इमानदारिता भन्ने पूर्ण रूपमा हराउन थालेको छ, हरेक सामानमा कुनै न कुनै किसिमले राजस्व छली गर्ने प्रवृत्ति बढ्दो छ, यस हिसाबले वार्षिक ६ खर्बजति राजस्व चुहावट हुने सूचना हामीकहाँ आएको छ’ –ती अधिकारीले नेपाल समाचारपत्रसँग भने ।

राजस्व अनुसन्धान विभागले मुलुकमा राजस्व छलीको शृंखला अत्यधिक रहेकाले राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही थालिने जनाउँदै आएको छ। विभागले गत वर्ष राजस्व छलीविरुद्धमा ८० वटा मुद्दा दायर गर्ने लक्ष्य राखेकोमा १ सय ९ वटा मुद्दा दायर गर्न सफल भएको विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो।

राजस्व अनुसन्धान विभागले मुलुकमा अस्वाभाविक रूपमा हुने गरेको राजस्व चुहावट रोक्न देशभरमा गरी राजस्व चुहावटका १ हजार ४ सय फाइलहरूमाथि अनुसन्धान जारी राख्दै आएको जनाएको छ। विभागले केन्द्रमा १० वटा टोली र बुटवल, पथलैया, इटहरी र कोहलपुर कार्यालयमा ४ वटा टोली गरी ती फाइलहरूको विस्तृत अनुसन्धान गर्न १४ वटा टोली परिचालन गर्दै आइरहेको हो। विभागमा हालसम्म विभिन्न प्रकृतिका गरी ३ हजार २ सय उजुरीहरू रहेका छन्। ती उजुरीहरूमाथि छानबिन गरी १ हजार ४ सय उजुरीहरूमाथि विस्तृत अनुसन्धान जारी राखिएको विभागले जनाएको छ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले विभाग र यसअन्तर्गत रहेका चारवटा कार्यालयका गरी १४ वटा टोलीलाई राजस्व छलीको अनुसन्धानका लागि परिचालन गरिएको जानकारी दिनुभयो। महानिर्देशक बुढाले राजस्व छलीको शृंखला बढ्दै गएकाले त्यसलाई रोक्न सरकारका सरोकारवाला सबै निकाय समन्वयात्मक किसिमले परिचालन हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।

विभागका अधिकारीहरूका अनुसार राजस्व चुहावट गम्भीर समस्याका रूपमा देखिँदै आएको छ। विभागमा परेका विभिन्न उजुरीहरू र प्राप्त सूचना तथा तथ्यांकका आधारमा सबैभन्दा बढी राजस्व छलीमा ठूला व्यापारीहरू नै संलग्न देखिएका छन् । उद्योगी व्यापारीहरूले नै विभिन्न बहानामा राजस्व छली गर्ने गरेको विभागका अनुसन्धान अधिकारीहरूको भनाइ छ । विभागका अनुसार ठूला व्यापारीका अलवा पर्यटन क्षेत्रअन्तर्गत होटल व्यवसायी र क्यासिनोबाट पनि अत्यधिक राजस्व छली हुने गरेको छ। बढी राजस्व छलीमा संलग्न हुनेहरूमा कवाडी व्यवसायी, विभिन्न कन्सल्टेन्सी र सेवामूलक निकायहरूसमेत रहेको विभागले जनाएको छ।

विभागले राजस्व चुहावट नियन्त्रण गर्न प्रवद्र्धनात्मक निरोधात्मक र दण्डात्मक गरी ३ वटा रणनीति अख्तियार गरिरहेको महानिर्देशक बुढाले जानकारी दिनुभयो । विभागले अनुसन्धानका क्रममा ५० लाखभन्दा कम राजस्व चुहावट गरेको पाइएमा जरिवाना गर्ने गरेको छ भने त्योभन्दा बढी चुहावट गरेको पाइएमा चुहावट गर्नेविरुद्ध मुद्दा दायर गरी थप कानुनी दायरामा ल्याउने गरेको छ ।

यस्ता छन् बढी राजस्व छली गर्नेहरू
ठूला उद्योगी व्यापारी
कवाडी व्यवसायी
होटल र क्यासिनो
विभिन्न कन्सल्टेन्सी
मेनपावर कम्पनी
विभिन्न सेवामूलक निकाय